वीरगन्ज भन्सारको राजश्व संकलनमा आएन सुधार

वीरगन्ज भन्सारको राजश्व संकलनमा आएन सुधार
सुन्नुहोस्

वीरगन्ज : चालु आर्थिक वर्षमा पनि वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा सुधार आउन सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा वीरगन्ज भन्सार कार्यालय लगातार राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ। 

गत भदौ र साउन दुवै महिनामा वीरगन्ज भन्सार कार्यालयले राजश्व संकलनको लक्ष्य पूरा गर्न नसकेको हो। गत भदौ महिनामा भन्सार विभागले वीरगन्ज भन्सारलाई १८ अर्ब ७० करोड ४० लाख १६ हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले उक्त लक्ष्यको ७१ प्रतिशतमात्र संकलन गर्न सकेको छ। 

भदौमा वीरगन्ज भन्सारले लक्ष्य भन्दा ५ अर्ब ४६ करोड ४१ लाख कम अर्थात  १३ अर्ब २३ करोड ९८ लाख ८५ हजार पाँच सय रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए। 

यस्तै गत साउन महिनामा पनि लक्ष्यको ७२ प्रतिशतमात्र राजश्व संकलन भएको उनले बताए। उनका अनुसार गत साउन महिनामा भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको थियो। तर साउन महिनामा पनि वीरगन्ज भन्सारले लक्ष्य भन्दा ४ अर्ब ७० करोड ५४ लाख ८२ हजार रुपैयाँ कम अर्थात १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको थियो। 

गत साउन र भदौ दुवै महिनामा गरी वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा १० अर्ब १६ करोड ९६ लाख रुपैयाँ कम राजश्व संकलन गरेको छ। दुवै महिनामा गरी भन्सार विभागले वीरगन्ज भन्सारलाई ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ७१ प्रतिशतमात्र अर्थात २५ अर्ब ४० करोड ३१ लाख ४३ हजारमात्र राजश्व संकलन गरेको हो।

वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन र भदौ) मा पनि लक्ष्यको ७० प्रतिशत मात्र अर्थात २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजश्व संकलन गरेको थियो। यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा पनि वीरगन्ज भन्सारले लक्ष्यको ६४.०१ प्रतिशत मात्रै संकलन गर्न सकेको थियो । वीरगन्ज भन्सारले गत आर्थिक वर्षमा साउनदेखि असारसम्मको १२ महिनामध्ये कुनै पनि महिनामा राजश्व संकलनको लक्ष्य पूरा गर्न सकेको थिएन। 

वीरगन्ज भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि राजश्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको थियो। अघिल्लो गत आर्थिक वर्षमा २०७९/८० मा वीरगन्ज भन्सारले लक्ष्यको ६०.२० प्रतिशत मात्र राजश्व संकलन गरेको थियो। 

तर त्यसअघिको आर्थिक वर्ष २०७८/७९ मा भने वीरगन्ज भन्सारले लक्ष्य भन्दा बढी नै अर्थात लक्ष्य भन्दा शून्य दशमलव ५४ प्रतिशतले बढी राजश्व संकलन गरेको थियो। तर त्यसअघिका लगातार पाँच वर्ष (आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/७८ सम्म) मा भने वीरगन्ज भन्सार राजश्व असुलीको लक्ष्य पुरा गर्न असफल नै भएको थियो। 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बढी राजश्व दिने मुख्यत नयाँ सवारीसाधन र पेट्रोलियम पदार्थको आयात नै कम भइरहेका कारण कारण वीरगन्ज भन्सारको राजश्व संकलनमा नकरात्मक प्रभाव परिरहेको बताए। उनले भने,‘ वीरगन्ज भन्सारको कूल राजश्व संकलनमा सवारीसाधन र सवारीसाधनको योगदान ६० देखि ६५ प्रतिशतको हाराहारीमा पुग्छ। तर ती दुवैको आयात नै बढ्न सकेको छैन। त्यसैले राजश्व संकलनमा असर परेको हो। 

यसका अतिरिक्त चीन लगायतका तेश्रो मुलुकबाट आउने मालवस्तुको वीरगन्ज नाकाबाट हुने आयातपनि घटेका कारणले पनि वीरगन्ज भन्सारको राजश्व संकलन कम हु्न पुगेको उनले बताए। लामिछानेले भने,‘पछिल्लो समय  चीनसँग जोडिएका उत्तरका दुई नाकाहरू खुलेका छन्। चीनबाट आउने मालसामान प्रायः उतैबाट बढी आउन थालेको छ। यसले पनि वीरगन्ज भन्सारको राजश्व संकलनमा असर परेको देखिन्छ।’ 

साथै कोरोना महामारी यता थलिएको नेपाली बजार अहिलेसम्म पनि पूर्ण रुपमा चलायमान हुन नसकेका कारण समग्र व्यापारको अवस्थामा सुधार नआउँदा मालवस्तुको आयात नै कम भइरहेका कारणले पनि भन्सार राजश्व संकलनमा सुधार आउन नसकेको उनले बताए। तर यो असोज महिना सुरु भएसँगै राजश्व संकलनमा सुधारका संकेतहरू देखा पर्न थालेको पनि लामिछानेले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.