गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो, कारबाही गर्न अभिभावकको माग

गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो, कारबाही गर्न अभिभावकको माग
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको गौतम स्कुलमा अध्ययनरत एक बालकलाई शिक्षकले पिट्दा उनको कानको जाली फुटेको घटना सतहमा आएको छ। 

गौतम स्कूलको कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालक आर्जन राउत कुर्मीलाई गत बुधबार कक्षाकोठामै शिक्षिका निधी गुप्ताले कपीको पाना च्यातिएको निहुँमा पिट्दा आर्जनको देब्रे कानको जाली फुटेको हो। शिक्षिका गुप्ताले गालामा जोडले तीन थप्पड हिर्काउँदा देब्रे कानको जाली फुटेर रगत बगेको आर्जनका बुबा रामबाबु राउत कुर्मीले बताए। 

वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणको नयाँ टोलका बासिन्दा रामबाबुका अनुसार बुधबार शिक्षकको कुटाइबाट घाइते भएका आर्जनले घरमा आएर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि उनलाई त्यही दिन आर्जनलाई आफूले नेशनल मेडिकल कलेजमा लगेर उपचार गराउने क्रममा चिकित्सकले कानको जाली फुटेको बताएको बुबा रामबाबुले जानकारी दिए। त्यसपछि शुक्रबार फेरि थप उपचारका लागि वीरगन्जकै डाक्टर बिके झाको क्लिनिकमा लग्दा डाक्टर झाले पनि आर्जनको कानको जाली फुटेको बताएको रामबाबुले बताए। 

उनले भने, ‘घटना भएको दिन बुधबार मेडिकल कलेजमा लगेर उपचार गराए। त्यहाँको डाक्टरले कानको जाली फुटेको भनेर भने। स्कुललाई त्यसमा विश्वास नभएपछि शुक्रबार फेरि डाक्टर बिके झाको क्लिनिकमा स्कुलकै शिक्षक र कर्मचारीहरूले लगेर देखाए। डाक्टर झाले  पनि परीक्षण गर्दा कानको जाली फुटेको भने।’ मेडिकल कलेजमा लागेको उपचार खर्च १ हजार ४ सय ३४ रुपैयाँ स्कुल व्यवस्थापनले नै तिरेको उनले बताए। 

तर डाक्टरले जाली फुटेको कान निको हुन कम्तीमा  पनि तीन चार महिना लाग्ने भनेकाले अब यसपछि लाग्ने उपचार खर्च स्कुलले व्यहोर्न आलटाल गरेको बुबा रामबाबु कुर्मीले बताए। 

छोरा आर्जनलाई पिट्ने शिक्षिकालाई कारबाही हुनु पर्ने र त्यसका लागि पहल गरिदिन आग्रह गर्दै बुबा रामबाबुले अभिभावक संघ पर्सामा निवेदन हालेको  पनि उनले जानकारी दिए। अब आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा  पनि उजुरी दिने उनले  बताए। 

स्कुल  व्यवस्थापनले यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएको पनि उनले बताए। उनले भने, ‘घटना भएकै दिन स्कुलबाट मलाई कुनै जानकारी दिइएन। त्यसदिन छोराको कानबाट रगत बगेपछि स्कुलमै त्यहाँका कर्मचारीले कानमा ड्रप हालेर घटना सामसुम पार्न खोजिएको रहेछ। तर घर आएपछि छोराले सबै कुरा बताएपछि मात्रै मैले थाहा पाए। त्यसपछि म आफैंले स्कुलमा शिक्षिका गुप्तालाई फोन गरेर जानकारी लिए।’
 
उनले थपे, ‘मेरो माग भनेको पहिलो छोरालाई यसरी कुट्ने शिक्षिकालाई कानुन अनुसार कारबाही होस्। दोस्रो छोराको कान पूर्ण रुपमा निको नभएसम्म त्यसमा लाग्ने सबै उपचार खर्च स्कुलले व्यहोर्ने गरी अभिभावक संघको रोहबरमा लिखित कागज गरिदिओस्।’

यता अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साहले स्कुललाई शिक्षा ऐन र नेपालको कानुन अनुसार कारबाहीको लागि संघले पनि आइतबार वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिने बताए। 

स्कुलका सञ्चालक सोनाम लामाले भने अभिभावकको सर्त मान्न स्कुल व्यवस्थापन तयार रहेको बताए। उनले भने,‘उपचारमा लाग्ने उपचारको व्यवस्थापन र त्यसमा लाग्ने खर्च स्कुलले व्यहोर्न तयार छ। यदि अभिभावकले लिखित रुपमै कागज गर्नुपर्छ भन्नुहुन्छ भने हामी त्यो पनि गर्न तयार छौं। तर यो अभिभावक र स्कूल बीचको आपसी कुरा भएकाले यसमा अभिभावक संघ वा अरू कुनै समूहको हस्तक्षेप हामीलाई स्वीकार्य हुँदैन।’

उनले अभिभावकले चाहेमा घाइते बालक आर्जनलाई थप उपचारको आवश्यकता परेमा काठमाडौं लगेर पनि उपचार गराउन आफू तयार रहेको बताए। लामाले घटनामा संलग्न शिक्षिकाले नैतिक जिम्मेवारी लिएर आफै राजीनामा दिएर गइसकेको पनि बताए। साथै घटना भएको दिन स्कुलमै प्राथमिक उपचार दिने स्कुलमा कार्यरत महिला स्वास्थ्यकर्मीले पनि राजीनामा दिएको लामाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.