सीमा क्षेत्रमा युवतीको शव, भित्री वस्त्रमा भेटियो लागुऔषध
![सीमा क्षेत्रमा युवतीको शव, भित्री वस्त्रमा भेटियो लागुऔषध](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_EG3BcvQm3S_6vy0R2sANn.jpg)
विराटनगर : विराटनगर महानगरपालिका–१६ हुलास चोकस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक सोमबार दिउँसो युवतीको शव फेला परेको छ।
मृत फेला परेकी युवतीको साथमा लागुऔषध भेटिएको छ। मृतकले लगाएको भित्री वस्त्रभित्र मलद्वारको भागबाट लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। मृतकको पहिचान खुलेको छैन। सबैतिर हुलिया परिपत्र गर्दै घटनाको अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए।
हुलास चोकको बाटोनजिक नालीमा अन्दाजी २८/३० वर्षीया युवती मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए। तत्काल नाम, थर र वतन नखुलेकी युवती दिउँसो ३:४० बजेतिर मृत फेला परेकी हुन्। डीएसपी बस्नेतका अनुसार मृतकको घाटीको पछाडिको भागमा फूलजस्तो ट्याटु र टाउको, हातलगायत शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिन्छ।
गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी महिलाको कपाल पूरै मुण्डन गरिएको छ। अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनास्थल मुचुल्का उठाएको थियो। त्यस क्रममा मृतक युवतीले लगाएको भित्री वस्त्रबाट २२ एम्पुल लागुऔषध बरामद भएको डीएसपी बस्नेतले बताए।
‘भित्री वस्त्रभित्र मलद्वारको भागमा लागुऔषध एभिल, डाइजापाम र नोरजेसिक फेला परेको छ,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ।’ प्रहरीका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनै पनि कागजात छैन। मृतकको पहिचानको प्रयास गर्दै विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी बस्नेतले दिए।
प्रहरी स्रोतका अनुसार भारतको जोगवनीबाट लागुऔषध सेवन गरेर फर्किएकी युवतीले साथमा पनि लिएर आएको हुनसक्छ। ‘जोगवनीमा सेवन गरेपछि साथमा पनि लागुऔषध लिएर आएजस्तो देखिन्छ। लागुऔषधको ‘ओभरडोज’ले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ,’ स्रोतले भन्यो।
डीएसपी बस्नेत युवतीको मृत्युको कारण तत्काल खुल्न नसकेको बताए। अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी उनले दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)