सिन्धुलीका १४ पुलमा क्षति, चार जिल्लासँग सम्पर्क विच्छेद
![सिन्धुलीका १४ पुलमा क्षति, चार जिल्लासँग सम्पर्क विच्छेद](https://annapurnapost.prixacdn.net/media/albums/Sindhuli_Bridge1_lomh6GSovS_H6LPMlkXRe.jpg)
सिन्धुली : उत्तरी रामेछाप र दोलखा जिल्लाकै लाइफलाइनका रूपमा रहेको खुर्कोट पुल सुनकोसी नदीमा आएको बाढीले बगाउँदा करोडौंको क्षति भएको छ। सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोट पुलको रामेछापतर्फको आधा भाग पूरै बगाएको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ भलुवाजोर सेलेघाट जोड्ने उक्त पक्की पुल बाढीका कारण सुनकोसी नदीले शनिबार बगाएको हो। उक्त पुल बगाएपछि पूर्वी नेपाल र तराई मधेसका साथै छिमेकी राष्ट्र भारतबाट आउने यात्रुका साथै सरसामान ओसारपसारमा समस्या भएको छ।
विसं २०७१-०७२ मा १७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुल दश वर्ष नबित्दै बाढीले तहसनहस बनाएको हो। खुर्कोट मन्थली जोड्ने यस पक्की पुल रामेछाप र दोलखा जिल्लाको विकासका लागि मेरुदण्डका रूपमा लिइएको थियो।
रामेछापेली नागरिकको उत्साह बोकेको खुर्कोट पुल बगेसँगै रामेछाप र दोलखाको विकासको सम्भावनासमेत बगेको छ। रामेछापको संघीय राजधानी काठमाडौंसँगको यातायात ठप्पजस्तै भएको छ। यस पुल निर्माण हुँदा रामेछापको सदरमुकाम मन्थलीबजारबाट काठमाडौं जान ७५ किलोमिटर दूरी छोट्टिएको थियो।
बनेपा-सिन्धुली-बर्दिबास (बीपी) रामार्ग र खुर्कोट-घुर्मी मध्यपहाडी लोकमार्गसँग जोडिएको खुर्कोट पुलसँगै सिन्धुलीमा मात्र बाढी र पहिरोले १४ वटा पुलमा क्षति पुगेको छ। लागातारको वर्षाका कारण रोशी खोला र सुनकोसी नदीमा आएको बाढीका कारण सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो।
पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्ला जा्डने छोटो दूरीका सबै नाकाहरू बन्दजस्तै भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खुर्कोट-मन्थली पक्की पुल, खुर्कोट झोलुंगेपुल, ग्वाल्टारको कुडुले-रामेछाप जोड्ने झोलुंगे पुल, रातमाटा बेलघारी रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल माझीगाउँ-सोखुबेसी-ओखलढुंगा जोड्ने पुल, फिक्कल खाङसाङ्ग-ओखलढुंगा जोड्ने पुल, दुम्जा लुभुघाट-सुनापति रामेछाप जोड्ने बेलिब्रिज, घ्याम्पेखोला-देविस्थान कल्भर्ट, गोलन्जोर कुखुरेटार-रामेछाप जोड्ने झोलुंगे पुल सुनकोसी नदीको बाढीले क्षति पुर्याएको छ।
त्यस्तै गोलन्जोर ग्वाल्टार-रामेछाप जाने झोलुंगेपुल, गोलन्जोर बलेनी-रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल पञ्चकन्या-ओखलढुंगा जोड्ने झोलुंगे पुल, फिक्कल तिनखण्डे-ओखलढुंगा जोड्ने झोलुंगे पुल र रातामाटा-सित्खा रामेछाप जोड्ने पुल बाढीले बगाएको छ।
यी पुलहरूमा प्रायः पूर्णरूपमा क्षति भएका छन्। कतिपयको त जगसमेत छैन। केहीको तत्काल सूचारु गर्न नसकिनेगरी क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
बीपी राजमार्ग हुँदै सिन्धुलीको नेपालथोकबाट रामेछापको राकाथुम, सुनापति प्रवेश गर्ने खैरेनीघाट पुल सुनकोसी नदीमा आएको बाढीले बगाउँदा पूर्णरूपमा इती भएको छ। पुलसंगै बाढीले बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, खुर्कोट-मन्थली सडकमा क्षति पुर्याएको छ।
रामेछाप, ओखलढुंगा र दोलखाका जिल्लामा दैनिक उपभोग्य बस्तुका साथै निर्माण सामाग्रीहरूसमेत बीपी र मध्य पहाडी राजमार्ग हुँदै तराईबाट ढुवानी गर्ने गरिएको थियो। तर, सनुकोशी नदीमा भएको पक्की र झोलुंगे पुलहरू बाढीले बगाएपछि समस्या भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)