दसैंका लागि वीरगन्जमा खुल्यो सस्तो बजार
![दसैंका लागि वीरगन्जमा खुल्यो सस्तो बजार](https://annapurnapost.prixacdn.net/media/albums/dashain_rYWH8axPXy_LAWcsmKXqZ.jpg)
वीरगन्ज : दसैं पर्वलाई लक्षित गरेर वीरगन्जमा सस्तो बजार सञ्चालनमा ल्याइएको छ।
उद्योग विभाग पर्सा, घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज र वीरगन्ज उद्योग वाणिज्य संघको सयुँक्त आयोजनामा आदर्शनगरस्थित टिवडेवाल धर्मशालामा बिहीबारदेखि सस्तो बजार सञ्चालनमा ल्याइएको हो।
बिहीबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले सस्तो बजारको उद्घाटन गरे। असोज २४ गते फूलपातिका दिनसम्म लाग्ने सस्तो बजारमा खाद्यान्न, लुगाकपडा, किराना, हस्तकलाबाट निर्मित सामग्रीलगायतका सामानका विभिन्न २२ वटा स्टलहरू राखिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए। हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म बजार खुल्ने संघका अध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिए। अध्यक्ष अग्रवालले फूलपातीका दिनसम्म ग्राहकबाट सकारात्मक प्रतिक्रिया आएको खण्डमा सस्तो बजारलाई तिहार र छठसम्म पनि निरन्तरता दिन सकिने बताए।
कार्यक्रममा उद्योग विभाग मधेस प्रदेशकी निमित्त महानिर्देशक रिमा साह, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष मनोज दास, महासचिव आशिष लाठलगायतको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)