सत्ता टकराबले निम्त्याएको परिणाम
नेपाली राजनीतिमा कहिलेकाहीँ प्रहसन देख्न पाइन्छ। तर यो कुनै गाईजात्राको मञ्चहरूमा होइन। त्यो हो, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीचको राजनीतिक टकरावको।
दुई जननिर्वाचित प्रतिनिधिबीचको यो ‘साइबर युद्ध’ले जनतामा भने नयाँ राजनीतिक जिज्ञासा पैदा गर्ने गर्छ। त्यतिमात्र होइन, एउटा यस्तो लडाइँ जहाँ राजनीतिक र प्रशासनिक जिम्मेवारीभन्दा बढी व्यक्तिगत प्रतिष्ठा र लोकप्रियताको मापन चल्छ। जसको परिणाम आमनागरिकले पाएका छन्, तनाव र विभाजन।
असन्तुष्टि र लोकप्रियताको द्वन्द्व : ओली–बालेन टकरावको मुख्य कारण भनेकै जनताको असन्तुष्टि र लोकप्रियताको असमान बाँडफाँड हो। ओलीले केन्द्र सरकारको नेतृत्व गरिरहेछन् जसमा उनीसँग देशव्यापी शक्ति र प्रभाव छ। उता, बालेन स्थानीय सरकारको नेता भए पनि उनको लोकप्रियता र काम गर्ने शैलीले राष्ट्रिय चर्चामा छन्। यसबीच भएका विभिन्न गतिविधिको नतिजा स्वरूप ओली–बालेनबीच मनमुटाव भयो।
‘टि–सर्ट’को राजनीति र सार्वजनिक भिडन्त : यो सत्ताको संघर्षले कतिसम्मको उचाइ लियो भने संविधान दिवसको अवसरमा आयोजित ‘नेसनल डे कन्सर्ट’जस्ता कार्यक्रममा पनि ओली र बालेनका समर्थकबीच झडप भइदियो। बालेन समर्थकले ओलीको विरोध गर्दै नाराबाजी गर्न थाले भने ओली समर्थकले बालेनको आलोचना गरे। यी सबै घटना केलाउँदा असली समस्याको जरो भने ‘टि–सर्ट’ थियो।
यस्ता क्रियाकलापले समाजमा राजनीतिक असन्तोष झनै बढाउँदै लगिरहेछ। नेताहरूले व्यक्तिगत वा राजनीतिक लोकप्रियताका लागि लडाइँ गर्दा नागरिकले यसको मूल्य चुकाउनुपर्छ। जसले नेपाली राजनीतिक प्रणालीको अस्थिरता र गैरजिम्मेवारीपनलाई उजागर गर्छ।
भूमिका र जिम्मेवारी : प्रधानमन्त्री ओली र मेयर बालेन दुवै जननिर्वाचित नेता हुन्। उनीहरूको जिम्मेवारी र अधिकार पनि फरक–फरक छन्। ओलीका निर्णयहरूले सिंगो देशलाई प्रभावित गर्छन् भने बालेनको मुख्य जिम्मेवारी काठमाडौं महानगरपालिकाको व्यवस्थापन र विकासमा केन्द्रित छ।
तर, यो स्पष्ट छ कि दुवै नेताको काम गर्ने शैली र सोचाइमा निकै भिन्नता छ। बालेनको लोकप्रियता महानगरभित्रका अवैध संरचना हटाउने, सार्वजनिक जग्गाजमिन सुरक्षित गर्ने, फोहोर व्यवस्थापन गर्ने र सुकुम्बासी बस्तीका मुद्दाहरूलाई सम्बोधन गर्ने काममा देखिन्छ।
कार्यान्वयनमा देखाएको साहस र प्रतिबद्धता धेरैको आँखामा ‘क्रान्तिकारी नेता’का रूपमा बालेनलाई चित्रण गरेका छन्। यद्यपि ओलीसँग दशकौंको राजनीतिक अनुभव र नेतृत्व क्षमता छ।
नागरिकमा परिरहेको प्रभाव : दुई नेताबीचको यो भिडन्तको प्रत्यक्ष असर नागरिकमाथि परेको छ। बालेनका समर्थकले ओलीप्रति असन्तोष व्यक्त गर्दै सडकमा नाराबाजी गर्न थाले भने ओलीका समर्थकले बालेनको आलोचना गर्दै प्रतिकार गर्न थाले। यसले अनावश्यक रूपमा राजनीतिक विभाजनमा धकेल्ने काम भइरहेछ। सत्ताको यो लडाइँको मुख्य मुद्दा भनेकै सहअस्तित्व र समन्वयको अभाव हो। देशमा दुई अलग सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा अस्वस्थ्य प्रतिस्पर्धाले नागरिकलाई विभाजित र भ्रमित बनाएको छ।
सहअस्तित्वको खाँचो : यस सत्ताको लडाइँलाई ‘अनावश्यक जुँगाको लडाइँ’ नै हो। यहाँ मुख्य प्रश्न यो हो– प्रधानमन्त्री ओली र मेयर बालेनबीच सहअस्तित्वको सम्भावना के हो ? यी नेताले अर्को नेताको काममा हस्तक्षेप नगरी आआफ्नै भूमिकामा केन्द्रित हुने हो भने समस्या समाधान हुन सक्छ। समन्वयको अभावले नेताबीचको मनमुटावले प्रश्रय पाइरहेछ।
निष्कर्ष : यो सत्ताको संघर्षले नेपाली राजनीति अभैm व्यक्तिगत प्रतिष्ठा र लोकप्रियतामा केन्द्रित भएको देखिन्छ। सहकार्य र समन्वयकै अभावले यो टकराव अझ उग्र बन्दै जानु भएन। किनकि यो नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने समय हो। जनतालाई सत्ताको लडाइँको भार थोपरेर हैन, बरु उनीहरूको हितमा काम गरेरमात्र लोकतान्त्रिक प्रणाली बलियो बन्न सक्छ।