गोरखाको वीरेन्द्रताल नजिकै भेटियो हिउँ चितुवा
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ वीरेन्द्रताल नजिकै स्थानीयले संकटासन्न हिउँ चितुवा भेटेका छन् । आइतबार दिउँसो २ बजेतिर वीरेन्द्रताल नजिकै हिउँ चितुवा देखिएको स्थानीय मिङ्मा छिरिङ लामाले बताए ।
लोपोन्मुख हिउँ चितुवा ३६५० मिटर उचाइमा भेटिएको उनले जानकारी दिए । हालसम्म चुमनुव्री क्षेत्रमा १३ वटा हिउँ चितुवाको गणना गरिएको छ । ग्लोवल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सले मनास्लु संरक्षण क्षेत्र अन्तर्गतको चुम र नुव्री क्षेत्रमा गरेको अध्ययनको क्रममा १३ हिउँ चितुवा र दुई वटा हिउँ चितुवाको बच्चाको पहिचान गरेको थियो।
चुमनुव्री अन्तर्गतको नुव्री क्षेत्रमा ५ वटा र चुम क्षेत्रमा ८ वटा हिउँ चितुवा अध्ययनको क्रममा फेला परेको थियो । पश्चिम क्षेत्रअन्तर्गत नुव्री क्षेत्रमा नोभेम्वर २०२० देखि जनवरी २०२१ सम्म अध्ययन भएको थियो भने पूर्वी क्षेत्र अन्तर्गत चुम क्षेत्रमा डिसेम्वर २०२१ देखि फेव्रुअरी २०२२ सम्म हिमचितुवाको अध्ययन भएको थियो ।