‘मधेस’ले पनि मनाउँछ दसैं
![‘मधेस’ले पनि मनाउँछ दसैं](https://annapurnapost.prixacdn.net/media/albums/dashain_Tx2XZHC4qi_foBAcLzZaO.jpg)
दसैंमा खसी मार हान्ने, नयाँ लुगा लगाउने र टीका थाप्नेमा मधेसी समुदाय अगाडि देखिँदैनन्। तर, दसैंको अर्को पक्ष भने दुर्गा भवानीको पूजामा उनीहरू निकै सशक्त छन्।
दसैं भन्नेबित्तिकै घरमा खसी मार हान्ने, नयाँ लुगा लगाएर आफन्तहरूको घरमा टीका थाप्ने भन्ने बुझाइ छ। ठ्याक्कै यो पक्षमा चाहिँ कमजोर भएकाले धेरैलाई मधेसीहरूले दसैं मनाउँदैनन् कि ? भन्ने छ। तर दसैंमा खसी मार हान्ने, नयाँ लुगा लगाउने र टीका थाप्ने मात्रै चाहिँ होइन। दसैंको अर्को पक्ष भने दुर्गा भवानीको पूजा हो। यसमा मधेसी समुदाय निकै सशक्त छन्। पूर्ण आस्था र विधि पुर्याएर नवरात्रिको नौ दिन पूजा गर्ने, बलि दिने, चौक–चौकमा सार्वजनिक तथा व्यक्तिगत रूपमा दुर्गाको मूर्ति बनाउने, खोइजा भर्ने, झिझिया नृत्य गर्ने, शक्तिपीठहरूमा मेला लगाउने जस्ता महत्त्वपूर्ण पक्षहरू दसैंसँग जोडिएका छन्।
अहिले तराईका चोकहरू पनि सच्चिएका छन्। ठूला–ठूला पण्डाल अनि दुर्गाका मूर्र्ति, भगवतीका मन्दिरहरूमा मेलाको तयारी बढेका छन्। हुन त तराईमा ‘बडादसैं’भन्दा पनि यो उत्सवलाई ‘दुर्गापूजा’, ‘नवरथा’, ‘नवरात्रि’ वा ‘दशहरा’ भन्न बढी रुचाइन्छ। जितियाको १०औं दिनमा हुने घटस्थापनाभन्दा अगाडिदेखि नै दशहराको तयारी निष्ठाका साथ सुरु गर्ने गर्छन्। दसैंको घटस्थापनालाई ‘कलस्थापन’ भनिन्छ भने दशमीको दिनलाई ‘जात्रा’ भनिन्छ।
नवरात्रिको पहिलो दिन दुर्गा भगवतीको पूजास्थलमा कलश स्थापना गरिने भएकाले कलस्थापन भनिएको हो भने दशमीको दिन पूजा गरेर त्यो कलश जलाशयमा सेलाउने र भगवती माता प्रस्थान गर्ने भएकाले जात्रा भनिएको हो। यस जात्राका दिन नीलकण्ठ चराको दर्शन गर्ने प्रचलन छ। नीलकण्ठलाई नेपालीमा ‘ठेउवा’ वा ‘ठेहुवा’ र अंग्रेजीमा ‘इन्डियन रोलर’ भनिन्छ। यसको शरीरको लम्बाइ वयस्कमा ३० देखि ३४ सेमिको हुन्छ। एउटा पखेटादेखि अर्को पखेटाको अन्तिम छेउसम्मको चौडाइ ६५ देखि ७४ सेमिसम्मको हुन्छ। यो चराले ट्यार–ट्यार ट्यार–ट्यार ठस्... कर्कस ध्वनि निकाल्ने गर्छ।
कलस्थापनको दिन बिहानै घर तथा आँगन गोबरले लिपेर ‘कलश’ स्थापना गर्छन्। र दुर्गा पूजाको आरम्भ गर्छन्। नवदुर्गाको पूजा भएकाले यसलाई नवरात्रि भनिएको हो। धेरैले यो नवरात्रिमा अनिलो खाने, फलहार मात्रै गरेर दैनिक पूजा आराधना गर्ने हुन्छ। दसैं भन्नेबित्तिकै धेरैले खसी मार हान्ने, च्याङ्ग्रा ल्याउने सम्झन्छौ। तर मधेस समुदायमा अझै पनि धेरैले नवरात्रिको अवधिभरि माछामासु खाँदैनन्। साथै कलस्थापनदेखि जात्रासम्म घरका बालबालिकालाई दुष्ट प्रवृत्तिको प्रभावबाट जोगाउन भन्दै नाइटोमा कालो टीका लगाइदिने, घाँटीमा लसुन झुन्ड्याइदिने, आँखामा गाजल लगाइदिने र टोल–छिमेकमा हिँडडुल नगर्न सुझाव दिइने हुन्छ। र यो प्रचलन अझै पनि छ।
मधेस समुदायमा खसी काट्नेभन्दा पनि ‘बलि’ दिने मात्रै हुन्छ भन्दा फरक नपर्ला। समान्यतः घटस्थापनाको दिनदेखि नै मूर्ति स्थापना गरेर पूजापाठ सुरु गरे पनि मूर्तिको आँखा भने छोपेर राखिएको हुन्छ। सप्तमीको दिन फूलपाती भित्र्याएपछि दुर्गा, भगवतीको मूर्तिको आँखा खोलिने चलन छ। दुर्गा भगवतीको आँखा खोलेपछि देवीलाई बलि दिनुपर्ने हुन्छ। भक्तजनहरूले भाकल गरेअनुसार तथा दक्षताअनुसार खसी, बोका, राँगा, परेवा, हाँस आदिको बलि दिन्छन्। शाकाहारीहरूले घिरौला, कुभिण्डो आदिका बलि दिन्छन्। मधेस समुदायका शाकाहारीहरूले दसैंको बेला घिरौला, कुभिण्डोलाई बलिका प्रतीक मानेकाले खाँदैनन्। तर मासु खानैका लागि खसी मार हान्ने चाहिँ गर्ने प्रचलन छैन।
दसैंंमा मधेस समुदायमा विशेष किसिमको लोकनृत्य गर्ने प्रचलन छ। घैंटोमा धेरै प्वाल पारेर त्यसमा दियो राखी टाउकोमा राखेर महिलाहरूले दैनिक जसो नृत्य गर्ने गर्छन्। यसलाई ‘झिझिया नृत्य’ भनिन्छ। पछिल्लो समय यो झिभिया नृत्यको लोकप्रियता बढ्दै गएको छ। बिशेष कार्यक्रमहरूमा यसले स्थान पाउने गरेको देखिन्छ। यसमा नृत्य गर्ने महिलाहरूले खासगरी आसुरी शक्तिलाई गाली गर्ने, विरोध गर्ने गर्छन्। घटस्थापनादेखि १० दिनसम्म विशेष रूपमा झिझिया नाच नाच्ने चलन छ। पूर्णिमाको दिन झिझियाको विशेष पूजा हुन्छ। र, पानीमा विसर्जन गरेर त्यसलाई समापन गर्ने चलन छ।
मधेसमा फूलपातीकै दिनदेखि दुर्गा भवानीलाई ‘खोइच भर्ने’ परम्पराको पनि आफ्नै विशिष्ट महत्त्व छ। फूलपाती भित्र्याइसकेपछि बिहानदेखि अबेर रातिसम्म भगवती मन्दिरहरूमा खोइच भर्न घुइँचो लाग्ने गर्छन्। मधेस समुदायका विशेषतः महिलाहरू यसमा सरिक हुन्छन्। देवीले खोइच भरेपछि सबै मनोकामना पूरा हुने, देवीको दरबारबाट कोही खाली हात फर्किनु नपर्ने जनविश्वास छ। खोइच भर्ने महिलाले नुहाइधुवाइ गरेर, उपवास गरेर देवीको मूर्ति अगाडि मनोकामनासहित साडीको आँचल (खोइज) थाप्ने गर्छन्। खोइज भर्ने काम फूलपातिपछि भनिए पनि अष्टमी तिथिमा मुख्य रूपमा भर्ने गरिन्छ।
तराईमा दशहराको अवसरमा पूजा नै पूजा हुन्छ। कतै–कतै देवस्थानको सामूहिक पूजा गर्ने परम्परा पनि छ। त्यसैले नजिकका शक्तिपीठ, देवस्थान तथा गाउँका मन्दिरहरूमा सामूहिक रूपमा पूजा गर्ने, मेला लगाउने, प्रतियोगिता (विशेषतः कुस्ती) गर्ने चलन अहिले पनि छ। चौकहरूमा दुर्गा भगवतीको माटोको मूर्तिलाई विभिन्न ठाउँमा पण्डाल बनाई स्थापना गरिएको हुन्छ। टीकाको दिन यसरी राखिएको जमरा र टीका नौ दिन पूजा गरेका पुजारीले भक्तजनलाई आशीर्वादको रूपमा लगादिने हुन्छ। र त्यसपछि जात्रालाई उत्सवका रूपमा मनाउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)