मधेसको दसैं
त्यतिबेला मधेसमा रुढीवादी र अन्धविश्वास व्याप्त थियो। अहिले यो चलन केही हदसम्म कम भएको छ। गाउँगाउँमा फैलिएको शिक्षाको ज्योति र प्रविधिको पहुँचले अन्धविश्वासमा कमी आएको छ।
माटोका घैलाहरू। चिटिक्क पारेर रंगीचंगी बनाइएका हुन्छन्। घैलामा भुरै भुर ‘प्वाल’ हुन्छन्। घैलाभित्र हुन्छ , तेलको बलिरहेको दियो। तीनै कलात्मक घैलाहरू टाउकोमा बोक्छन, युवतीहरू। दिनभरि ढोल बजाउँदै हिँडेका युवतीहरू र रातमा टाउकोमा घैला बोकेका युवतीहरू गाउँमा देखापर्न थालेपछि मधेसमा दसैं सुरु हुन्थ्यो। युवतीहरू रातिको समयमा गीत गाउँदै, नाच्दै टाउकोमा घैला बोकेर झिझिया नाच नाच्छन्। टाउकोमा घैला अड्याउन बिरबाको प्रयोग गरिन्छ। ‘बिरबा’ पराललाई कपडामा मोडेर बनाइएको एक प्रकारको सामग्री हो। गोलो आकारको बिरबा टाउकोमा घैला अडरूाउन बनाइन्छ।
डायनको आक्रमणबाट गाउँलाई मुक्त गर्न गाउँका चमार युवतीहरू गाउँभर ढोल पिट्दै हिँड्ने गर्छन्। उनीहरूले स्थानीय गित गाउँदै ढोल बजाएको आवाजले बोक्सिहरू पर भाग्छन् भन्ने जनविश्वास रहेको छ। ढोल बजाउदै उनीहरू गाउने गर्थे....
चल चल गे डइनी, कदमतर
त्यतिबेला मधेसमा रुढीवादी र अन्धविश्वास व्याप्त थियो। बोक्सी र डायनका बहानामा धेरै व्यक्तिहरू अकारण मारिए। उनीहरूमाथि गाउँलेबाटै अत्याचार हुने गथ्र्यो। छिमेकीबाटै हिंसामा पर्थे। मन नपरेका व्यक्तिलाई डायनको संज्ञा दिँदै सार्वजनिक बेइज्जती गरिन्थ्यो। अहिले यो चलन केही हदसम्म कम भएको छ। गाउँगाउँमा फैलिएको शिक्षाको ज्योति र प्रविधिको पहँुचले अन्धविश्वासमा कमी आएको छ।
दसैंको आगमन सँगै गाउँका अभिभावकहरू एक खालले थप सर्तक हुने गर्थे। उनीहरू आफ्ना बच्चाहरूलाई घरबाहिर जान दिँदैनथे। गाउँमा लुकेर रहेका बोक्सी तथा डायन र भग्ताहरू नवरात्रीको समयमा थप सक्रिय हुन्छन भन्ने मान्यता र डरले उनीहरूले बच्चाहरूलाई घरवाहिर जान दिँदैनथे। कतै बालबच्चा बाहिर गैहाले भने कालो धागोमा लसुनको पोटी र हिंग उनेर माला लगाएर पठाउँथे। गाउँका प्राय सवै बच्चाहरूको अनुहारमा कालो गाजल र टीका पोतिने गथ्र्यो। कसैको घाँटीमा चाँदिको माला झुण्डिने गथ्र्यो। मालामा विशेष प्रकारको सुरक्षा बुटी मिसाइएको हुन्थ्यो। यस्ता मालाले डायनको बोक्सी नजरबाट बच्चालाई बचाउन सकिन्छ भन्ने जनविश्वास थियो।
मधेसको दसैं सम्झनासाथ झ्याप्पै मानसपटलमा आउने दृश्य हो, पहलमानहरू एकआपसमा कुस्ती खेलीरहेको दृश्य। भिमकाय शरीर भएका कुस्तीबाजहरू गाउँको चौरमा कुस्ती खेल्ने गर्थे। उनीहरूसँग भिड्नका लागि गाउँकै बलिया युवाहरू प्रतिस्पर्धामा बस्ने गर्थे। दसैं–तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गाउँलेहरू मिलेर कुस्ती प्रतियोगिता राख्ने गर्थे। खेल हेर्नको लागि सारा गाउँलेहरू कार्यक्रमस्थलमा भेला हुन्थे। खेल मनोरञ्जनको साधन थियो त्यो बेला। अहिले भने यो कुस्ती प्रतियोगिता हराउँदै गएको छ। यदाकदा हुने यस्ता प्रतियोगिताले मौलिकता वोक्न सकेका छैनन्। खेलाडीहरू व्यावसायिक रूपमा अगाडि बढ्ने वातावरण छैन।
दसैंमा लाग्ने मेलाले वेग्लै रौनक ल्याउथ्यो। गाउँका बालक हुन् या युवा वा वृद्ध र अल्लारे नै किन नहोस मेला स्थलमा झुम्मिने गर्थे। मेलाभर्न विभिन्न गाउँबाट आएका गाउँले र व्यापारीहरूले वेग्लै रमाइलो छर्थे। मेलामा स्थानीय खाजा, खानाका परिकार, हलुवाइ, मुरही—कचरी, झिल्ली, जिलेबी र आलुचप बिक्री स्थलमा मानिसहरूको घुइँचो देखिन्थ्यो। पुरुषहरू स्थानीय घरबुना कमिज, धोती र लुंगी लगाउने गर्थे। महिलाले लगाउने सारी, चोली भने भारतीय बजारबाटै आउनेगथ्र्यो। बालबच्चाहरू नयाँ लुगामा मख्ख हुन्थे। मधेसमा दसंैको रौनकले गाउँ सुन्दर हुन्थे।
काठमाडौंमा नै स्थायी रुपमा बसोबास गरेको ६० वर्षभन्दा बढी भयो। अहिले त म यहीँको रैथाने भइसके। तर, मेरो मन मस्तिष्क र मानसपटलमा बाल्यकालको दसैं ताजै छ। उतैको मिठास र आत्मियताले मलाई तानिरहन्छ। हुनतः पुराना धेरै कुराहरू परिवर्तनको संघारमा छन्। यस्तै छ, हाम्रो कला, संस्कृति र चालचलन मनाउने स्वरुप र शैलीपनि। मधेसमा पनि अहिले दसैं मनाउने तरिका बदलीएको छ, उस्तै बदलिएका छन्, त्यहाँ बसोबास गर्ने मधेसीहरू पनि।
चाडपर्वको बेला गाउँभरीका मानिस भेला भएर रमाइलो गर्ने परम्परा बदलिएको छ, घर घरमा पुगेको इन्टरनेट र स्मार्टफोनले आफन्तबीच दूरी बढाएको छ। परिवार, छरछीमेकमा आत्मियता हराएको छ। विदेश उडेका परिवारको सदस्यले पठाएको रेमिटान्सले भित्राएको खुसी उनीहरूको घरभित्रै मात्रै सीमित छ।
गाउँगाउँको प्रतिनिधित्व गर्दै दसैंमा फहर्याइने हनुमानको झन्डाले गाउँको शिर उँचो बनाउँथ्यो। कुन गाउँलेले अग्लो र ठूलो झुन्डा फहर्याउने एक खालको अघोषित प्रतिस्पर्धा नै हुने गथ्र्यो। गाउँको शिरमा उभिरहेको विशाल झण्डाले गाउँलेहरूको एकताको चिनारी दिन्थ्यो। यो गाउँका मानिसहरू भगवान हनुमान जस्तै बलियो र बुद्धिमानी छन् भन्ने पहिचान दिन्थ्यो। अहिले त हनुमानका झण्डाहरू हातहातमा हुन थाले। घरघरमा टाँसिन थाले, यसको रौनक गाउँमा विस्तारै घट्दो क्रममा छ।
अन्य समुदायमा जस्तो मधेसमा हरेकको घरमा जमरा राख्ने चलन छैन। गाउँमा रहेका पण्डित तथा बाहुनहरूले उनीहरूका सबै जजमानहरूका लागि जमरा राख्ने परम्परा थियो। टीकाको दिन पण्डितहरूले नै टीका र जमरा लगाइदिने प्रचलन थियो। तर, अहिले यो परम्परा केही बदलीएको छ। हरेकले घरमा पनि जमरा राख्छन्, गाउँमा रहेको मन्दिरमा संयुक्त रूपमा दुर्गा पूजा गर्दै जमरा राख्ने चलन चलेको छ। पण्डितहरूबाट टीका लगाएपछि उनीहरूलाई दक्षिणा दिने चलन अझै पनि छ।
चाडपर्व भ्रातृत्व र एकता जगाउने बहाना पनि हुन्। सामाजिक कामका लागि एकजुट हुने समय पनि हो। दसंै मान्न घर फर्कनेहरू गाउँ सफा गर्नका लागि तम्तयार भएर हिडेको देख्दा बेग्लै खुसी मिल्छ। पछिल्लो समय स्थानीय सरकार तथा जनप्रतिनिधिहरू पनि गाउँको कला, संस्कृति विकासका लागि केही काम गरिरहेका छन्। जुन सकारात्मक मान्नुपर्छ।
चाडपर्वका बहानामा भएका विकृति र नराम्रा चलनहरू समाजबाट विस्तारै हट्ने क्रममा छन्। मधेसमा छोरी बुहारी घर बाहिर निस्कन हँुदैन, पढ्नु हुँदैन भन्ने चलन थियो। केही हदसम्म यी चलन अझै पनि छन्, तर धेरै अभिभावकहरू परिवर्तन भैसके। शिक्षा दिलाउने विषयमा छोरी हुन या बुहारी छुट्याउने प्रचलन हराउने क्रममा छ।
मधेसमा दुर्गा मातालाई अत्यन्तै श्रद्धापूर्वक पूजाअर्चना गर्ने चलन छ। दुर्गा शक्तिकी देवी हुन्। तराई मधेसमा कुनै पनि माङगलीक शुभकार्य सुरु गर्नुपुर्व माँ भगवती दुर्गाको स्तुति गरिन्छ।
जय जय भैरवी असुर सुहाउनी....
मधेसको भावनामा शक्त्ति भावना र भक्ति धाराले सशक्त भूमिका निर्वाह गरेको हुन्छ। शक्तिको उपासक को छैन र ? सबैलाई शक्तिको सरोकार स्वागतयोग्य मानिन्छ। मधेसका प्राचीन राजा र महाराजाले पनि शक्तिपीठको स्थापना ठाउँठाउँमा गरेर यसको उपासना गरेका थिए। स्वयं मिथिला नरेश रार्जर्षी जनकको इष्टदेवी राजदेवी थिइन्। जनकपुरको प्रसिद्ध राममन्दिरको प्राङ्गणमा अवस्थित राजदेवीको पूजाअर्चना आजसम्म पनि भैरहेको छ। दुर्गापूजामा राजदेवीको पूजाआजा बडो धुमधामका साथ गरिन्छ।
यस अवसरमा भजन किर्तनको पनि विशेष व्यवस्था छ। राजदेवी तथा अन्य शक्तिपीठमा दिइने पशुबलीको भने अचेल विरोध हुन थालेको छ। धर्मको नामममा चलेको परम्परा धान्ने बहानामा पशुहरूको अधिकार हनन गरिएको आवाज उठ्न थालेको छ। मधेशमा रहेको छिन्नमस्ता देवीको मन्दिर, कङ्कालिनी माइको मन्दिर, गहवामाई, गढीमाइको मन्दिरलगायत धेरै देवीदेवताको मन्दिरमा पूजाअर्चना हुन्छ। जसले एकआपसमा भ्रातृत्व र मायाममता बाँडेको छ।