मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
![मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident__rnZdEILFa8_lCWwy4TtNR.jpg)
झापा : झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र(०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर-६ का अन्दाजी ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)