करिब एक महिनापछि भेटियो बेपत्ता बालकको शव
बेनी : म्याग्दी नदीमा बेपत्ता भएका एक जना बालकको शव करिब एक महिनापछि भेटिएको छ।
मालिका गाउँपालिका-६ दरवाङको छ्यारछ्यारेस्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा गत असोज ४ गते बेपत्ता भएका मालिका गाउँपालिका-१ निस्कोटका ८ वर्षीय सल्मान पट्टेलको शव फेला परेको प्रहरीले जनाएको छ।
मंगला गाउँपालिका-३ बान्द्रेस्थित म्याग्दी नदी किनारमा भेटिएको शव मृतकका बुबाले सनाखत गरेपछि प्रक्रीया पूरा गरेर बिहीबार परिवारलाई बुझाएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए। नदी किनारमा बुधबार साँझ सडेगलेको अवस्थामा शव देखेपछि बुधबार साझँ स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। यसअघि प्रहरी, आफन्त र स्थानीयबासीले नदी किनारमा खोजतलास गरेपनि शव भेटिएको थिएन।