मालिकाको ४ वडाका ६ सय घरमा बिजुली

मालिकाको ४ वडाका ६ सय घरमा बिजुली
सुन्नुहोस्

बेनी : म्याग्दीको मालिका गाउँपालिकाको चारवटा वडाका ६ सयभन्दा बढी घरधुरीमा केन्द्रीय लाइनको विद्युतीकरण भएको छ। मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुगेको हो।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिका–२ रुम, बेली, जेम, घ्याङ्ले पानीमा दुई सय ५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, पात्लेका १ सय २०, मालिका–४ ओखरबोटमा १ सय २ घरमा बिजुली बलेको जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका ४ वटा वडामा बिजुली बालिएको गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका म्याग्दी १(२)बाट निर्वाचित सांसद रेशमबहादुर जुग्जालीले बताए। ‘म्याग्दीका १४ स्थानका २ हजार १ सय ८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि २२ करोड रूपैयाँ बजेटको योजना सञ्चालन भएको छ,’ उनले भने, ‘यो योजनामार्फत धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा विद्युत् सुविधा विस्तार हुन्छ।’ 

घ्याङ्लेपानीबाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए्। विद्युत्को कुनै स्रोत नभएको घ्याङ्लेपानीका बासिन्दाहरूले सोलार र टुकी प्रयोग गर्दथे। 

वर्षौंको प्रयासपछि बिजुली बलेपछि स्थानीयवासीमा खुसियाली छाएको मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए। मालिका गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने पात्ले, लुप्सीपार, किटेनी, डाँडागाउँ, औला, सेउलीबाङ, अदिभारा, इग्रे, खतेन बस्तीका ३ सय २५ घरधुरीमा विद्युतीकरण भएको उनले बताए। केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयवासीलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न र सार्वजनिक सेवा प्रवाहमा सहज भएको मालिका–३ पात्लेकी बालकुमारी रोकाले बताइन्। विद्युत् सुविधा विस्तारका लागि ४७.६ किलोमिटर मुख्य, १ सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रवीन्द्र/ढुंगाना जेभीसँग ३ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो। मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैंंले गरेका हुन्। 

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा १ हजार ४ सय ३८ उपभोक्ता थपिएका नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। गत वर्ष थपिएकासहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार विद्युत्का ग्राहक पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.