वाणिज्य बैंकहरूको कमाइ सवा १६ अर्ब
काठमाडौं : चालु आर्थिक वर्षको सुरुवात अर्थात् पहिलो त्रैमासमा बैंकहरूको कमाइ चुनौतीका बाबजुद पनि गत वर्षकोभन्दा केही सुधार गर्न सफल भएको बैंकरहरू बताउँछन् । एकातर्फ अबिरल वर्षाले निम्त्याएको बाढी, पहिरो, डुबान र अर्कोतर्फ दसैंको मुखमा पनि बैंकहरूले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ बराबरको कुल नाफा गर्न सफल भएका छन् । यो बैंकहरूले सार्वजनिक गरेका आव २०८१÷८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसारको नाफा हो ।
अझ यसबीच खराब कर्जा नियन्त्रण नहुँदा पनि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले अघिल्लो आवको सोही अवधिको तुलनामा अहिलेको नाफा २०.४९ प्रतिशत हाराहारीले वृद्धि गरेका छन् । गत आवकै सोही अवधिको अपरिस्किृत तथ्यांकलाई आधार मान्दा बैंकहरूले १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ कमाएका थिए ।
यसर्थ, अर्थात् अहिलेको ३ महिनामा गत आवको भन्दा करिब २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ बढी नाफा हो । बैंकहरूको ब्याजआम्दानी ६ प्रतिशतले घट्दा पनि एक वर्षको अन्तरमा साढे २ अर्ब रुपैयाँभन्दा बढी नाफा वृद्धि गर्नुलाई बैंकहरूले गरेको कामलाई रामो ठान्नुपर्ने बताउँछन्, नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सुनील केसी । ‘अहिलेको अफ्ठेरो अवस्थामा भएको यो नाफालाई बैंकहरले रामो व्यवस्थापन गरेको ठान्नुपर्छ । विशेष गरेर राष्ट्र बैंकले प्रोभिजनिङमा सहजता दिएकाले पनि नाफा बढ्न मद्दत गरेको छ । तर, बैंकको कोर व्याजको आम्दानी ६ प्रतिशतले घटेको छ । मुख्य गरेर खराब कर्जाको प्रोभिजनबाट मात्रै करिब ६ अर्ब जति रकम फिर्ता आएका कारण नाफाको आकार बढ्न गएको हो,’ अध्यक्ष केसीले अन्नपूर्णसँग भने
यसबीच सबैभन्दा बढी नाफा नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । यसपछि बढी नाफा कमाउनेमा क्रमशः ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंक छन् । उक्त बैंकहरूले करिब १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् । अझ गत आर्थिक वर्षको ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले अहिले १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । तर, यसअवधिमा सबैभन्दा कम कमाइ एनआईसी एसिया बैंकले गरेको छ । सो बैंकले ११ करोड ५ लाख रुपैयाँ मात्र कमायो ।
अझ अघिल्लो आवको तुलनामा एक दर्जनकले नाफा वृद्धि गर्न सफल भएका छन् । तर, ८ वटा बैंक नाफा भने घटेको छ । यसअवधिमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशतवृद्धि भएको छ । गत आव ४ करोड २८ लाख रुपैयाँ कमाएको बैंकले अहिले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यसपछि बढी नाफा वृद्धि गर्नेमा क्रमशः लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंक छन् ।