रोड्रीलाई बालोन डी’ओर अवार्ड
पेरिस : स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ओर अवार्ड जितेका छन् । २८ वर्षीय रोड्रीले पहिलो पटक प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्री सन् १९६० पछि बालोन डी’ओर अवार्ड जित्ने पहिलो स्पेनिस खेलाडी हुन् । सन् १९६० पछि स्पेनका कोही पनि खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन् । यस्तै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टरबाट भने रोड्रीले १६ वर्षपछि अवार्ड जितेका हुन् । सन् २००८ मा क्रिस्टियानो रोनाल्डोपछि रोड्रीले यो अवार्ड पाएका हुन् । उनी सन् २००८ पछि बालोन डी’ओर अवार्ड जित्ने प्रिमियर लिगकै पहिलो खेलाडी हुन् ।
रोड्रीले ब्राजिल तथा रियल म्याड्रिडका विङ्गर भिनिसियस जुनियर र इङ्ल्यान्ड तथा रियल म्याड्रिडकै मिडफिल्डर जुड वेलिङ्घमलाई पछि पार्दै बालोन डी’ओर अवार्ड जितेका हुन् । गत वर्ष स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । फ्रान्सको पेरिसमा सम्पन्न एक विषेश कार्यक्रममा रोड्रीलाई बालोन डी’ओर अवार्ड प्रदान गरिएको थियो ।
‘यो म र मेरो परिवारसँगै देशका लागि विशेष दिन हो । यो मेरो मात्र होइन स्पेनिस फुटबलको पनि जित हो’, रोड्रीले भने, ‘यो अवार्ड हकदार भएर पनि जित्न नसकेका आन्द्रेस इनियस्टा, जाभी हर्नान्डेज, इकर कासिलास, सर्जियो बुस्कोटजस्ता महान स्पेनिस फुटबलरका लागि समर्पित गर्न चाहन्छु ।’
यसैगरी रियल म्याड्रिड वर्षको उत्कृष्ट क्लब र रियलकै कार्लो एन्सेलोट्टी उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । बार्सिलोनाका स्पेनिस विंगर लामिन यामलले कोपा ट्रफी, एस्टन भिल्लाका अर्जेन्टाइन गोलरक्षक इमिलियानो मार्टिनेजले लिभ यासिन ट्रफी र बार्यन म्युनिखका फरवार्ड हेरी केन तथा रियल म्याड्रिडका फ्रेन्च फरवार्ड काइलिन एमबाप्पेले गर्ड मुलर ट्रफी पाए ।
महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना बोनमटीले बालोन डी’ओर अवार्ड पाइन । उनले लगातार दोस्रो पटक यो अवार्ड पाएकी हुन् ।