उत्तर कोरियाले १० हजार सैनिक रूस पठायो
वासिङ्टन : उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र सम्भवतः केही सातामै युक्रेनविरुद्ध लड््ने सम्भावना रहेको अमेरिकाले जनाएको छ ।
उत्तर कोरियाले ठूलो संख्यामा सैनिक पठाउँदा ‘महत्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न भएको दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड््न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जुनमा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो संख्यामा सैनिक तैनाथ गर्न थालेको दक्षिण कोरियाको आरोप छ ।
उत्तर कोरियाले भने सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत साता पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानुन अनुरूप हुने बताएका थिए ।