मध्य भोटेकोशीले प्राविधिक परीक्षण गर्दै, नदी किनारामा नबस्न आग्रह

मध्य भोटेकोशीले प्राविधिक परीक्षण गर्दै, नदी किनारामा नबस्न आग्रह
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लार्चामा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राविधिक परीक्षण सुरु गरेको छ।

आयोजनाको बाँध, इन्टेक, गेट, डिस्याण्डर, स्टप लग, सुरुङ लगायत अन्य हेडवर्कसका संरचनाहरूको प्राविधिक परीक्षण कार्तिक २२ गतेदेखि मंसिर १८ गतेसम्म गरिने भन्दै आयोजनाले स्थानीयलाई नदी किनारामा नबस्न अनुरोधसमेत गरेको छ। 

आयोजनाले सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका वडा नं. १, २ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं. ३, ५, ६, ७ र ८ का स्थानीयलाई नदी किनारामा गरिने सबै क्रियाकलापलाई बन्द गर्न आग्रह गरेको हो।

‘परीक्षणको क्रममा उपर्युक्त समयावधिमा आयोजनाको बाँध स्थलमा भोटेकोशी नदीको पानी छेक्ने र छोइने कार्यहरू गरिरहनु पर्ने र कुनै बेला एकै पटक ठूलो परिमाणमा पानी छोड्नुपर्ने भई बाँध स्थलभन्दा तल्लो तटीय क्षेत्र अन्तर्गत भोटेकोशी नदी किनारमा पर्ने नयाँ पुल, सखुवा, बोर्डर ल्यान्ड, बसेरी, ढालेकुना, जिरो, चित्रे बजार, जम्बु, सिरिसे, खागदल, खुर्सानीबारी, बाह्रबिसे बजार, राम्चे बजार, जुरे तथा सुनकोशी ड्याम साइड बजारसम्म नै भोटेकोशी नदीको पानीको सतह घटबढ भइरहने भएकोले उपर्युक्त अवधिमा भोटेकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू नगर्न नगराउन हुन सर्वसाधारण सबैमा यो सूचना जारी गरिएको छ,’ आयोजनाद्वारा जारी सूचनामा भनिएको छ।

सरकारको अनुमति अनुसार परीक्षण अवधिभरि नदी किनारामा कुनै पनि काम नगर्न अनुरोध गरिएको आयोजनाका लेखा तथा प्रशासन प्रमुख अरुण न्यौपानेले जानकारी दिए। ‘हामीले गाउँपालिका, नगरपालिका, प्रहरी कार्यालय र प्रशासन कार्यालयको अनुमतिमा परीक्षण अवधिभरका लागि नदी आसपासका गतिविधि नगर्न अनुरोध गरेका हौं’, उनले भने,‘कुनै प्राविधिक कारणले गर्दा उपर्युक्त परीक्षण कार्यको समयावधि केही समय थपघट हुनसक्छ। तर हामी तोकिएको समयसीमाभित्रै परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने तयारीमा छौं।’

सूचनाको अवज्ञा गरी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ चराउने, ढुंगागिट्टी उत्खनन गर्ने तथा नदी किनारमा कुनै पनि किसिमका कार्यहरू गरी कुनै अप्रिय घटना हुन गएमा आयोजना तथा कम्पनी जिम्मेवार नहुने समेत उनले जनाए। सो अवधिमा कुनै समस्या भए स्थानीयलाई आयोजनासँग सम्पर्क गरी समस्या सुल्झाउन समेत पौडेलले आग्रह गरे।

आयोजनाले प्राविधिक परीक्षण सकिएलगत्तै विद्युत उत्पादन गर्ने जनाएको छ। तार तान्ने काम सकिएको र परीक्षण पनि सुरु भइसकेकोले मंसिरको तेस्रो सातादेखि विद्युत उत्पादन सुरु गर्ने मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले बताए। कम्पनीले मंसिर दोस्रो साताभित्र सबै परीक्षण सकाएर उत्पादन थाल्ने उनको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशीको बिजुली यसै प्रसारण लाइनमार्फत प्रवाह हुनेछ। सो आयोजनाको चार वर्षमा निर्माण सम्पन्न हुनेगरी २०७० सालमा निर्माण सुरु भएको थियो। त्यसअघि २०६८ सालमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता भएको थियो। आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि वृद्धि भएको छ। पहिलो चरणमा १२ अर्ब २८ करोड लागत रहेको आयोजनामा निर्माण भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा निर्माण खर्च पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.