उदयपुरमा उल्लासमय छठ पर्व
उदयपुर : सांस्कृतिक महत्व बोकेको छठ पर्व यस वर्ष उदयपुरमा एक लाख बढीले प्रत्यक्ष अवलोकन गरेका छन्। त्रियुगा नदी किनारामा उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छठ पर्वमा उदयपुर लगायत छिमेकी जिल्ला खोटाङ्ग, भोजपुर, सिन्धुली, रामेछाप, सुनसरी, सप्तरीका स्थानीयवासीको समेत उपस्थिति रहेको आयोजकले बताएको छ।
त्रियुगा छठ पूजा व्यवस्थापन समितिका प्रमुख सल्लाहकार तथा मुख्य पुजारी खेमनारायण यादवका अनुसार नदी किनारा र मुख्य मन्दिरमा दश हजार बढि श्रद्धालु भक्तजनले सामुहिकरुपमा पुजाआरधना गरेका छन् भने स्टेजको सांस्कृतिक कार्यक्रम र छठ पर्वलाई एक लाख बढीले प्रत्यक्ष अवलोकन गरेका छन्।
विगत वर्षभन्दा यसपटक छठको रौनक र भक्तजनको संख्या बढेको उनले बताए। पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार भक्तजनलाई सुविधा र सहज पूजा–आराधना गराउन त्रियुगा नदीलाई व्यवस्थित गरी सबैलाई न्यून शुल्कमा घाट उपलब्ध गराइएको थियो।
पछिल्लो समय छठ सबै धर्मालम्बीहरूको ‘साझा चाड’ मा रूपान्तरण हुँदै गएको छ। विगत वर्षमा तराईबासीको बाक्लो उपस्थिति हुने गरेको छठ पूजामा यस वर्ष पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता रहेको छ।
नदी तलाउमा पूजा आरधानासँगै आयोजना गरिएको सांस्कृतिक तथा सम्मान कार्यक्रमले भक्तजनको उपस्थिति अझ बढेको अध्यक्ष साहले बताए। उनले भने, ‘विभिन्न क्षेत्रमा सहभागिता जनाई उत्कृष्ट हासिल गर्ने जिल्लाका व्यक्तिवहरुलाईसमेत सम्मान गरिएको छ।'
भक्तजन र अन्य सर्वसाधरणलाई आकर्षित गर्न घाट व्यवस्थापन, मनोरञ्जनका कार्यक्रम, सेल्फी सिन, औषधि उपचार लगायतका गतिविधि राखिएको समितिका महासचिव ललित नायकले बताए। मुख्य पुजारी यादवले सूर्यको उपासना गरेर तराई क्षेत्रका समुदायले छठ मनाउने गरे पनि पछिल्ला वर्षमा पहाडी समुदायका भक्तजनले पनि छठ पर्व मनाउन थालेको बताए।
छठ पूजालाई लक्षित गरी सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले छठ पूजा सबै धर्म, संस्कृतिको साझा पर्व भएकाले यसको संरक्षण र व्यवस्थापनका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए।
उनले छठ त्रियुगाको संस्कृतिसँग जोडिएकोले नगरपालिकाले आगामी बर्ष वजेटको समुचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी उपमेयर महेश्वरी राईले त्रियुगाको सभ्यता, संस्कार र सौन्दर्यतामा छठ पूजा र पवित्र त्रियुगा नदीको महत्व रहेको बताइन्।
कार्यक्रममा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तिहरुलाईसमेत सम्मान गरिएको थियो। यस वर्षको छठ पर्वमा उदयपुर आईडलमा छनौटमा परेका कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए।
त्यसैगरी लोक संस्कृति झल्काउने खालका गीतमा खुला नृत्य र गायनहरू प्रस्तुत गरिएको समितिका कोषाध्यक्ष सुरज साहले बताए। कार्यक्रममा छठ पर्वमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग तथा योगदान गर्नेहरूलाई सम्मान गरिएको उनले बताए।
यसकासाथै उदयपुरको बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ पुजाआरधना गर्दै छठ पर्व मनाइएको छ।
कार्तिक शुल्क षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घसहित पूजा अर्चना गरेर आफूले चिताएको मनोकामना पूर्ण होस् भनेर छठको ब्रत बस्ने गरिन्छ।