गाउँमा काम नपाएपछि भारत जानेको लर्को
![गाउँमा काम नपाएपछि भारत जानेको लर्को](https://annapurnapost.prixacdn.net/media/albums/bharat-jadai-2_MbQUJoCmFO_YWPzPDSp3E.jpg)
मुगु : अन्नबाली भित्र्याउने काम तथा दसैं र तिहार सकिएलगत्तै मुगुका सर्वसाधारणहरू कामको खोजीमा भारतका विभिन्न स्थानमा जानेहरूको लर्को लागेको छ।
असोजको अन्तिम सातामै वर्षे बाली घरमा भित्र्याइ सकेका स्थानीयहरू दसैं तिहार सकिनेबित्तिकै कमाउन भारत जान लागेका हुन्।
तिहारको पछिल्लो दिनबाट सदरमुकाम गमगढीबाट नेपालगन्जसम्म भारत जानेहरूको संख्या दैनिक १ सय ५० भन्दा बढी रहेको छायाँनाथ रारा यायात प्रालिका काउन्टर इन्चार्ज रविन मल्ल बताउँछन्।
सदरमुकाम गमगढीबाट सुर्खेत हुँदै नेपालगञ्जसम्म दसैंतिहार अघि दैनिक २ वटा बस छुट्ने गरेका थिए। तिहार सकिए लगत्तै अहिले दैनिक ४।५ वटा बस छुट्ने गरेका छन्। यतिका बसले नपुग्ने भएकाले र जुम्लाको गोठी ज्युलाबाटसमेत बस मगाउनु परेको छ। यो भन्दा अगिल्ला वर्षहरूमा कहिल्यै यस्तो भारत जानेहरूको लर्को नदेखिएको बस ब्यवसाहीहरुले बताएका छन्।
'बाली भित्राउने काम सकिसकेको छ। गाउँमा काम पाइँदैन यत्तिकै बरोजगार हुनुभन्दा ५।६ महिना भारतमा गएर मजदुरी गर्दा केही पैसोका जोहो हुन्छ। जिल्लामा मजुदरी गर्न कुनै ठाउँ नै छैन।', काम नपाएपछि बाध्य भएर भारत जानु बाहेक अर्को विकल्प नरहेको छायाँनाथ रारा नगरपालिका-५ का भुम्ल बुढाले बताए। भुम्ल बुढासहित यो वडाका ढुमा गाउँबाट ३० जनाभन्दा बढी युवा भारत जान लागेका सोही गाउँका पदम कार्कीले जानकारी दिएका छन्।
गाउँमा रोजगारी नभएको भन्दै केही खाडी मुलुकमा छन्। बाँकी रहेका युवाहरू अघिल्लो वर्षभन्दा यो वर्ष मजदुरीका लागि भन्दै भारतका विभिन्न स्थानमा लर्को लागेर जान थालेपछि गाँउमा मर्दा पर्दा हिँड्ने युवाहरू छैनन्। गाँउमा बुढा पाखा, महिला र बालबालिका मात्र छन्। आम्दानीको कुनै माध्यम नभएपछि सम्पत्ति हुने विभिन्न देशमा जान्छन् गरिबहरु भारत जान्छन्। गाउँमा बस्ने वातावरण राज्यले सिर्जना गर्न नसक्दा युवाहरू पलायन हुनु परेको नागरिक अगुवा रुपबहादुर मल्ल बताउँछन्।
यो सिजनमा जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी छायाँनाथ रारा नगरपालिका,खत्याड र सोरु गाउँपालिकाका बस्तीका सर्वसाधारणहरू भारत गएका छन्। मुगुम कार्मारोङ गाउँपालिकाको बस्तीहरूबाट मजदुरीकै लागि भनेर भारत जानेहरूको संख्या कमै रहेको पाइन्छ।
गाउँमा रोजगारी नभएको भन्दै मजदुरीका लागि भारत सदरमुकाम गमगढीबाग बस मार्फत नेपालगंज जान लागेका छायाँनाथ रारा नगरपालिकाका स्थानीयहरू।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)