वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
![वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_k2YYqUppZs_G61E9D0IXk.jpg)
काठमाडौं : आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन्।
पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)