छाडा कुकुरको आतंक रोक्न बन्ध्याकरण अभियान
जोमसोम : मुस्ताङको पाँचवटै गाउँपालिकामा छाडा कुकुरको आतंक रोक्न बन्ध्याकरण अभियान सुरु गरिएको छ। कुकुर आतंक बढेसँगै घरपालुवा तथा सामुदायिक छाडा कुकुर नियन्त्रण अभियान थालिएको हो।
मंगलबार उपल्लो मुस्ताङको लोमान्थाङबाट छाडा कुकुरहरुलाई रेबिज विरुद्ध खोप तथा बन्ध्याकरण गर्ने अभियान प्रारम्भ गरिएको हो। लोमान्थाङबाट सुरु भएको अभियान लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा पुगेर सकिने छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र जिल्लाका ५ वटै स्थानीय तहको आयोजनामा जिल्ला स्तरीय रुपमा अनधिकृत छाडा कुकुर नियन्त्रण अभियान सुरु गरिएको हो।