अवसर पाए छोरीहरूले जस्तोसुकै चुनौती सहजै स्वीकार गर्छन्
नेपाली महिला यू–१९ क्रिकेट टिमले विश्वकपको यात्रा तय गरेको छ। यसको मूल श्रेय जान्छ– कप्तान पूजा महतोलाई। किनभने, उनले विश्वकप छनोट चरणका खेलमा महत्वपूर्ण योगदान गरिन्, टिमलाई ऐतिहासिक यात्रामा अघि बढाइन्। गृहनगर महोत्तरीको गौशाला–९ डुवरबन्नामा रहेकी पूजासँग अन्नपूर्णकर्मी धनवीर महतोले गरेको कुराकानी :
तपाईंकै कप्तानीमा यू–१९ महिला टिम पहिलोपटक विश्वकपमा पुग्यो। कस्तो महसुस गर्र्दै हुनुहुन्छ ?
धेरै नै खुसी छु। यो जित देशवासीको हो। पूरा मुलुक नै हर्षित छ। देशवासी सबैको माया, स्नेह अनि सहयोगले सफलता पाएका हौं।
नेपाली महिला क्रिकेट टिममा तपाईं आबद्ध भएको १ वर्ष मात्रै भयो। यसबीचमा महिला क्रिकेटलाई उचाइमा पुर्याउन तपाईंको भूमिकाको कसरी मूल्यांकन गर्नुभएको छ ?
मैले निकै कडा परिश्रम गरेकी छु। जसले गर्दा छोटै समयमा देशलाई विश्वसमक्ष चिनाउन सक्यौं। यो सफलतामा मेरो परिवारलगायत देशवासीको महत्वपूर्ण योगदान छ। यसमा सबैको उत्तिकै सकारात्मक भूमिका पनि छ।
जितका लागि टिम व्यवस्थापन कसरी गर्नुभएको थियो ?
नेपाललाई जसरी पनि विश्वकपको यात्रामा पुर्याउनुपर्छ भन्ने मुख्य उद्देश्य लिएर हामी तयारीमा जुट्यौं। समग्र टिमको सकारात्मक भूमिका रह्यो। मैले कप्तानीको जिम्मा पाएपछि यसपटक चाहिँ विश्वकपमा खेल्नुपर्छ र जित्नुपर्छ भनेर कडा मेहनत गरे। पटक–पटक टिमका साथी र सहयोगीसँग विचार विमर्श गरे। सबैबाट सकारात्मक सहयोग पाइयो। टिमका प्रत्येक सदस्यले कडा मेहनत गर्यौं। फलस्वरूप हामी यो सिरिज जित्न सफल भयौं।
तपाईं आउनुभन्दा पहिले र अहिलेको क्रिकेट टिममा के कति फरकपना पाउनुभयो ?
पहिले त न व्यवस्थित खेल मैदान थिए। न खेलाडीलाई कुनै सुविधा थियो। खेलाडी आफैंले सबै व्यवस्था गर्नुपथ्र्यो। ती पललाई दुखद संयोगका रूपमा लिन चाहन्छु। तत्कालीन समयमा सरोकारवाला निकायको जे जति भूमिका वा चासो हुनुपर्ने थियो, त्यस्तो पनि थिएन्। त्यसबेला खेलाडीहरू अलपत्र जस्तै हुन्थे। उनीहरूको मनोवल खस्केको हुन्थ्यो। खेलाडीहरूमा प्रतिभा देखाउनका लागि जोश र जाँगर हुँदैनथ्यो। अहिले क्रमिक रूपमा सुधार छ। केन्द्र सरकार र प्रदेश सरकारहरूले खेल र खेलाडी लक्षित प्याकेजहरू रेडबुकमा राखेको पाइन्छ। खुसी लागेको छ। जुन नेपालको खेलकुदको लागि सुखद पक्ष हो।
सरकारीस्तरबाट क्रिकेट टिम व्यवस्थापनमा अहिलेसम्म कस्तो भूमिका रहेको पाइयो ?
नेपाली खेलकुदको विकासका लागि सरकारीस्तरबाट क्रमिक रूपमा सुधार भइरहेको छ। सुरुवाती चरण हेर्दा पक्कै पनि सुधारमय छ। यसमा हरेकपक्षको भूमिका छ। खेलाडीलाई मनोवल बढाउन तीनै तहको सरकारको भूमिका हुनुपर्छ। आवश्यक सहयोग नहुँदा सिनियर टिम विश्वकपको यात्रामा पुग्न सकेन। पछिल्लो समयमा आएर खेल र खेलाडीका लागि सेवा सुविधा पाएपछि हामी जुनियर टिमले विश्वकपको यात्रामा डोर्याउन सफल भएका छौं। आशा गरौं आगामी दिनमा अझै राम्रो हुन्छ।
महिला क्रिकेट टिममा पनि व्यवस्थापन पक्षमा सुधारको आवश्यक्ता छ कि ?
क्रिकेटको विकासका लागि सबै खेलाडीको मनोवल बलियो हुनुपर्छ। सबै खेलका खेलाडीका लागि आवश्यक सुविधाहरूको प्रबन्ध हुनुपर्ने हो। सरकारीस्तरबाट नेपालका हरेक खेललाई अग्रणी यात्रामा लानुपर्ने जरुरी छ। विश्व परिवेश अनुसारको सेवा सुविधाहरू नेपालमा पनि उपलब्ध गराउनुपर्छ। अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि खेलाडीले झै सरकारले पनि सशक्त भूमिका निर्वाह गर्नुपर्ने जरुरी देखिन्छ। नेपाली टिम अवसर पाए आफ्नो प्रतिभा देखाउन सक्षम छन्। हामी पक्कै पनि सक्षम छौं। तर, त्यसअनुसारका सुविधाहरू सरकारले उपलब्ध गराउनुपर्छ।
सरकारले प्रोत्साहन रकम उपलब्ध गराएको छ। यसप्रति तपाईंको धारणा ?
हाम्रो उपलब्धि र सफलतालाई नेपाल सरकारले उच्च सम्मान गरेको छ। यसबाट खेलाडीहरूको मनोवल बढाएको छ। जितको खुसी साट्दै सरकारले प्रतिखेलाडी २ लाख ५० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको छ। मधेस प्रदेश सरकारले पनि हामी ३ जना यस प्रदेशवासी खेलाडीलाई प्रोत्साहन रकम दिई सम्मान गर्ने भएको छ। प्रदेशका खेलकुदमन्त्री प्रमोद जयसवालले प्रतिखेलाडीलाई १ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने भन्नुभएको छ। हामी पनि हौसिएका छौं।
महिला क्रिकेट टिमलाई अगाडि बढाउनका लागि क्यानको भूमिका कस्तो हुनुपर्छ ?
क्यानलाई सरकारले सबै सुविधाहरू उपलब्ध गराउनुपर्यो। महोत्तरीलगायत जिल्लास्तरमा हेर्ने हो भने क्रिकेटका लागि ग्राउन्डहरू छैनन्। खेलाडीले खासै सुविधा पाएका छैनन्। सरकारबाट यसतर्फ ध्यान दिनु आवश्यक छ। हामी महिला खेलाडीहरू कसैभन्दा कमजोर छैनौं। जसको परिमाण हामीले भर्खरै विश्वलाई प्रतिस्पर्धामा चुनौतीसँग सामना गर्दै लक्ष्य पूरा गरिसकेका छौं।
खेलकुदमा महिलालाई प्रोत्साहन गर्न के–के गर्नुपर्छ ?
महिलाको प्रोत्साहनको आवश्यक्ता छ। जहाँका छोरी चेली भए पनि उनीहरू अवसर पाएपछि चुनौतीलाई सहज रूपमा स्वीकार गर्न तयार हुन्छन्। उनीहरूले सफलता हासिल गरेका अनेकौं उदारहरण छन्।
हरेक सफलताको पछाडि कसैको हात हुन्छ। तपाईंलाई यो स्थानसम्म पुग्न कसको भूमिका बढी छ ?
पहिलो मेरो बाबाको भूमिका छ। उहाँकै सपना पूरा गर्न म यस यात्रामा लम्किएको थिए। । उनले मलाई हरेक किसिमले सपोर्ट गर्नुहुन्छ। दोस्रो मेरो घरपरिवारको। जुन हरेक परिस्थितिमा मेरो साथमा रहन्छ। अनि तेस्रो मेरा शुभेच्छुकहरू। जो मेरो सफलतामा अहिले खुसी हुनुहुन्छ। म चाहन्छु यहाँहरूको साथ र सहयोग मलाई हरपल भइरहोस््।
तपाईं क्रिकेटमा कुन खेलाडीको प्रशंसक हो ?
म भारतीय क्रिकेटर टेस्ट कप्तान रोहित शर्माको प्रशंसक हुँ। मलाई उहाँको खेल अति नै राम्रो लाग्छ। फुर्सदको बेला उहाँका सबै खेल हेर्छु। उहाँकै खेल हेरेर म ठूलो भएको हुँ। मैले आईसीसी यू–१९ विश्वकप एसिया छनोटको उपाधि जितेपछि सेलिब्रेसनको क्रममा देखाएको शैली पनि उहाँकै हो। ट्रफी बोकेर टिम अगाडि गएर सेलिब्रेसन गर्ने उहाँको शैली मैले पछ्याएकी हुँ। भारतले जुनमा टान्टी–२० विश्वकप जित्दा रोहितले ट्रफी उठाएपछि यस्तो शैली अपनाउनु भएको थियो। मैले पनि उहाँकै ‘कपी’ गरेँ।
साधारण परिवारकी पूजा, कसरी सफल क्रिकेटर भइन् ?
म भारतको राजधानी दिल्लीमा हुर्केकी हुँ। मेरो बाल्यकाल त्यहीँ नै बित्यो। मेरो बुबाले त्यहाँ मजदुरी गरेर मलाई हुर्काउनुभयो। त्यहाँ प्रारम्भिक चरणको पढाइसँगै क्रिकेटको प्रशिक्षण लिएँ। मलाई अन्य खेलभन्दा क्रिकेटमा औधी रुचि थियो। मेरो बाबा पनि पहिले पहिले क्रिकेटका खेलाडी हुनुहुन्थ्यो। अपसोच, उहाँले घरायसी बोझका कारण यस यात्रालाई चाहेर पनि अघि बढाउन सक्नु भएन। उहाँका अधुरा सपना पूरा गर्नका लागि हरेक परिस्थितीलाई सामना गर्दै म यहाँसम्म आएँ। कोभिड–१९ पछि म हल्का मोटाएकी रहेछ । बुवाले यसबारेमा मलाई सचेत गराउनुभयो। भाइलाई क्रिकेट खेल्न एकेडेमी पु¥याउँदा एक दिन सो एकेडेमीका प्रशिक्षकले मलाई पनि प्रशिक्षणमा आउनु भन्नु भएछ। एकेडेमीमा राखेर क्रिकेट सिकाउने बुबाको आम्दानीले भ्याउँदैन भनेर मैले जवाफ दिएँ। त्यसपछि प्रशिक्षकले मलाई निःशुल्क प्रशिक्षणको व्यवस्था गराइदिनुभयो। त्यसपछि निडर स्वभावकी पूजाको क्रिकेटमा जन्म भयो।
अनि दिल्लीबाट नेपालमा क्रिकेट टिमको यात्रा कसरी जु¥यो ?
मेरो भाइ कृष्णकुमार महतोले दुई वर्षअघि महोत्तरीबाट यू–१५ क्रिकेटको जिल्ला छनोट खेले। त्यस बेला उनी ८ वर्षका मात्रै थिए। पहिलो खेलमै प्लेयर अफ द म्याच बने। तर, उनको उमेर १५ वर्ष उमेर समूहसँग खेल्ने भइसकेको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहले प्लेयर अफ द म्याचको अवार्ड दिएपछि भाइलाई ‘तिम्रो उमेर छ, यू–१५ मा खेल्ने’ भनेर सम्झाइबुझाइ गरे। त्यस बेला भाइले मेरा तीनमध्ये दुई दिदी पनि क्रिकेट खेल्छन् भनेर उपाध्यक्ष सिंहसँग कुरा गरेछन्। सिंहको फोन नम्बर लिएर भाइ दिल्ली फर्किए। दिल्ली पुगेर भाइले हामीहरूले क्रिकेट खेलेको भिडियो उपाध्यक्ष सिहंलाई पठाए। उपाध्यक्ष सिंह हाम्रो खेल देखेर निकै प्रभावित हुनुभयो। उहाँले क्यान र छनोट समितिमा मलाई र मेरी बहिनी आरतीलाई नेपालमा बोलाउने निर्णय गराउनुभयो। त्यसपछि म महोत्तरी आएँ। जिल्लास्तरीय, प्रदेशस्तरीय, राष्ट्रियस्तर हुँदै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि टिममा छनौट भएँ। राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेर एसिया क्वालिफायर खेल्न सफल भएँ। त्यसपछि मलेसिया र हङकङमा भएको यु–१९ सिरिज खेले। उक्त खेलमा मैले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रसंशाको पात्र बने।
यस क्षेत्रमा आउने चाहने बहिनीहरूलाई के भन्न चाहनुहुन्छ ?
म एक मधेसी समुदायकी छोरी। त्यसमा पनि एउटा गरिब घरपरिवारकी सदस्य हुँ। दुनियाँको कुरा सुनेको भएँ, म जहाँको त्यही नै हुन्थे। तर, मेरो बाबा र घरपरिवारले नराम्रा कुरा छोडेर मलाई अघि बढाउनुभयो। यसक्षेत्रका छोरी÷चेली र अभिभावकलाई संघर्षदेखि नडराइकन अगाडि बढ्न आग्रह गर्दछु। अभिभावकले पनि सन्तानको इच्छा पूर्ति गर्नका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्छ। त्यस्तै छोरी बहिनीहरूले पनि कर्तव्य निष्ठा भई परिवारको सपना पूरा गर्नका लागि तत्परता देखाउनुपर्छ।