राजमार्ग सुरक्षामा विलम्ब नहोस्

राजमार्ग सुरक्षामा विलम्ब नहोस्
सुन्नुहोस्

राजमार्गहरू सुरक्षित बनाउन र दुर्घटना रोक्न अब सरकारले कुनै विलम्ब गर्नु हुँदैन ।

संघीय राजधानीसँग पूर्वी तराई जोड्ने छोटो दूरीको सडक हो, बीपी राजमार्ग । अहिले बाढी र पहिरोले क्षतवक्षत बनाएको छ । जापान सरकारको सहयोगमा बनेको यो सडक पर्यटकीय क्षेत्रकै रूपमा परिचित छ ।

मजबुद सडकका रूपमा कहलिएको राजमार्ग अहिले भने पहिरो र बाढीबाट तहसनहस छ । प्राकृतिक विपत्ति रोक्न सक्ने विषय होइन, तर मानवीय क्रियाकलापले जोखिम निम्त्याउँदा क्षति बढ्ता भइरहेको छ । यो राजमार्ग भत्किनुमा पनि राज्यकै कमजोरी छ । जुन स्पष्ट छ, गाउँगाउँमा विकासका नाममा मनपरी सडक खनिए । जसको प्रमुख इन्जिनियर नै डोजर चालक बने अनि सरकार मूकदर्शक । गाउँगाउँमा यसरी भत्काएको पहाडले नदीमा बाढी आयो र पहिरो गयो । जसले राजमार्गहरू क्षतवक्षत बने, सवारीसाधन पुरिए ।

साना सडकको विकासमा भएको असावधानीले अर्बौंका योजनाहरूमा क्षति पुगेको छ । कांग्रेस नेता बीपी कोइरालाले देखेको सपना जापानको आर्थिक सहयोगमा पूरा भएको थियो । यो राजमार्ग देशको उत्कृष्ट राजमार्गको सूचीमा छ । जुन धुलिखेल–सिन्धुली–बर्दिबास खण्डमा पर्छ । यो खण्डको लम्बाइ १ सय ६० किलोमिटर छ । जापान सरकारले २६ अर्ब जापानी येनको लागत र प्राविधिक सहयोगमा सडक निर्माण गरेको थियो । जापानले बीपी राजमार्ग सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मा हस्तान्तरण गरेको थियो । २०७२ सालको भूकम्पले भत्काइदिँदा जापानले नै मर्मत गरेको थियो । बाढीले बगाएको राजमार्गको पुनर्निर्माण जापान सरकारले गरिदिन्छ कि नेपाल सरकार आफैंले गर्छ ? यसको टुंगो छैन ।

नेपालथोकदेखि चौकीडाँडासम्मको साढे ८ किलोमिटर बाटो पूर्णरूपमा बाढीले बगाएको छ । साढे ३ किलोमिटर बाटोमा ठाउँठाउँमा क्षति पुगेको छ । कुल १२ किलोमिटर बाढीले बिगारेको हो । राजमार्ग बनाउन कम्तीमा ७ अर्ब लाग्छ । जसका लागि अहिले डीपीआर बनाउन सर्भे भइरहेको छ । बाटो बनाइदिन जापान सरकारसँग पनि छलफल चलिरहेको छ । दुई लेनको राजमार्ग बनाउने तयारी सरकारले गरेको छ । यसलाई छिट्टै प्रक्रियामा लैजानुपर्छ ।

दिनानुदिन राजमार्गहरू असुरक्षित बनेका छन् । दुर्घटनाबाट कैयौंको ज्यान गइरहेको छ । बीपी राजमार्गमा भएको क्षतिले मानवीय जीविकालाई ठूलो प्रभाव पारेको छ । सवारीसाधनमा क्षति भइरहेको छ । व्यापार व्यवसाय ठप्प पारेको छ । बीपी राजमार्गमात्रै होइन, बुटवल नारायणगढ सडकको अवस्थाले पनि कैयौं क्षति निम्त्याएको छ । यात्रुको गन्तव्यमा पुग्ने ठेगान छैन । ठेकेदारहरूले काम नगर्दा पनि जिम्मेवार निकायहरूले समयमै कारबाही गर्न सकिरहेका छैनन् । निर्माण व्यवसायीको मनोमानी झन् बढ्दो छ । बीपी राजमार्गको निर्माणमा पनि ठेकेदारले ढिलाइ गर्ने वातावरण बन्नु हुँदैन । समयमै सरकारले ध्यान दिएर काम गर्नपर्छ ।

राजमार्गबाट पहुँचमार्ग विकास गर्दासमेत वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । वातावरणीय प्रभाव मूल्यांकनले मात्रै पूर्वाधारलाई दिगोपन गराउँछ भने त्यसले लाभ सिर्जना गर्छ । राजमार्गहरू सुरक्षित बनाउन र दुर्घटना रोक्न अब सरकारले कुनै विलम्ब गर्नु हुँदैन । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.