जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा
जुम्ला : जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन्।
साक्षरताका १२ सूचकमध्ये अधिकांश सूचकहरू पूरा गरेपछि यहाँका सबै स्थानीय तहलाई साक्षर घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताउ। गत भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो।
जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन्।
कनका सुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिञ्जामा ९६ दशमलव पाँच, तातोपानीमा ९५ दशमलव ७७, गुठिचौरमा ९५ दशमलव ७३, हिमामा ९५ दशमलव ७२ र पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका स्थानीय तहको शिक्षा शाखाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
साक्षरताका १२ सूचकमध्ये छ सूचक पूरा गर्ने पालिकालाई साक्षर पालिका घोषणा गर्ने प्रावधान रहेको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताए। जिल्लाका ६० वटा वडाका बस्तीमा साक्षर संख्याको खोजी गरिएको थियो।