पन्चैबाजा बजाउँदै महिला, आम्दानी गर्दै

पन्चैबाजा बजाउँदै महिला, आम्दानी गर्दै

प्यूठान : सधैं घाँस दाउरा र खेती किसानीमा व्यस्त हुने मल्लरानी गाउँपालिका–२ की दुर्गा राना हिजोआज वडा कार्यालय धाउँछिन्। सरकारी कामकाजको लागि भने होइन। उनी सीप सिक्न वडा कार्यालय पुग्ने गरेकी हुन्।

उनीसँगै वडाका २६ महिलाले पछिल्लो पाँच दिनदेखि पन्चैबाजा बजाउने तालिम लिँदैछन्। नेपाली कला संस्कृति झल्कने पन्चैबाजाको संरक्षणसँगै आयआर्जनका लागि वडा कार्यालयले महिला सशक्तीकरणअन्तर्गत पन्चैबाजा बजाउने तालिम सञ्चालन गरेको हो। ‘संस्कृतिको संरक्षण पनि हुने’, वडाध्यक्ष लेखबहादुर थापाले भने, ‘महिलाको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं।’ महिला उत्साहसहित तालिममा सहभागी हुने गरेको उनले बताए।

पन्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोकली र सहनाई पर्छ। प्यूठानका महिलाले पन्चैबाजा बजाएर कला, संस्कृति जगेर्नासहित आयआर्जन गर्दै आएका छन्। मातृभूमि टोल विकास संस्था प्यूठान नगरपालिका–२ ले विभिन्न निकायको सहयोगमा महिलाका लागि पन्चैबाजा बजाउने तालिम दिएपछि अहिले उनीहरू विभिन्न मेला पर्वमा बाजा बजाएर आम्दानी गर्न थालेका हुन्।

घरेलु तथा साना उद्योग कार्यालय र वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन तथा बाजा खरिद गरेको संस्थाका अध्यक्ष ताराबहादुर केसीले बताए। विवाह, मेला, पूजाआजा, देवाली पूजा, उत्सवहरूमा पन्चैबाजाको माग हुने भएपछि आयआर्जनसमेत हुन थालेको हो। पन्चैबाजामा थप बाजाहरू थपेर नौमती बाजाको सेट बन्दछ। २ पुरुषसहित ९ जनाको महिला टोलीले तीन वर्षदेखि नौमती बाजा बजाउँदै आएका छन्। ‘नरसिंहा र सहनाई पुरुषले बजाउनुहुन्छ’, अध्यक्ष केसीले भने, ‘बाँकी सबै महिला हुनुहुन्छ।’

कार्यक्रमको समयावधि हेरेर १० हजारदेखि ३० हजार रुपैयाँसम्म सेवा शुल्क लिने गरेका छन्। प्यूठान नगरपालिकाले सबै सदस्यहरूका लागि एकै खालको पोसाकको व्यवस्था गरेकोले थप उत्साह बढाएको समूहकी संयोजक सुकमाया विकले बताइन्। समूहसँग अहिले दुई सेट नौमती बाजा छन्। माग आएमा कुनै कन्जुस्याइँ नगरी सहभागी हुने गरेको संयोजक विकले बताइन्।

गत साउन महिनादेखि समूहले भजन टोलीसमेत तयार गरेको छ। मेलाहरू, मन्दिर उद्घाटन कार्यक्रम, विभिन्न पूजाहरूमा भजन टोली सहभागी हुँदै आएको समूहले जनाएको छ। प्यूठान नगरपालिका–५ जुम्रिकाडाको एक महिला समूहले पनि गाउँमा पन्चैबाजा बजाएर आम्दानी गर्ने गरेका छन्। दिनगन्ती एक हजार पारिश्रमिक लिएर सेवा दिने गरेको स्थानीय पार्वती दमाईले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.