भद्रगोल सडक विस्तार, दाउन्नेको बेहाल
रमेश बस्ताकोटी/नवलपुर : बुटवल–नारायणगढ यात्रा गर्ने जो कोहीले खाना खानका लागि रोज्ने गर्थे, दाउन्ने। लोकल कुखुराको मासुसँगै पहाडका स्वादिला मिष्ठान्नका लागि दाउन्ने प्रख्यात थियो। तर, बुटवल–नारायणगढ सडक विस्तारमा भएको हेलचेक्र्याइँले दाउन्नेको परिचय मेटिँदैछ।
धूलो र धुवाँको मुस्लोले यहाँ खाना/खाजा खान कुनै पनि गाडी रोकिँदैनन्। त्यसैकारण, यहाँका व्यापारी विस्थापित भइरहेका छन्। लामो समयदेखि दाउन्नेमा होटल व्यवसाय गर्दै आएका विष्णु गुरुङले बाटो निर्माणमा भएको ढिलाइले गर्दा अहिले दाउन्नेको व्यापार चौपट भएको गुनासो गरे। उनले यहाँको व्यापार दुई तिहाइले घटेको बताए।
‘जताततै बाटो भत्काइएको छ, बन्ने कहिले हो ठेगान छैन, यसले गर्दा विगत तीन/चार वर्षयता व्यापार चौपट भएको छ’, उनले भने। व्यापार नहुँदा आफूहरू विस्थापित हुने अवस्थामा पुगेको बताए। ‘पहिले दैनिक ७० देखि ८० हजार व्यापार हुन्थ्यो, अहिले मुस्किलले १०/१५ हजार हुन पनि गाह्रो छ’, उनले भने, ‘केही साथीहरू व्यापार नभएपछि वैकल्पिक उपायको खोजीमा हुनुहुन्छ, केही विस्थापित हुनुभयो, यस्तै अवस्था रहिरहे राजमार्गका व्यवसायीहरू अब धेरै दिन टिक्ने अवस्था छैन।’
सडक विस्तारका क्रममा गरिएको लापरबाहीका कारण पहिरोले होटल नै लगेपछि विस्थापित भए, व्यापारी बुद्ध गुरुङ। उनले भने, ‘नाला पुरेर पानीको निकास नदिइकन विस्तार गर्न खोज्दा मेरोसहित ६ वटा होटल पहिरोले लग्यो, अहिले विस्थापित भएर अन्य वैकल्पिक पेसा गरेर बसेका छौं।’ उनले पटकपटक सम्बन्धित निकायमा गएर हारगुहार गर्दा पनि कसैले नसुनेपछि विस्थापित नै हुनु परेको बताए। गुरुङसहित दाउन्नेका ६ वटा होटलहरू विस्थापित भएका हुन्।
होटल व्यवसायी सुशील टण्डनले बाटो फराकिलो होला र अझ व्यवसाय राम्रो होला भन्ने आसमा लामो समय बसे पनि यसमा ढिलाइ हुँदा निकै मर्कामा परेको बताए। उनले बाटो विस्तार हुनुपर्छ भनेर सक्दो सहयोग गरेको भए पनि कहिलेसम्म बनिसक्छ भन्ने टुंगो नलाग्दा पेसाबाट विस्थापित हुनपर्ने अवस्था आएको बताए।
‘बाटो विस्तार हुनु राम्रो कुरा हो भनेर हामी खुसी भयौं, तर वर्षौं भइसक्दा पनि बाटो अलपत्र छ, कहिले बन्ने हो कसैले भन्न सक्दैन। यस्तो अवस्थामा अब व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ’, टण्डनले भने। बुटवल—नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा राजमार्गमा आश्रित नवलपुरका होटल व्यवसायी विस्थापित हुन थालेका छन्। ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको म्याद पटकपटक थपिए पनि बाटो बन्न सकेको छैन। त्यसैकारण, व्यवसायी विस्थापित हुन थालेको होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष रानाले बताए।
‘धूलो र सडकको भद्रगोल अवस्थाले गर्दा नवलपुर क्षेत्रमा कुनै पनि सवारी रोकिँदैनन, रानाले भने, त्यसैकारण राजमार्गमा आश्रित व्यवसायीहरू विस्थापित हुन थाले।’ धूलोका कारण होटल खोल्न सक्ने अवस्था नरहेपछि सटर लगाएर बन्द गर्नु परिरहेको बताए। नवलपुर जिल्लामा गैंडाकोटदेखि दाउन्नेसम्म ६९ किमि राजमार्ग पर्छ। यो राजमार्गसँग आश्रित भएर सयौं होटल सञ्चालनमा छन्। ‘जताततै बाटो भत्काइएको छ, बन्ने कहिले हो कुनै ठेगान छैन। यसैकारण ६० देखि ७० प्रतिशत व्यापारमा कमी आएको छ’, अध्यक्ष रानाले भने। उनले व्यवसायीहरूको गुनासो लिएर सडक निर्माण कम्पनी, स्थानीय प्रशासनलगायत सम्बन्धित ठाउँमा पटकपटक गए पनि सुनुवाइ नभएको बताए।
होटल व्यवसायी संघका अध्यक्ष रानाले जिल्लाका प्रमुख स्थानहरू दाउन्ने, दुम्कीबास, अरुणखोला, कावासोती, दलदले, गैंडाकोटलगायतका स्थानका होटल व्यवसायीहरू विस्थापित हुने संघारमा रहेको बताए। उनले भने, ‘भाडा तिर्न र कर्मचारी पाल्ने अवस्थै छैन। यसले गर्दा अरू व्यवसायको विकल्प खोज्नुपर्ने अवस्था छ।’ उनले तत्काल बाटो विस्तारमा प्रगति नहुने हो भने अधिकांश व्यवसायीहरू विस्थापित हुने बताए।
२०७५ चैत ८ गते नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको काम अगाडि बढेको भए पनि ६ वर्ष पूरा हुन लाग्दासमेत काममा ५४ प्रतिशत पनि प्रगति भएको छैन। साढे तीन वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि म्याद थपेर काम हुँदै आएको छ। पछिल्लो समय गत साउनमा एक वर्ष म्याद थपेको भए पनि ठेकेदार कम्पनीले सडकमा काम अत्यन्तै न्यून मात्रामा गरेको देखिन्छ। सरकारले यही मंसिर मसान्तसम्म काममा प्रगति नभए ठेक्का तोड्ने चेतावनी यसअघि नै दिएको थियो।