सुख त्यो कहाँ छ ?

सुख त्यो कहाँ छ ?

हाम्रो शास्त्रमा काम, क्रोध, लोभ, मोह र ईष्या मनुष्यका पाँच शत्रु हुन् भन्ने लेखिएको छ। र सुखी हुनका लागि यी पाँचबाट माथि उठ्न आवश्यक छ भनेर उल्लेख गरेको छ। आज बिहान हिँड्दै थिएँ, अनायास यो सोच मनमा आयो। सोच्दै गएँ, यी पाँच दुर्गुणबाट कसरी माथि उठ्ने ? उत्तर आयो, मनलाई संयमित गरेर। मन संयमित कसरी हुन्छ त ? इच्छाभन्दा माथि उठेर। प्रश्न उठ्छ, हामी इच्छाभन्दा माथि कसरी उठ्ने ? उत्तर आयो, इच्छाबाट माथि उठ्न, पहिला इच्छाको स्रोत नै पहिचान गर्नुपर्‍यो।

खोज्दै, चिन्तन गर्दै गएँ, हामीमा इच्छाको जागरण कहाँबाट हुन्छ ? मनले उत्तर दियो, संकल्प विकल्पबाट। संकल्प विकल्प भनेको के हो ? निर्णयात्मक बुद्धि। शास्त्रले इच्छाको स्रोत चित्त भन्छ अर्थात् हामीमा भएको संस्कार अनि वासना हो। अर्को कोणबाट विश्लेषण गर्दा इच्छा ज्ञानेन्द्रिय र कर्मेन्द्रियको संगमबाट पनि प्रेरित हुन्छ भन्न सकिन्छ। यस अर्थमा इच्छातित हुनको लागी चित्तवृत्ती निरोध र इन्द्रियहरूको निग्रह हुन आवश्यक छ। चिन्तन गर्दै गएँ, के इन्द्रियको दमनले इच्छा मर्छ ? सोचेँ इन्द्रियहरूको दमन गरेर मात्र पैदा नहुने होइन। इन्द्रियको पछाडि हरेक इन्द्रियको स्वभावअनुसारको शक्ति छ जसले इन्द्रियहरूलाई परिचालित गर्छ। यहाँ स्वाद हराउन जिब्रोलाई काटेर फाल्ने होइन, काम इच्छालाई हटाउन जननेन्द्रिय काटेर हुँदैन अर्को शब्दमा यी इन्द्रियहरूलाई समन गर्नु सक्नुपर्छ। अर्थात् मनलाई विषयले प्रभाव पार्न नसक्ने परिस्थितिमा पुग्नुपर्छ। 

भनेपछि के त ? इन्द्रियलाई मनले परिचालित गर्छ। मनमा इच्छा उब्जिएपछि मात्र जिब्रोले स्वाद लिन्छ। कुनै संगीत कानले सुनिरहेको छ तर मन अर्कैतिर छ भने कानले सुन्दैन। इच्छातित हुन इन्द्रिय निग्रहले मात्र हुँदैन मनलाई नै संयमित गर्न पर्‍यो। मन ! मनलाई कसरी नियन्त्रणमा राख्ने। मन र इन्द्रिय एकआपसमा यसरी गाँसिएका छन् कि इन्द्रियले विषयसँग संसर्ग रगेपछि मन त्यसै पग्लिन्छ। मन र इन्द्रियको बीचमा प्राणशक्ति छ, जसले शरीरमा क्रियाशीलता जगाइरहेको छ। त्यसैले नै योगीजनहरूले मनलाई संयमित राख्न प्राणायाम, अर्थात् प्रणलाई अधीनमा राख्ने अभ्यास गर्न शास्त्रमा उल्लेख गरेका पाइन्छ। प्राण वायु अधीनमा हुँदा मन केही हदसम्म संयमित हुन्छ नै। तर मनलाई अझै इन्द्रियजन्य विषयले तानी नै रहेको हुन्छ। तब के ? मनलाई संकल्प शक्तिद्वारा बुद्धिले नियन्त्रण गर्न सक्नुपर्छ। यसो भन्दाभन्दै यहाँ यो प्रश्न उठ्छ कि मन अत्यन्त बलशाली छ, के बुद्धिले नियन्त्रण गर्न सक्छ त ? हो मनलाई बुद्धिले नियन्त्रण गर्छ सक्छ तर हर समय अधीनमा राख्न गाह्रो छ र फेरि मन हाबी हुने सम्भावना हुन्छ। किनकि बुद्धिको पनि आफ्नो सीमा छ, त्योभन्दा बाहिर जान सक्दैन। 

अब के त ? अब आयो चित्त ! चित्त हामीमा भएको जन्म जन्मान्तरको वासना, संस्कार आदिको सँगालो हो। यसको र मनको तादात्म्य अति नजिकको छ। यसले हाम्रो जीवनमा ठूलै प्रभाव परिरहेको हुन्छ। नत्र भने किन हामी बुद्धिले विषय तर्फ नजाऊ भन्दाभन्दै पनि मनको बहावसँगै बगी रहेका हुन्छौं ? भने पछि चित्त पनि समाधान त होइन रहेछ। अब के त ? मन, बुद्धि र चित्त। यी तिनैको श्रोत ‘म’ हो। ‘म’ भनेको अहम् भाव हो। यो भावबाट नै म संसारमा पैदा भएको छु। त्यसो भए के म नै सर्वेसर्वा हुँ त ? सोच्दै गएँ हैन हैन, ‘म’ लाई चलाउने त अर्कै तत्त्व छ। ‘म’ पनि त जड हो। किनकि यसलाई पनि हेर्न सकिन्छ र यो मृत्युपछि विनाश हुन्छ। यो केबाट परिचालित छ त भन्दा, मायाबाट। मायाबाट नै यो भौतिक जगत् को सृष्टि भएको छ र यही माया नै व्यक्तिव्यक्तिमा अविद्याको रूपमा रहेको छ। अविद्या के हो तभन्दा यो भौतिक जगत्लाई यथार्थ हो भनेर लिनु। तर माया पनि त जड नै त हो। होइन भने हामी सबै ज्ञानी हुनुपर्ने। मायाको पछाडि कुनै न कुनै ऊर्जा हुनुपर्छ जसले यो जड पदार्थहरूलाई सञ्चालित गरिरहेको छ। त्यो परम तत्त्व के हो जसबाट माया सञ्चालित छ ? तसर्थ त्यो परम तत्त्वमा पुग्न ‘म’ मा भएको अविद्याको पर्दालाई चिन्तनको शस्त्रद्वारा चिर्नु पर्छ। अविद्यालाई कसरी भेदन गर्ने त भन्दा एक मात्र साधन चिन्तन हो।

ऋग्वेदले ‘प्रज्ञानम् ब्रह्म’ भनेको छ। भने पछि चिन्तन नै परम तत्त्व जान्नको लागि एक मात्र साधन र साध्य पनि हो। तर मायालाई चिरेर य अवस्थामा पुग्न परमात्माको अनुग्रह आवश्यक हुन्छ। यसको लागि निष्ठावान् गुरुद्वारा शिक्षादीक्षा आवश्यक छ। चिन्तनलाई पनि चिरेर अनुभूतिको त्यो खुडकलोमा उभिनु भनेको नै तत्त्वबोधको स्थिति हो र ज्ञानको परम ज्योति हो। तसर्थ, चिन्तन नै यो विश्व ब्रह्माण्डको स्रष्टा, सृष्टि र सञ्चालक पनि हो। यो विश्व ब्रह्माण्ड परम ज्ञानको भण्डार हो जुन कुराले हामी विभूषित छौं। हो यहाँ प्रश्न उठ्छ, कसरी चिन्तनमा डुब्ने त ? गहन चिन्तनको लागि वैराग्य जरुरी छ। वैराग्य भएन भने मनले फेरि पनि विषय जगत्मा फसाउँछ र चिन्तनमा अवरोध ल्याउँछ। वैराग्य चिन्तनको लागि आवश्यक संयम जगाउने माध्यम हो। इन्द्रिय र मनलाई दमन गरेर मात्र वैराग्य हुँदैन, वैराग्यको लागि इन्द्रिय, मन, चित्तवृत्ति र अहम् भाव सबैलाई अतिक्रमण गर्नु जरुरी छ। जब हामीमा तीव्र वैराग्य जाग्दछ, तब मात्र चिन्तनको पराकाष्ठा अर्थात् स्वरूपको ज्ञान हुन्छ। तब मात्र पाँच शत्रुको क्षय हुन्छ र मनुष्य परा आनन्दको अनुभूति गर्दछ। हो मनुष्यले इच्छा पूर्तिमा र विषय भोगमा पनि आनन्द महसुस गरेको हुन्छ, तर त्यो आनन्द विषयबाट उत्पन्न भएको नभएर आफूमा रहेको नैसर्गिक आनन्दको झलक हो भन्ने बुझ्नु पर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.