सिद्धार्थनगरमा राजस्व भुक्तानी अब क्यूआरबाट

भैरहवा : सिद्धार्थनगर नगरपालिकाको कार्यालयमा क्यूआर कोडको माध्यमले राजस्व भुक्तानी गर्न सकिने भएको छ। राजस्व संकलनलाई ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरूप कार्यालयले क्यूआर कोड मार्फत राजस्वको भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो।
कार्यालयले जारी गरेको सूचना अनुसार नगरापलिका कार्यालयको अन्तर्गत राजस्व प्रशासन शाखा, घर नक्सा शाखा र वडा कार्यालयहरूमा बुझाउनु पर्ने कर, शुल्क तथा दस्तुहरू क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ।
‘प्रविधिको युगमा सेवाग्राहीहरू समय खर्चिदै कार्यालयमा आएर राजस्व बुझाउनु त्यति उपयुक्त होइन’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने, ‘जसकारण यसै वर्षदेखि राजस्व संकलन ‘फेसलेस’ र ‘क्यासलेस’ बनाउने नीति अनुरूप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको हो।’
उनले नगरपालिका कार्यालयले नगरवासीको हितमा राम्रो योजनाहरू संचालन गरिरहेको र आगामी दिनहरूमा पनि गर्दै लैजाने बताए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगद प्रवाहलाई सरल मितव्यापी, पारदर्शी तथा प्रभावकारी बनाएर वित्तीय जोखिम न्यूनीकरण गर्नका लागि र नगरपालिकाको नीति अनुरूप क्यूआर कोड मार्फत राजस्व भुक्तानीको सुरुवात गरिएको बताए।
नगरपालिकाको कार्यालय र वडा कार्यालयमा रकम भुक्तानी गर्दा भुक्तानी गर्नुपर्नेमा रकम अनुसार प्राप्त हुने छुट्टाछुट्टै कारोबार संकेत नम्बरको क्यूआर कोडमा सोझै रकम भुक्तानी गर्नका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले आग्रह गरेको छ।
आफ्नो कर्तव्य दायित्व बिर्सिदै नगरपालिकाको कार्यालयसँग विकासका योजनाहरू खोज्ने अधिकांश नगरवासीहरू अझै पनि करको दायरामा आएर कर बुझाउन चाहँदैनन्। जुन आन्तरिक राजस्व कार्यालयमा भैरहवामा राजस्व बुझाउने नगरवासीको तथ्यांकले समेत पुष्टि हुन्छ। करको दायरामा आएर कर बुझाउनका लागि नगरपालिकाको कार्यालयले समय समयमा नगरपालिका क्षेत्रमा घरदैलो गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
