इटहरीको जागृति झापा कपको सेमिफाइनलमा
झापा : इटहरीको राष्ट्रिय जागृति क्लब बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै जागृति अन्तिम चारमा प्रवेश गरेको हो।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो। जिटिएका आशिष् देवान र प्रितम राई गोल गरेकोमा अङ्गद थापा मगर र भाइचुङ राईको प्रहार जागृतिका गोलरक्षक नीरज चौधरीले बचाउ गरे।
यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए। डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे। खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो। त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो।
खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरीमा ल्यायो। देवाशिष राईले मैदानको मध्य भागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोल पोस्टमा प्रहार गरेका थिए। गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे।
खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो। जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिएका थिए। खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलकिपर चौधरी भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।
बुधवारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।