त्रिविको सम्पत्ति व्यापक दुरुपयोग
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको व्यापक दुरुपयोग भएको पाइएको छ ।त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौँ उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग भएको उल्लेख गरेको छ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रतिवेदनमा २०१३ साल नैकाप, ढुंगे अड्डाको १२५ रोपनी अतिक्रमणमा परेको छ । यो जग्गा किनबेच पनि भइसकेको छ । सर्वोच्च अदालतले यो जग्गा त्रिविकै भएको फैसला गरेको पनि गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर–बल्खु क्षेत्रको १००० रोपनी जग्गा संकुचनमा रहेको प्रवितेदनमा उल्लेख छ । समितिले ललितपुरको लुभुमा रहेको ३७५ रोपनी खोजविन पहिचान गरेको छ । लेब्रोटोरी स्कुलले १०९ रोपनी, बागवानी केन्द्रको २८१ पनि त्रिविको जग्गा भएको प्रतिवेदनमा छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोगका सदस्य महेन्द्र थापाले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन हस्तान्तरण गर्दै प्रतिवेदनको सारांशबारे ब्रिफिङ गरेका थिए । गत जेठ १७ गते मन्त्रिपरिषद््बाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको थियो ।
आयोगले यही मंसिर १४ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले छानबिनमा सक्षम व्यक्तिको संयोजकत्वमा आयोग गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनले औंल्याएका निष्कर्षलाई अविलम्ब कार्यान्वयन गर्दै थप अध्ययन र खोजबिन गर्नुपर्ने बताए । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरी निचोडमा पुग्नुपर्ने प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीको भनाइ थियो ।
संयोजक त्रिताल अस्वस्थ्य भएका कारण सदस्य महेन्द्र थापाले संयोजन गरी प्रतिवेदनलाई अन्तिम रूप दिएका थिए । प्रतिवेदनले २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, ढुंगेअड्डा, पाटनलगायत काठमाडौं उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरूसमेत सुझाएको छ । समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ।