सडक र पूर्वाधार विकासमा कर्णाली र लुम्बिनी सरकारको हातेमालो
वीरेन्द्रनगर : कर्णाली र लुम्बिनी प्रदेश जोड्ने पाँचवटा रणनैतिक महत्त्वका सडक छन्। तिनको निर्माणका लागि दुवै सरकारले सहकार्य गर्ने समझदारी गरेका छन्। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार विकास र समृद्धिमा सहयोग गर्ने समझदारी गरेका हुन्। कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार १९ बुँदे साझा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
कर्णाली र लुम्बिनी जोड्ने जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग निर्माण, कोहलपुर–सुर्खेत सडक विस्तार, कोहलपुर–बबई तथा बबई–छिन्चु सुरुडमार्ग सम्भाव्यता अध्ययनलाई दुवै प्रदेश सरकारले प्राथमिकतामा राख्ने सहमति भएको छ। केन्द्र सरकारसँगको समन्वयमा यी सडकको कामलाई अघि बढाउने समझदारी बनेको कर्णालीका मुख्यमन्त्री कँडेलले जानकारी दिए। उनीहरूले दुई प्रदेशबीच अन्तर–प्रदेश जोडिएका महत्त्वपूर्ण सडक पूर्वाधारहरू निर्माणका लागि विशेष प्राथमिकता दिने सहमति गरेका छन्।
यस्तै, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि दुवै प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने समझदारीसमेत भएको छ। लुम्बिनीमा आउने धार्मिक पर्यटकलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयार गर्ने र लगानीमा सहकार्य गरी दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने पनि समझदारी भएको छ।
नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई प्रदेशको अन्तरआबद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच समझदारी गरिएको मुख्यमन्त्री कँडेलले बताए। उनका अनुसार दुई प्रदेशबीच भएका समझदारी कार्यान्वयनका लागि आगामी नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकताका साथ अगाडि लैजाने गरी समझदारी भएको छ। कर्णालीको मुख्य प्रवेशद्वार नै लुम्बिनी भएको उल्लेख गर्दै मुख्मन्त्री कँडेलले संघीयताको सफल कार्यान्वयनका लागि अन्तरप्रदेश सरकारबीच समन्वय र सहकार्यको अभियान थालिएको बताए। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले कर्णाली र लुम्बिनी भूगोल, कला, संस्कृति, चालचलन, रीतिथितिका हिसाबले जोडिएका प्रदेश भएकाले यहाँको विकासका लागि दुवै प्रदेशबीच सहकार्य जरुरी रहेको बताए। उनले त्यसैको प्रतिफल शुक्रबार दुवै प्रदेशले हाम्रा विकासका साझा योजनाहरूमा सहकार्य गर्न समझदारी गरिएको बताए।
यस्ता छन् साझा प्रतिबद्धता
१. प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरूपता कायम गर्ने।
२. प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरूपता कायम गर्ने र प्राकृतिक स्रोतसाधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने।
३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सबालहरूमा स्थानीय तहसमेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने।
४. अन्तर–प्रदेश आबद्ध भएका निम्न सडक पूर्वाधार निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने।
(क) जमुनाह–हिल्सा सडक
(ख) सुर्खेत–तेलपानी–भुरीगाउँ सडक
(ग) राप्ती लोकमार्ग निर्माण
(घ) कोहलपुर–सुर्खेत सडक विस्तार
(ड) कोहलपुर–बबई तथा बबई–छिन्चु सुरुडमार्ग सम्भाव्यता अध्ययन।
५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने।
६. भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने।
७. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने।
८. दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने।
९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढंगबाट कार्य गर्ने।
१०. लागूऔषध ओसारपसार प्रभावकारी रूपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने।
११. लुम्बिनीमा आउने धार्मिक पर्यटकहरूलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्ने गरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने।
१२. दुवै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने।
१३. दुवै प्रदेशको सिमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार, खानेपानी तथा सिँचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने।
१४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुलजस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने।
१५. बर्दिया जिल्लाको बाँसगढी नगरपालिका— १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका— ५ को साँध सिमानाको विवाद प्रचलित कानुन र प्रमाणका आधारमा समाधान गर्ने। नेपाल सरकार समक्ष अनुरोध गर्ने।
१६. दुवै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रूपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने।
१७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवं लुम्बिनी प्रदेशको खाद्यान्नलगायतका कृषि उत्पादनको प्रवद्र्धन गर्दै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने।
१८. दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवद्र्धनको लागि सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।
१९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिँदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने।