३२ औं त्रिवेणी कप फुटबल : आर्मीले लियाे लाङ्दीलाई बदला
लमजुङ : गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३२ औं संस्करण लमजुङ सदरमुकाम बेसीसहरमा सुरू भएको छ । शुक्रबारदेखि शुरु भएको मोफसलको पुरानो र प्रतिष्ठितमध्ये एक ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
त्रिवेणी रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले लाङ्दीदेवी युवा क्लब, नाल्मालाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । आर्मीको जितमा ५६ औं मिनटमा अनिल बोमजनले पहिलो गोल गरे भने ६२ औं मिनटमा नरेश खत्रीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे ।
यो जितसँगै आर्मी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । गतवर्ष ३१ औं त्रिवेणी कपमा लाङ्दीदेवीले आर्मीलाई पराजित गरेको थियो । यो वर्ष लाङ्दीदेवीलाई हराउँदै आर्मीले बदला लिएको हो।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । १०:३० बजे हुने पहिलो खेलमा साविक विजेता लालीगुराँस युवा क्लब, भुजुङ र मच्छिन्द्र फुटबल क्लब काठमाडौं भिड्दै छन् भने दोस्रो खेलमा टोखा भगवती युथ क्लब, काठमाडौं र ठाडाराई अधिकारी समाज, लमजुङ बीच हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा पहिलो हुने समूहलाई नगद १२ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। गत वर्ष प्रथम पुरस्कार नगद ८ लाख रहेको थियो । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद छ लाख तथा सेमिफाइनल उपविजेता दुई समूहलाई नगद दुई–दुई लाख प्रदान गरिने क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए।
प्रतियोगितामा विभागीय टिमसहित १६ टिमको सहभागिता रहेको छ।