युद्ध सकियो, सकिएन विस्फोटको सास्ती

युद्ध सकियो, सकिएन विस्फोटको सास्ती
सुन्नुहोस्

नेपालगन्ज : बाँकेको खैरीखोलामा माओवादी जनमुक्ति सेनाले थापेको विद्युतीय धराप विस्फोटमा परी २ मंसिर २०६१ मा ८ जना सशस्त्र प्रहरीले ज्यान गुमाए। सशस्त्रका ८ थान एसएलआर र एक थान ५१ एमएम मोर्टार माओवादीले कब्जामा लिएका थिए।

देशमा सशस्त्र युद्ध सकिएको झन्डै दुई दशकपछि ११ पुस २०८० मा राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने सोही विगतको भिडन्त क्षेत्र खैरीखोलास्थित शिवशक्ति सामुदायिक वनमा पुरानो खिया लागेको बेवारिसे सकेट बम फेला पर्‍यो। बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा मध्यवर्ती क्षेत्रमा पर्ने खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ राप्ती नदीबाट झन्डै पाँच सय मिटर उत्तरमा सो सकेट बम फेला पारेर निष्क्रिय पारेको थियो।

घटनाको ठीक दुई वर्षअघि पनि ५ मंसिर २०७८ मा पनि सोही क्षेत्रको जिरोमा बेवारिसे बम फेला परेको थियो। बम फेला परेपछि स्थानीयले सशस्त्र प्रहरी बलको शमशेरगन्ज युनिटलाई खबर गरेका थिए। सो बम पनि नेपाली सेनाको नेपालगन्ज राँझास्थित इमामनगर ब्यारेकको बम डिस्फोजल टोलीले निष्क्रिय पारेको थियो।

१० वर्षे सशस्त्र युद्धमा खैरीखोला माओवादी जनमुक्ति सेना र सुरक्षाकर्मीबीच पटक–पटक भिडन्त भएको क्षेत्र हो। अहिले पटकपटक द्वन्द्वकालीन बेवारिसे बम भेटिएपछि स्थानीय त्यहाँ जान डराइरहेका छन्।

३१ भदौ २०८० मा बाँकेकै राप्तीसोनारी गाउँपालिका–८, ढकेरीबाट तीन किलोमिटर पूर्वमा पूर्व–पश्चिम राजमार्गमै बम विस्फोट भएर ठूलो भ्वाङ पर्‍यो। नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंका केन्द्रीय प्रवक्ता-सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार सो स्थानबाट चुना र तारका टुक्राहरू फेला परेका थिए। तारमा खिया लागेको थियो। अन्दाजी साँझ ६:४५ बजेतिर भएको सो विस्फोटनबाट राजमार्गको कालोपत्रेका टुक्रा ५० मिटर परसम्म खसेको भेटिएका थिए। घटनास्थलको प्रकृति विश्लेषण गर्दा राजमार्गमुनि बिछ्याइएको द्वन्द्वकालीन माइन विस्फोट भएको सहजै आकलन गर्न सकिन्छ।

सशस्त्र युद्धको बेला तत्कालीन विद्रोही माओवादीले पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही खण्डमा रुख ढालेर थुप्रै ठाउँमा सुरक्षाकर्मी लक्षित गरी विद्युतीय धराप विस्फोटन गराएको थियो। नेपाली सेनाले राजमार्गमा बिछ्याइएका थुप्रै ठाउँका माइनहरू निष्क्रिय पारेको पनि थियो।

१० वर्षे सशस्त्र युद्धमा थुप्रैपटक जनमुक्ति सेना र प्रहरीबीच भिडन्त हुँदा बम, बारुद्धले नेपालगन्जवासी आजित भए। ती विस्फोट बिर्संदै थिए। ३० कात्तिक २०७९ मा युद्धकालीन झल्को दिने गरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा जनस्वास्थ्य कार्यालयनजिकै एउटा घरमा सहर नै थर्काउने गरी प्रेसर कुकर बम विस्फोट भयो।

तत्कालीन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बिथोल्ने उद्देश्यले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बनाउँदै गरेको प्रेसर कुकर बम विस्फोट भएको थियो। नेकपाका कार्यकर्ता डिल्लीबहादुर डीसी र धर्मराज सुनार बम विस्फोटमा परी घाइते भए। कोठा तलासी लिँदा प्रहरीले दुई लिटरको अर्को एउटा प्रेसर कुकर बम फेला पारेको थियोे। त्यो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको थियो। घाइते दुवै जनाको खुट्टा अनुहार छातीमा चोट लागेको थियो। निको भएपछि प्रहरीले उनीहरूविरुद्ध बम विस्फोटको मुद्दा दायर गर्‍यो। जिल्ला अदालत बाँकेको १५ माघ २०७९ को आदेशमा दुवै जना जनही ८०-८० हजार रुपैयाँ धरौटीमा रिहा भए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अधिकारीका अनुसार २०७९ सालयता मात्र देशभर झन्डै एक दर्जन विस्फोटनका घटना भएका छन्। तीमध्ये अधिकांश युद्धकालीन हुन्। जस्तो, बाराको निजगढ, कालीकोटको खाँडाचक्र, कास्की पोखरा महानगरपालिका—३३ को ठूलढुंगास्थित झाडीमा बम विस्फोट हुँदा दुई बालक घाइते भए।

२०५२ सालमा सुरु भएको सशस्त्र युद्ध २०६२ सालमा रोकिएको थियो। ३१ जेठ २०६८ मा नेपाललाई माइनमुक्त घोषणा गरिएको थियो। माइनमुक्त देशमा बर्सेनि पटकपटक युद्धकालीन बम विस्फोेटन हुनु व्यक्तिको मृत्यु, घाइते र अपांग हुनुलाई दुःखद् घटना ठान्छिन्, बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालकी पूर्णशोभा चित्रकार। ‘सरकारले सम्पूर्ण युद्धकालीन माइन क्लियर गरिसकेको भनिएको छ। माओवादीको पनि उस्तै जवाफ छ। नयाँ नयाँ समूह विस्फोटक पदार्थको घटनामा पक्राउ परिहेका छन्’, उनी भन्छिन्, ‘अहिले पनि युद्धकालीन विस्फोटक पदार्थ पड्किएर व्यक्तिको जान जाने र अंगभंग हुने क्रम रोकिएको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.