चिकित्साशास्त्र पढाइको विस्तार

चिकित्साशास्त्र पढाइको विस्तार
सुन्नुहोस्

आशा गरौं यहाँ चिकित्साशास्त्रको पढाइको विस्तारले मधेसवासीको स्वास्थ्य सूचकहरूमा पनि उल्लेखनीय परिवर्तनहरू ल्याओस् ।

डाक्टरी अर्थात् चिकित्साशास्त्र पढाइको प्रवेश परीक्षामा नेपालमा बर्सेनि दसौं हजार विद्यार्थी सहभागी हुन्छन् । तीमध्ये चार हजारभन्दा बढीले न्यूनतम उत्तीर्ण अंक ल्याउँछन् । तर पनि उत्तीर्ण सबैले पढ्न पाउँदैनन् । कारण के भने नेपालमा झन्डै दुई दर्जन शिक्षण अस्पतालसहितका कलेजमा चिकित्साशास्त्रको स्नातक तह पढाइ हुन्छ । तिनले पढाउन सक्ने विद्यार्थीको क्षमताचाहिँ २१ सयको हाराहारीमा छ । जसको कोटा निर्धारण चिकित्सा शिक्षा आयोगले गर्छ ।

सुखद कुरा के भने पछिल्लो समय विद्यार्थीका लागि अवसरको दैलो अलि फराकिलो गरी उघ्रिँदै आएको छ । कोटा थपिँदै छ । यसै वर्ष पनि सरकारले काठमाडौंबाहेक पोखरा, दाङ, जनकपुरलगायत ठाउँका कलेजमा चिकित्साशास्त्रको पढाइ विस्तार ग¥यो । सबैभन्दा धेरै खुसीको कुरा त दुर्गम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रको पढाइ सुरु भइसकेको छ र यसपालि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सुरु भयो । 

मधेसमा चिकित्साशास्त्रको स्नातक अर्थात् एमबीबीएसको पढाइ सुरु हुनु भनेको मधेसका लागि त सुखद हुँदै हो, देशकै लागि उत्साहपूर्ण छ । किनभने त्यहाँ देशैभरिका विद्यार्थीले पढ्ने अवसर पाउँछन् । मधेस स्वयंले डाक्टर उत्पादन गर्छ न कि बिरामी भएर उपचारका लागि राजधानी काठमाडौं वा अन्त भौंतारिन्छ भन्ने सकारात्मक सन्देश यसले प्रवाह गरेको छ । मधेसको शिर उचो बनाएको छ । चिकित्सा शिक्षा आयोगले ५० सिट निर्धारण गरेसँगै सुरु मधेसमा यसपालिदेखि डाक्टरी पढाइ सुरु भयो । ती ५० सिटमा पनि ७५ प्रतिशत चाहिँ छात्रवृत्तिका हुन् । निजी क्षेत्रको कलेजमा यसअघि पनि मधेसमा चिकित्साशास्त्र पढाइ नभएको होइन, सरकारी सेवाको विस्तार चाहिँ महत्वपूर्ण कदमका रूपमा आएको छ । 

जहाँ पढाइ हुन्छ, त्यहाँ उपचार पनि । यसबाट मधेसवासीले थप र गुणस्तरीय स्वास्थ्य सेवाको अवसर पनि प्राप्त गर्ने विश्वास गर्न सकिन्छ । धार्मिक नगरी जनकपुरधामलाई शिक्षाको हबका रूपमा विकास गर्न पनि चिकित्साशास्त्रको पढाइले मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । मधेस प्रदेश, नेपालको सात प्रदेशहरूमध्ये एक हो, जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय चुनौतीहरूको सामना गरिरहेको छ । तसर्थ चिकित्साशास्त्रको पढाइको विस्तारलाई एउटा उपलब्धिका रूपमा लिन सकिन्छ । आशा गरौं यहाँ चिकित्साशास्त्रको पढाइको विस्तारले मधेसवासीको स्वास्थ्य सूचकहरूमा पनि उल्लेखनीय परिवर्तनहरू ल्याओस् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.