विशेष अधिवेशन बोलाउन संयुक्त पहल गर्ने विपक्षी दलहरूको निर्णय
काठमाडौं : विपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारले आलटाल गरे विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन्।बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बसेको विपक्षी दलहरुको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका हुन्।
बैठकका निर्णय जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नियमित अधिवेशन बोलाउन विपक्षी दलहरूको माग रहेको बताए। उनले भने,' नियमित अधिवेशन बोलाउनुपर्ने विपक्षी दलहरूको माग छ। नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्छौं।'
दुई तिहाईको बलमा जनताको आवाज दवाउनेसम्मको कोशीस भइरहेको बैठकको ठहर रहेको उनले बताए। त्यस्तै बैठकले दलसम्बन्धी विधेयकमा साना दलको आवाज कमजोर पार्ने षडयन्त्र भइरहेको र दुईदलीय व्यवस्थातर्फ देशलाई लैजाने कोशीस बेठिक रहेको निष्कर्ष निकालेको पनि पुनले जानकारी गराए।
प्रतिपक्षी दलको साझा धारणा बनाउन अनौपचारिक ड्राफ्ट कमिटी बनाएको उनले बताए । बैठकका विभिन्न ६ प्रतिपक्षी दलका नेताहरुको उपस्थीति रहेको थियो ।