समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने
काठमाडौं : विभिन्न दल सम्मिलित समाजवादी मोर्चाले काठमाडौं केन्द्रित कार्यक्रम गर्ने भएको छ। बुधबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको हो।
मोर्चाका तर्फबाट सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले सबै दल मिलेर उक्त कार्यक्रम गर्न लागिएको बताए। 'उक्त बैठक मोर्चामा आबद्ध दलहरूको संयुक्त आयोजनामा हुनेछ। त्यसपछि त धेरै कुराको जवाफ पनि पाउनुहुनेछ,' उनले भने।
उनले आजको बैठकमा मोर्चाको विगतका विषयमा समीक्षा भएको बताए। 'आठौं बैठकपछि मोर्चाको बैठक बस्न सकेको थिएन। आजको नवौं बैठक हो। यस अवधिको विषयवस्तुमा केन्द्रित रहेर समीक्षा भयो। अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम भयो,' उनले भने। उनले पार्टीको आन्तरिक कामहरूका कारण बैठक बस्न नसकेको बताए।
त्यस्तै यसअघि मोर्चाको प्रतिवेदन बनाउने काम भइरहेको उनले बताए। उक्त प्रतिवेदन तयार पारेर शीर्ष नेतृत्वलाई छिट्टै बुझाउने उनले बताए।