युद्धविराम सम्झौतामा इजरायल र हमासले के भने?
गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबीच भएको सम्झौतामा दुवै पक्षबाट प्रतिक्रिया आएको छ।
हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भने, 'युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ गर्ने छैनौं। सबै पीडितहरूको रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसु हामी बिर्सने छैनौं।'
उनले इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको बताए।
यसैबीच इजरायली राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको वार्ता टोलीले 'सम्झौतालाई अन्तिम रूप दिने' प्रयासलाई समर्थन गर्ने बताएका छन्।
उनले मन्त्रिपरिषद् र सरकारलाई यसलाई स्वीकार गर्न आह्वान गरेका छन्। इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ।