लागू औषध कारोबार गर्ने दुई महिला धरानबाट पक्राउ
धरान : प्रतिबन्धित लागू औषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले सुनसरीको धरान उपमहानगरपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिका-१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
नेवारको घरमा लागू औषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको थियो। लागू औषध कारोबारमा संलग्न २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए । उनले बिकले कोठाको लोबेड माथि सुडकेशमा लुकाइराखेको प्रतिबन्धित लागू औषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल बरामद गरिएको जानकारी दिएका छन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक कोमल ठाकुरले बताएका छन् ।
सुनसरी प्रहरीले प्रतिबन्ध लागू औषध नियन्त्रणमा तदारुकताका साथ काम गर्दै आएको छ । प्रहरिको सकृयताका कारण गाजा लगायतका प्रतिबन्ध औषधि बिक्री गर्ने समूहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए।