‘अब त मेरो निर्दोष छोराको रिहाइ होला कि ?’

महेन्द्रनगर : बिहान उठ्ने बेलादेखि राति अबेरसम्म हमास र इजरायल युद्धको समाचार हेर्दै दैनिकी बित्ने गरेको १५ महिना भयो। जबजब हमास र इजरायलबीचको युद्धविराम हुने खबर आउँथ्यो विपिनको आमा–बुवाको मलिन अनुहारमा ‘खुसी’ का रेखा पर्थे। तर, त्यो खुसी धेरै टिक्दैन फेरि खबर आउँथ्यो तत्काल विपिन रिहा नहुने। यसरी आसै आसमा विपिनको प्रतीक्षामा बसेको डेढ वर्ष बितिसक्यो।
पल–पलमा विपिनको सम्झनाले उनीहरूलाई विरक्त बनाउँछ। शुक्रबार पुनः एउटा खबर आयो हमास र इजरायलबीचको युद्धविराम हुने र हमासले सबै बन्दी रिहा गर्ने। उनको परिवारमा फेरि ‘खुसी’ छायो तर त्यो खुसी धेरै टिकेन। खबर आयो पहिलो चरणमा रिहाइ हुनेको लिस्टमा विपिनको नाम छैन। पहिलो चरणमै विपिनको रिहाइ हुने आशामा बसेका विपिनका आमा–बुवा अहिले निराश छन्। एउटै कामना गरिरहेका छन् विपिनको छिटो रिहाइ होस्।
‘युद्धविराम हुने खबरले खुसी महसुस भयो। धेरै सुखी त हुन सकेकी छैन। जब मेरो छोराको मुख अगाडि देखिन्छ खुसी त त्यसपछि हुन्छु’, मलिन अनुहारमा विपिनकी आमा पद्माले भनिन्, ‘युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो तर भएन। मेरो निर्दोष छोरा १५ महिनादेखि बन्धक छ।’ उनले पहिले पनि युद्धविराम भएको सम्झिँदै विपिन रिहाइ हुने आशा नटुटेको बताइन्। ‘यसअघि पनि युद्धविराम भए छोरा रिहाइ होला भनेर हामी कुरेर बसिराखेका थियौं, अहिले पनि युद्धविराम भएको छ। अब त मेरो निर्दोष छोराको रिहाइ होला कि ?।’ पद्माले भनिन्, ‘पहिलो चरणमा त विपिनको नाम समावेश छैन भन्ने सुनेँ। हाम्रो सरकारको पहल पुगेन कि ?’
युद्धविराम भएपनि विपिनको आमा–बुवाको मनमा फेरि युद्ध हुने हो कि भन्ने पीर छ। त्यसकारण पनि पहिलो चरणमा नै विपिनको रिहाइ होस् भन्ने आशा परिवारको थियो। अहिले उनको परिवारले नेपाल सरकारको तर्फबाट पहल पुगेन कि भन्ने शंका गर्न थालेका छन्। ‘युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन’, आमा पद्माले भनिन्,‘जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो निर्दोष छोरोको सकुशल नेपाल फर्किने गरी सरकारले पहल गरिदिनुपर्यो।’
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ जना विद्यार्थी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। उनीहरू गएको एक महिना पनि नपुग्दै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो। आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो। त्यति बेलादेखि उनको अवस्था अज्ञात छ।
सानैदेखि साथीभाइ जस्तै बसेका दाइ डेढ वर्षदेखि सम्पर्कविहीन हुँदा उनकी १७ वर्षीया बहिनी पुष्पा रातदिन दाइकै सम्झना आउने गरेको बताउँछिन्। ‘१५ महिनापछि एउटा खुसीको खबर आएको छ, पिँजडाबाट बाहिर आएको जस्तो महसुस भएको छ’, बहिनी पुष्पा जोशीले भनिन्, ‘यो १५ महिनामा हाम्रो दैनिकी पूरै बिग्रिसकेको छ बिहानदेखि इजरायल–हमासको समाचार हेर्दै बसेका हुन्छौं।’
जुन दिन विपिन हमास समूहको नियन्त्रणमा परेको समाचार आयो त्यस दिनदेखि नै आफ्नो परिवार विरक्त भएको उनले सुनाइन्। युद्धविरामको खबरले दाइ विपिनको रिहाइ हुने आशा पलाएको उनको भनाइ छ। ‘रातदिन दादाको अत्यन्तै याद आउँछ, दादा नै मेरो लागि मार्गदर्शक हुनुहुन्छ’, उनले भनिन्, ‘मेरो सबै थोक भनेकै दादा नै हो। त्यो समाचार सुन्नेबित्तिकै हामी टुटिसकेका थियौं।’ उनले बल्ल १५ महिनापछि युद्धविराम भएको खुसीमा खबर आएको बताउँदै दादा आउने प्रतीक्षामा बसेको बताइन्। ‘म सरकारलाई बिन्ती गर्छु यो चान्स नगुमाएर मेरो दादालाई छिटोभन्दा छिटो रिहाइ गरी नेपाल ल्याइदिनुस्’, पुष्पाले भनिन्, ‘हाम्रो आशा भरोसा भनेकै सरकार माथि छ।’
इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा विपिनको नाम भने समावेश छैन। तर विपिनको लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकको भनाइ छ। ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्। विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ’, गृहमन्त्री लेखकले भने, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ। हामी विपिन सकुशल रिहाइ हुने आशामा छौं।’
उनले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताए। हमासले इजरायलमा गरेको आक्रमणपछि कञ्चनपुरका विपिन जोशीसहित अन्य मुलुकका २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो। यसअघिका युद्धविराममा केही बन्दी छुटे पनि नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन्।
प्रतिक्रिया दिनुहोस !
