रसुवामा १ हजार ६८६ किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने

रसुवा : पाठेघर मुखको क्यान्सरको रोकथामका लागि किशोरीहरूलाई एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप लगाउने अभियानअन्तर्गत रसुवामा १० देखि १४ वर्ष उमेर समूहका १ हजार ६८६ किशोरीहरूलाई खोप दिने भएको छ।
जनस्वास्थ्य कार्यालय प्रमुख झंकप्रसाद आचार्यका अनुसार जिल्लाका १ हजार ६८६ जना किशोरीहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए। विद्यालय,समुदाय र स्थानीय स्वास्थ्य संस्थाहरूको सहकार्यमा खोप कार्यक्रमलाई सफल बनाउन विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिएको आचार्यले बताए ।
आचार्यका अनुसार माघ २२ गतेदेखि फागुन २८ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ । यस अभियानमा विद्यालय जाने १ हजार ५ सय ७७ र विद्यालय नजाने १ सय ५ किशोरीहरूलाई खोप दिइनेछ ।
खोपको पहुँचलाई सहज बनाउन जिल्लाका पाँचवटै गाउँपालिकामा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएका छन् । साथै,खोप कार्यक्रमलाई प्रभावकारी बनाउन गोसाइकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया, र नौकुण्ड गाउँपालिकाका विभिन्न केन्द्रहरूमा खोप सेवा प्रदान गरिनेछ ।
कार्यालय रसुवाले खोप अभियान सफल बनाउन आवश्यक पूर्वतयारी पूरा गरिसकेको छ। खोप वितरणलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष तालिम र अभिमुखीकरण गराइएको छ ।
जन स्वास्थ्य कार्यालयले अभिभावक,विद्यालय र स्थानीय समुदायलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । किशोरीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यालय,स्वास्थ्य आमा समूह, शिक्षक, तथा स्थानीय तहसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !
