न ज्युँदाका जन्ती छन्, न मर्दाका मलामी

जहाँ बालबालिका देख्न शुक्रबार कुर्नुपर्छ, ‘अनि लाग्छ, गावैं उज्यालो’

जहाँ बालबालिका देख्न शुक्रबार कुर्नुपर्छ, ‘अनि लाग्छ, गावैं उज्यालो’

गोरखा : सानो दिप्लिङ र ठूलो दिप्लिङमा बालबालिका र युवा हुँदै नभएका भने होइनन्। उनीहरू कोही शिक्षाका लागि त, कोही कामका लागि गाउँभन्दा टाढा बजारमै बसेका छन्। बिदाका बेलामा आक्कलझुक्कल आउँछन् अनि हिँडिहाल्छन्।

‘बालबालिका नभएका होइनन्, छन्’, ठूलो दिप्लिङका ८१ वर्षीय टंकबहादुर गुरुङ भन्छन्, ‘शुक्रबार साँझतिर स्कुल छुटेपछि हरर् आउँछन्। घरगाउँ नै उज्यालो भए जस्तो लाग्छ। तर शनिबार बिहान खाना खाएर सबै फर्किन्छन्। गाउँ त फेरि ठण्डाराम। छोराछोरी, नातिनातिनी भन्ने त छँदैछैनन्।’ काखे बच्चासमेत लिएर छोरी बुहारीहरू बजारतिर बस्न गएको उनको भनाइ छ। ठूलो दिप्लिङ गुरुङ बस्तीले भरिएको गाउँ हो, सानो दिप्लिङ चाहिँ मगरहरूको। 

छोराछोरी पढाउन भन्दै ठूलो दिप्लिङका सबै महिला लक्ष्मीबजारमा गएको ७५ वर्षीय रूपबहादुर गुरुङ बताउँछन्। ‘मेरो चार भाइ छोराहरू सप्पै (सबै) बाहिर छन्। बुहारीहरू पनि सप्पै नातिनातिनी पढाउन लक्ष्मीबजारमा छन्’, उनी भन्छन्, ‘घरगाउँमा त हामी बूढाबूढी मात्तै (मात्रै) छम्। जुग जमाना नै त्यस्तै छ, बूढालाई केही भए बूढीले हेर्ने मात्तै हो, बूढीलाई केही भए बूढाले हेर्ने हो। छोराछोरीको पैसाको मुठाले के नाप्छ र ? चल्ती चलनै यस्तै छ।’ 

विद्यालय नभएकाले गाउँ बालबालिकाविहीन भएको उनको बुझाइ छ। ‘एउटा स्कुल थियो, त्यही पनि ढल्यो’, उनी थप्छन्, ‘नानीबाबुलाई अन्धकारमा राख्न पनि त भएन नि। पठाउनै पर्‍यो। मेरै चार भाइछोराका बुहारीहरू लक्ष्मीबजारमा बच्चा पढाउन गाका छन्। शुक्रबार हाफ छुट्टी हुन्छ। आउँछन्। आउँदा त रमाइलो लाग्छ। बूढीमाउले रमाइ–रमाइ भाततिउन पकाउँछिन्। सबै मिलेर खायो रमायो, भोलिपल्ट बिहान उठेर जान्छन्। फेरि जस्ताको तस्तै टाँ।’ जन्ती मलामीमा पनि बूढाखाडा मात्रै हुने उनको भनाइ छ। ‘जसको घरमा हेरे नि ५५, ६० कटेका बूढाबूढी मात्र छम्। ५५, ६० मुनिका मान्छे त गाउँमा फेला पार्नै सकिँदैन’, उनी भन्छन्, ‘मलामी पनि, जन्ती पनि बूढाखाडामात्रै हो।’

null

युवाजति विदेशतिर, महिलाजति बजारतिर
ठूलो दिप्लिङमा बालबालिका र युवायुवती शून्य भएको १० वर्षभन्दा धेरै भयो। गाउँका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा छन्। उनीहरू आफ्ना जहान बालबच्चा लिएर सहर गएर बस्छन्।

‘हुर्के बढे, पँखेटा लाएपछि चर्न गइहाल्छन्’, स्थानीय गौमाया गुरुङ भन्छिन्, ‘बच्चा जन्मेपछि बुहारीहरू बजारतिर डेरा लिएर सरिहाल्छन्। बच्चा जन्मिनु त बजारको भिसा लाग्नुजस्तै हो।’ अलिअलि गर्दागर्दै गाउँमा बालबालिका शून्य भएको उनी बताउँछिन्। ‘जिरै भएको १० वर्षभन्दा धेरै भयो’, उनी भन्छिन्, ‘स्कुलै खारेज भएपछि कहाँ बस्छन् त केटाकेटी। बस्न मन लागेर पनि कहाँ बस्न पाइयो र ? जमानाअनुसार पढ्नै पर्‍यो।’ गाउँमै राम्रो विद्यालय भयो भने बालबालिका गाउँमै टिक्ने उनको भनाइ छ।

वृद्धा श्रममा परिणत हुँदै गाउँबस्ती
बालबालिका र युवाहरू नभए पनि यस गाउँका कुनै पनि घरमा ताला भने लागेको छैन। ‘यत्रो घरधुरी छ। कुनै घरमा नि ताला त लागेको छैन। घरघरमा बूढाबूढी दुई—दुई जना मात्र बस्छन्’, उनी भन्छन्, ‘बालबालिका नभएको कहाँ हो र ? तर स्कुल उड्यो। कहाँ पढाउने ? अहिले त सप्पै बजारतिर छन्।’

यस भेगका बासिन्दाहरू बालबच्चा पढाउन भनेर प्रायः लक्ष्मीबजारतर्फ जाने गर्छन्। चितवन जानेको संख्या पनि धेरै नै छ। कोही काठमाडौं पनि जाने स्थानीयवासी बताउँछन्। ‘लक्ष्मीबजारमा कोही डेरा लिएर बसेका छन्, कोही घर बनाएर’, टंकबहादुर बताउँछन्।

nullविद्यालय थियो, तर छोराछोरी पढाउनै मानेनन् गाउँमा विद्यालय नभएको होइन। ऋषिकुल प्राथमिक विद्यालय थियो। तर नजिकको तीर्थ हेलाँ, गाउँको विद्यालयमा कसैले पनि बालबच्चा पढाएनन्। प्रकारान्तरमा विद्यालय बन्द भयो। अहिले गाउँले भन्छन्, ‘गाउँको विद्यालय बन्द भएकाले बालबालिका बाहिर लानुपर्‍यो।’ अनि जनप्रतिनिधि भन्छन्, ‘गाउँलेले बालबच्चा बाहिर लगेकाले विद्यालय बन्द हुन पुग्यो।’ गाउँले र जनप्रतिनिधिबीच विद्यालयबारे जुवारी चले पनि दिप्लिङमा न रह्यो विद्यालय, न रहे बालबालिका। 

ऋषिकुल प्राविको आडैमा अहिलेका वडाध्यक्ष प्रेम गुरुङको घर छ। कुनैबेला उनी सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि थिए। ‘२०७५ सालदेखि गाउँको विद्यालय सदाका लागि बन्द भयो’, गुरुङ भन्छन्, ‘फेरि पनि विद्यालय सञ्चालन गर्न सकिन्छ कि भनेर घरदैलो गर्‍यौँ, आमभेला गर्‍यौँ। छोराछोरी पठाइदिनू न भन्दै हात जोड्दा पनि कसैले पठाएनन्। मिहिनेत खेरा गयो। ईसीडीसम्म सञ्चालन गर्न सके कम्तीमा काखको बच्चा त घरमै हुन्थे।’ विद्यालय चलेमा आवश्यक सहयोग गर्न पालिका तयार रहेको उनको भनाइ छ। तर उठ्नै नसक्ने गरी विद्यालय ढलेको उनको निष्कर्ष छ।

घरसंख्या ३६, जनसंख्या ३०

सहिद लखन गाउँपालिका—१ का प्रायः सबै गाउँबस्तीको अवस्था उस्तै रहेको वडाध्यक्ष प्रेम गुरुङको भनाइ छ। ‘हाम्रो गाउँमात्र कहाँ हो र महेन्द्रशक्ति हाइस्कुल रहेको ‘पुरानो गाउँ’ हेर्न जानुस् न’, उनी भन्छन्, ‘घरसंख्याभन्दा जनसंख्या कम छ। भन्न पनि लाजमर्दो छ।’
१५ वर्ष अघिसम्म यहाँ ६५ घरधुरी थिए। अहिले कोही चितवन गए, कोही काठमाडौं। चितवन लदरीमा यहाँका २५ घरधुरी पुगेका छन्। उनीहरूले त्यहाँ बक्राङगाउँ जमाएका छन्। लक्ष्मीपुरमा १५ घरपरिवार। लक्ष्मीपुरमा पनि सबै एकै ठाउँमा आफ्नै टोल बनाएर बसेका छन्। कोही काठमाडौं, कोही विदेशका स्थायी बासिन्दा बन्न पुगेका छन्। 

‘पुरानोगाउँ’मा महेन्द्रशक्ति मावि चलिरहेको छ। कुल ६२ जना रहेको यस माविमा पुरानो गाउँका चाहिँ कत्ति पनि विद्यार्थी नरहेको प्रधानाध्यापक प्रकाश अर्यालले जानकारी दिए। यही गाउँको विद्यार्थी चाहिँ यस विद्यालयमा छैनन्।’ 

गोरखामा विद्यालय स्थापना गर्नुअघि पुरानोगाउँमा गायत्री गणेश नामका दृष्टिविहीन गुरु थिए। प्राध्यापक डा. वासुदेव त्रिपाठी, नेता तथा साहित्यकार चिरञ्जीवी वाग्लेलगायत गोरखा र यसआसपास नाम चलेका अन्य विद्वानहरू बाल्यकालमा उनको घरमै पढ्न पुग्थे। वाकसिद्धि पाएका भनेर नाम चलेका गुरु गायत्री गणेश प्रायः तपस्यारत रहन्थे। त्यसैले उनको घरमा सञ्चालित गुरुकुलको नामबाट पछि विद्यालयको नाम नै ऋषिकुल नामकरण गरिएको स्थानीयको भनाइ छ।

संस्कृति विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. शिवहरि मरहट्टाको गृहनगरसमेत रहेको यहाँका गाउँहरू अहिले निर्जन बन्दै गएका छन्। विद्यालयहरू पनि विद्यार्थीविहीन बन्दै गइरहेका प्रअ अर्यालको भनाइ छ। 

सानो दिप्लिङको पनि हालत उही हो। यहाँ जम्माजम्मी ८६ घरधुरी छन्। यहाँका घरहरूमा पनि बूढाबूढीमात्र रहेको वृद्धाश्रम जस्तो छ। बालबच्चा नभएर विद्यालयको तह घटाइएको छ। पाँच कक्षासम्म सञ्चालित यहाँ विद्यार्थीविहीन बन्दै गएपछि अहिले तीन कक्षामा झारिएको छ। त्यत्तिमा पनि विद्यार्थी संख्या जम्मा पाँच ६ जनामात्र छन्। 

पुरानो गाउँको छेवैमा रहेको पन्त गाउँ अहिले साँच्चै निर्जन बनेको छ। आठ वर्षअघिसम्म १६ घरपरिबार रहेको पन्त गाउँ अहिले पूर्ण रूपमा निर्जन रहेको हाल काठमाडौंमा व्यवसाय गरी बस्ने काशीनाथ पन्त बताउँछन्। ‘हाम्रो गाउँमा कुनैबेला १६ घरधुरी थिए, तर अहिले सबै घर खाली छन्’, पन्त भन्छन्, ‘व्यापार, व्यवसाय खोज्दै हिँड्दा कोही कतै, कोही कतै भए। सातवटा घर त भत्किसकेका छन्। अझै कति भत्किने हुन्।’

साविक बक्राङ गाविसअन्तर्गत पर्ने सहिद लखन गाउँपालिका— १ का गाउँहरू वृद्धाश्रम जस्ता छन्। गाउँ छाड्ने दर बढिरहे पनि बसाइँसराइ प्रमाणपत्र भने केहीले मात्र लगेका छन्। वडा कार्यालयबाट प्राप्त तथ्यांकअनुसार यस वडाबाट विगत पाँच वर्षमा ९८ परिवारले मात्र बसाइँसराइ प्रमाणपत्र लगेका वडासचिव कृष्ण अर्यालले जानकारी दिए।

न ज्युँदाका जन्ती छन्, न मर्दाका मलामी
सहिद लखन— १ को यो दृश्य गोरखाका आम गाउँबस्तीको प्रतिबिम्ब हो। अहिले सबैको मुखबाट गाउँ वृद्धा श्रम बन्यो भन्ने मात्र सुनिन्छ, तर अवस्था त्यतिमात्र छैन। वृद्धवृद्धालाई स्याहारसम्भार गर्नेहरू पनि गाउँमा नरहेको सामाजिक संघसंस्थामा रहेर काम गरिरहेका हरि देवकोटाको टिप्पणी छ। 

उनी भन्छन्, ‘गाउँ वृद्धा श्रम बन्यो भन्ने भाष्य पुरानो भइसक्यो। अवस्था त्योभन्दा फरक भइसकेको छ। अहिले वृद्धावृद्धालाई स्याहारसम्भार गर्नेहरू पनि गाउँमा छैनन्। बिरामी पर्दा उपचार पाएका छैनन्। उमेर भएकाहरू रोजगारीका लागि विदेशमा छन्। उनीहरूका श्रीमती, बालबच्चा सहरमा छन्। घरकुरुवा बनेर बसेका वृद्धवृद्धा अशक्त भइसकेका छन्, तर स्याहारसम्भार गर्नेहरूको अभाव छ। अब गाउँगाउँमा वृद्धवृद्धाको बिचल्लीको दृश्य देख्ने दुर्दिन आएको छ। ज्युँदाको जन्ती, मर्दाको मलामी भन्ने उखान परिवर्तन हुँदैछ। गाउँमा न ज्युँदाका जन्ती छन्, न मर्दाका मलामी छन्।’

गाउँमा पूर्वाधार विकास भएन भन्ने भाष्य पनि पुरानो बन्दै गएको उनको टिप्पणी छ। ‘भूकम्पपछि गाउँबस्ती, डाँडाकाँडामा भीमकाय विद्यालय भवन बने तर, १० बर्ष नबित्दै ती प्रयोगविहीन खण्डहर भइरहेका छन्। रोड खनिएका छन्, स्तरोन्नति हँुदैछन् तर मोटर कुदाउने छैनन्। खानेपानी, सिँचाइ योजनाहरू बनिरहेका छन् तर, उपभोक्ता छैनन्। सामुदायिक भवनहरू बनेका छन्, प्रयोगकर्ताहरू छैनन्’, देवकोटाले भने।

गाउँमा आर्थिक रूपमा कमजोरहरू मात्र बाँकी रहँदा उनीहरूको मनोविज्ञानमा पनि नराम्ररी असर पारिरहेको देवकोटाको भनाइ छ। देवकोटाको विश्लेषण छ, ‘अहिले जो गाउँमा छन्, उनीहरू हामी गरिब, हामी कमजोरहरू मात्र गाउँमा छौँ भन्ने मनोविज्ञानले विक्षिप्त भएका छन्। उनीहरूका बालबच्चा पनि सक्नेहरू गए, हाम्रा बुवाआमा कमजोर भएर हामी गाउँमा बाँकी रहेका छौँ भन्ने मनोविज्ञानले घर गरेको छ। यसले गाउँको अवस्थालाई झन् अन्धकारतिर लैजान्छ।’null

रोजगारी सिर्जनाले गाउँ गुल्जार हुन्छ
वैदेशिक रोजगारीका कारण गाउँ निर्जन भएको मानवअधिकारकर्मी एवं अधिवक्ता स्थानेश्वर दुवाडीको विश्लेषण छ। उनी भन्छन्, ‘हामी गाउँ जाँदा भेटघाट, जमघट, चहलपहल निकै बाक्लो हुन्थ्यो। तर अहिले गाउँ जाँदा शून्यजस्तो लाग्छ। ठूलठूला बारीका पाटा बाँझै देखिन्छन्। धान उब्जिने खेतहरू झाडी बनिसकेका छन्। गाउँमा मान्छे नबसेपछि घरभित्रैसम्म बाँदरको रजाइँ छ। बाँदर आतंकले पनि मान्छेलाई गाउँमा बसिनसक्नु छ। यस्तो अवस्था किन आयो ? मेरो बुझाइमा वैदेशिक रोजगारीले यो अवस्था सिर्जना भएको हो। स्वदेशमा रोजगारी छैन। दुई, चार पैसाको मुख हेर्न पनि वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था छ। विदेश गएपछि अलिअलि कमाइ हुन्छ। अनि श्रीमती, छोराछोरीलाई सहरमा लगेर राख्छन्।’

२०७५ सालदेखि गाउँको विद्यालय सदाका लागि बन्द भयो। फेरि पनि विद्यालय सञ्चालन गर्न सकिन्छ कि भनेर घरदैलो गर्‍यौं, आमभेला गर्‍यौं। छोराछोरी पठाइदिनू न भन्दै हात जोड्दा पनि कसैले पठाएनन्। मिहिनेत खेर गयो। ईसीडीसम्म सञ्चालन गर्न सके कम्तीमा काखको बच्चा त घरमै हुन्थे। 
प्रेम गुरुङ - वडाध्यक्ष, सहिद लखन गाउँपालिका— १

हामी गाउँ जाँदा भेटघाट, जमघट, चहलपहल निकै बाक्लो हुन्थ्यो। तर अहिले गाउँ जाँदा शून्य जस्तो लाग्छ। गाउँमा मान्छे नबसेपछि घरभित्रैसम्म बाँदरको रजाइँ छ। बाँदर आतंकले पनि मान्छेलाई गाउँमा बसिनसक्नु छ। यस्तो अवस्था किन आयो ? 
स्थानेश्वर दुवाडी, अधिवक्ता एवं मानव अधिकारकर्मी 

गाउँमा विद्यालयका संरचना छन्, गुणस्तरीय शिक्षा छैन। स्वास्थ्यचौकी छ तर स्वास्थ्यकर्मी बस्दैनन्। यस्ता आधारभूत सेवाबाट नै बिमुख भएपछि गाउँ छोडेर मानिस सहर आउन थालेका छन्। 
दीपेश घिमिरे, समाजशास्त्री

गाउँमा पूर्वाधार विकास भएन भन्ने भाष्य पनि पुरानो बन्दै गएको छ। भूकम्पपछि गाउँबस्ती, डाँडाकाँडामा भीमकाय विद्यालय भवन बने तर, १० वर्ष नबित्दै ती प्रयोगविहीन खण्डहर भइरहेका छन्। 
हरि देवकोटा, सामाजिक अभियन्ता 

जनसंख्याको घट्दो दरले पनि गाउँघर निर्जन बन्दै गएको उनको बुझाइ छ। ‘कम्तीमा दुई सन्तानमात्र भएको भए पनि यस्तो हुँदैनथ्यो कि ? एक सन्तान भए पुग्छ भन्ने मान्यता राष्ट्रियस्तरमै विकास भइरहेको छ। यो राम्रो होइन’, उनले भने, ‘सन्तान कम्तीमा कति, बढीमा कति जन्माउने भन्ने विषयमा राष्ट्रिय मान्यता आवश्यक पर्छ। अनि अर्को कुरा, यदि स्वदेशमै रोजगारी सिर्जना भयो भने धेरै हदसम्म युवाहरू विदेश जान छोड्ने थिए। युवा बिदेसिएनन् भने गाउँठाउँ फेरि भरिन्छ, गुल्जार हुन्छ।’ यसका लागि राष्ट्रिय नीति नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। 

गाउँलाई गाउँ बन्न दिएनौं

गाउँलाई गाउँ बन्न नदिई सहर बनाउने प्रयास भएको समाजशास्त्री दीपेश घिमिरेको बुझाइ छ। ‘हाम्रो विकासको मोडेल कस्तो अपनायौं भने गाउँलाई गाउँजस्तै राखेर सबै सुविधा पुर्‍याउनुपर्ने हो तर गाउँलाई हामीले सहर बनाउने दुष्प्रयास गरिरह्यौं’, उनले भने, ‘गाउँलाई गाउँ नै राखेर सबै सुविधा पुर्‍याउन सक्नु र गाउँलाई सहर बनाउनु फरक कुरा हो। गाउँलाई सहर बनाउनु भनेको सबै घरघरमा बाटो पुर्‍याउनु पर्‍यो। सहरमा हुने खालका सबै सुविधा गाउँमा पुर्‍याउनेभन्दा नि संरचना पुर्‍याउनेतिर हामी लाग्यौं।’

उनका अनुसार योजनाहरू पनि यस्ता खाले बने कि गाउँभन्दा सहरकै लागि बजेट बढी छुट्ट्याइए। ‘सहरी क्षेत्रमा धेरै मात्रामा पैसा खर्च गरिरहेका छौं। गाउँमा हामीले त्यही अनुरूप बजेट पुर्‍याउन सकेका छैनौं’, उनले भने। गाउँको विकास भनेको रोड पुर्‍याउनुभन्दा पनि सुविधासम्पन्न अस्पताल, सुविधासम्पन्न स्कुल पुर्‍याई रोजगारीका अवसर सिर्जना गर्न सक्नु रहेको उनले बताए। ‘अनि त्यहीँ अर्थतन्त्र चलायमान गराउन सकियो भने र बालबालिकालाई काठमाडौंको जस्तै एउटा राम्रो स्कुल गाउँमै चलाउन सक्यौं भने वा काठमाडौंकै जस्तो सुविधासम्पन्न अस्पताल गाउँमै पुर्‍याउन सक्यौं भने हुन्छ’, उनले भने।

उनका अनुसार गाउँमा विद्यालयका संरचना छन्, गुणस्तरीय शिक्षा छैन। स्वास्थ्यचौकी छ तर स्वास्थ्यकर्मी बस्दैनन्। यस्ता आधारभूत सेवाबाट नै बिमुख भएपछि गाउँ छोडेर मानिस सहर आउन थालेका उनको भनाइ छ। गाउँमा बस्ने मानिसको करमा छुट दिन सकियो भने पनि गाउँमा मानिस बस्ने बताउँदै उनले भने, ‘गाउँमा बस्नेलाई कम सहरमा बस्नेलाई बढी हुनासाथ र अन्य सुविधा भए मानिस गाउँमै बस्छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.