जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते
काभ्रे : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
धादिङबाट जन्ती पुर्याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५:४० मा मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा बसका गाडी साहु तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ।
बस बिहेको लागि जन्ती पुर्याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए। घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा ब्याक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !