करेण्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र रोजगारी
नुवाकोट : नुवाकोटको उत्तरपूर्वी दुप्चेश्वरमा खेत काम गर्ने क्रममा करेण्ट लागेर ज्यान गुमाएका एक किसानको परिवारलाई सम्वन्धित निकायले क्षतिपूर्ति दिने भएको छ । आश्रित परिवारका व्यक्तिलाई रोजगारी दिने भएको छ ।
सदरमुकाम बिदुरदेखि ४० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–३ गहतारमा करेण्ट लागेर खेतमा काम गरिरहेका किसान ४० वर्षीय कुमार विकको मृत्यु भएकोमा नेपाल विद्युत प्राधिकरणले उनका परिवारलाई १० लाख रुपैंयाँ क्षतिपूर्ति र परिवारका दुई जनालाई उचित रोजगारी दिने निर्णय भएको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए । उनका अनुसार तुरुन्त विद्युतीय पोल र तार व्यवस्थापनको कार्य सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ ।
घटनास्थलमा परिवारजन, स्थानीयवासी, गापा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विद्युत प्राधिकरणका कर्मचारीहरुबीच भएको सहमतिमा विद्युत् करेण्टबाट ज्यान गुमाएका कुमार बिकको परिवारलाई क्षतिपूर्ति, शिक्षा र रोजगारीको व्यवस्था गर्ने सहमति भएको अध्यक्ष थापाले जानकारी दिए ।
सहमति नभएसम्म ११ हजार केभिए क्षमताको विद्युत पोल र तारको उचित व्यवस्थापन नहुँदा उक्त घटना घटेको जनाउँदै स्थानीयवासी, आफन्तन तथा पीडित परिवारजनले विद्युत् प्राधिकरणको लापरबाही तथा मापदण्डविपरीत व्यवस्थापन भएको भन्दै सहमति वेगर शव नै नउठाउने बताएका थिए ।
विद्युत् प्राधिकरण र पीडित पक्षबीच मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मृतकका बालबालिकाको उच्च शिक्षासम्म अध्ययनमा सहयोग तथा परिवारका दुई सदस्यलाई दक्षता र क्षमताको आधारमा रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएछि शव घटनास्थलबाट उठाएर पोष्टमार्टम गरी अन्तिम सँस्कार समेत गरिएको उनले बताए । पीडित परिवारले उक्त सहमतिले न्यायको अनुभूति गराएको जनाउँदै आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन विद्युत् संरचनाको नियमित अनुगमन र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !