भोलिदेखि संसद्को हिउँदे अधिवेशन,के छ कार्यसूची ?

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गतेदेखि सुरू हुँदैछ। बैठक अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले 'सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' पेश गर्नेछन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१', 'निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१' र 'आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' पेश गर्ने कार्यसूची छ।
त्यस्तै भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले 'सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' र 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१' पेश गर्नेछन् । बैठकमा सभामुखले विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचिमा उल्लेख छ।
यसैगरी राष्ट्रियसभाको बैठकमा उल्लेखित कार्यसूचि बाहेक मिडिया काउन्सिल विधेयक, २०८० र नवीरकणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूचि छ ।
प्रतिक्रिया दिनुहोस !
