पाठेघरको मुखको क्यान्सर र खोप सेवा

पाठेघरको मुखको क्यान्सर र खोप सेवा

नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ । महिलाहरूको क्यान्सरबाट मृत्यु हुनेमा भने यो पहिलो कारण रहेको छ। सन् २०२२ को तथ्यांक अनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट सरदर चार जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ। विश्वको अवस्था हेर्ने हो भने यो चौथो मुख्य क्यान्सरको स्थानमा रहेको छ। त्यस्तै सन् २०२० को तथ्यांकअनुसार, न्यून र मध्यम आय भएका देशहरूमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुनेको संख्या देखिएको छ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको संक्रमण हुनु हो। जसलाई एचपीभी भाइरससमेत भनिन्छ। यो भाइरसका दुई सयभन्दा धेरै प्रजाति हुन्छन्। तर मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन्। तीमध्ये सबैभन्दा बढी जोखिम भएको प्रजातिहरू १६ र १८ हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पु¥याउन तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ। जसमा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो रोगविरुद्धको एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने र यो रोगको निदान भएका महिलाहरूलाई उपचार गर्ने पर्दछन्। तीमध्ये पाठेघरको मुखको परीक्षण गर्ने र यो रोगको निदान भएका महिलाको उपचार सेवा हाम्रो देशमा विगत केही समयदेखि उपलब्ध गराइँदै आइएको छ। यो रोगविरुद्धको एचपीभी खोप सेवा नेपालका केही स्थानमा करिब १० वर्षभन्दा पहिला सञ्चालन गरिएको थियो। तर देशव्यापी रूपमा एचपीभी खोप सेवाको सुरुवात यो वर्षदेखि गरिँदैछ र यो सेवालाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी निरन्तरता दिइनेछ। नेपालमा यी तिनै प्रकारका सेवाहरू देशभरि विस्तार गरेर यो रोग निवारण गर्ने लक्ष्य प्राप्तितर्फ उन्मुख हुनु हामी सबैको साझा कर्तव्य हो।

के हो एचपीभी खोप ? 

ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट सुरक्षित हुन दिइने खोपलाई एचपीभी खोप भनिन्छ। यो खोपमा भाइरसको डीएनए हुँदैन। त्यसैले यो खोपबाट एचपीभी संक्रमण हुँदैन। यो वर्ष सञ्चालन गरिने एचपीभी खोप अभियानमा सिकोलिन नामको एचपीभी खोप प्रदान गरिन्छ। यो खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ। यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको छ।

यो खोप तयारी झोलको रूपमा एक मात्राको भायलमा उपलब्ध हुन्छ। यो खोपको एक मात्रा ० दशमलव ५ मिलि हो। यो खोप सुईंको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिनुपर्दछ। यस वर्ष सञ्चालन गरिने एचपीभी खोप अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई यो खोप एक मात्रा दिइन्छ। यो उमेरसमूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले यो खोप सेवा मुख्यतः विद्यालय केन्द्रित हुनेछ। यद्यपि अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट पनि यो खोप दिइन्छ।

पछिल्लो अध्ययनअनुसार यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ भन्ने आधार भएकोले राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ असोज २३ को सिफारिसअनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८१ कात्तिक ८ को निर्णयानुसार यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ। त्यसैले विगतमा एक मात्रा एचपीभी खोप लिइसकेका किशोरीहरूले अर्को मात्रा लगाउन आवश्यक छैन।

यो खोप लक्षित उमेर समूहबाहेक अन्य व्यक्तिहरू र गर्भवती महिलालाई दिनु हुँदैन। साथै पहिला कुनै खोप लगाउँदा विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको व्यक्ति र यो खोपमा भएका कुनै तŒवबाट विगतमा गम्भीर एलर्जी प्रतिक्रिया भएको व्यक्तिलाई पनि दिनु हँुदैन।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम कार्यान्वयनमा ल्याउने भनी उल्लेख भएको थियो। त्यसपछिका वार्षिक नीति तथा कार्यक्रममा पनि यो खोप सेवा सञ्चालन गर्ने भनी उल्लेख हुँदै आएको छ। यसै क्रममा आव २०८०/०८१ मा नेपाल सरकारको स्रोतबाट २० हजार मात्रा एचपीभी खोप खरिद गरेर सातै प्रदेशका एक–एक वटा अस्पतालबाट १४ वर्ष उमेरका किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा यो खोप प्रदान गरिएको थियो। ती अस्पतालहरूमा कोशी अस्पताल, विराटनगर, मधेस नारायणी अस्पताल, वीरगन्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भेरी अस्पताल, नेपालगन्ज, प्रदेश अस्पताल, वीरेन्द्रनगर, सुर्खेत र डडेलधुरा अस्पताल, डडेलधुरा थिए। उक्त कार्यक्रमको प्रगति प्रतिवेदनअनुसार लक्षित उमेरसमूहका करिब १० हजार जना किशोरीहरूलाई ६/६ महिनाको फरकमा पहिलो र दोस्रो मात्रा एचपीभी खोप लगाइएको थियो। गत वर्ष सञ्चालन गरिएको यो खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो।

उक्त खोप कार्यक्रमको सिकाइअनुसार एचपीभी खोपको लक्षित उमेरसमूहका प्रायःजसो किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले यो खोप सेवा विद्यालयमा आधारित खोप केन्द्र मार्फत प्रदान गर्नु बढी प्रभावकारी भएको देखिएको छ। देशभरि एचपीभी खोप सेवाको सुरुवात गर्दा पहिलो वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई खोप अभियान मार्फत एचपीभी खोप प्रदान गर्ने र त्यसपछि हरेक वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई नियमित खोपको रूपमा यो खोप प्रदान गर्ने नीति रहेको छ।

एचपीभी खोप अभियान 

यो वर्ष सञ्चालन गरिने एचपीभी खोप अभियानको लक्षित समूहको रूपमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरू निर्धारण गरिएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन र शिक्षा तथा मानव विकास स्रोत केन्द्रबाट वार्षिक रूपमा प्रकाशन गरिने तथ्यांकको आधारमा यस अभियानको जम्मा लक्ष्य १६ लाख ८८ हजार ७ सय ६८ जना अनुमान गरिएको छ। यद्यपि स्थानीय स्वास्थ्य संस्थाबाट कक्षा ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयहरूमा समन्वय गरेर संकलन गरिएको लक्षित कक्षाका छात्राहरूको नामावली समायोजन गरेको तथ्यांक र विद्यालय नजाने उक्त उमेर समूहका किशोरीहरूको अनुमानित संख्या जोड्दा जम्मा लक्ष्य केही कम देखिएको छ। 

खोप अभियान सञ्चालन कार्यनीतिमा कक्षा ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपीभी खोप दिने रहेको छ। त्यस्तै विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एचपीभी खोप दिने योजना छ। खोप सेसन सञ्चालन गर्ने मिति विद्यालयसँग समन्वय गरी निर्धारण गर्ने र एउटा स्थानीय तहमा बढीमा ७ दिनभित्र सञ्चालन गर्ने, तर महानगरपालिका र उपमहानगरपालिकामा बढीमा १० दिनभित्र सञ्चालन गर्ने योजना बनाइएको छ। घनाबस्ती भएको र धेरै स्थानीय तहहरू भएको जिल्लामा अभियान दुई चरणमा सञ्चालन गरिनेछ। एचपीभी खोप अभियान रजिस्टर अभिलेख राख्ने र एचपीभी खोप लिएका हरेक छात्रा/किशोरीलाई अभियान खोप कार्ड भरेर सो खोप कार्ड दिइनेछ। आर्थिक वर्ष २०८२/०८३ देखि सञ्चालन हुने नियमित एचपीभी खोप सेवा सञ्चालन कार्यनीतिमा लक्षित समूहका रूपमा कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू रहेका छन्। कक्षा ६ मा अध्ययन–अध्यापन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपीभी खोप दिइनेछ। विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरू र छुट भएका कक्षा ६ का छात्राहरूलाई यो खोप सेवा प्रदान गर्ने महिनामा नियमित खोप केन्द्रहरूबाट एचपीभी खोप दिइनेछ। नियमित खोप रजिस्टरमा अभिलेख राख्ने र एचपीभी खोप लगाएका हरेक छात्रा/किशोरीलाई नियमित खोप सेवामा प्रयोग गरिने खोप कार्ड भरेर दिइनेछ। खोप अभियान सेवा सञ्चालन फागुन महिनालाई बनाइएको छ। हरेक वर्षको फाल्गुन महिनामा नियमित एचपीभी खोप सेवा प्रदान गर्ने नीति लिइएको छ। 

डा. लाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.