पाठेघरको मुखको क्यान्सर: दैनिक ४ महिलाको ज्यान लिँदै

पाठेघरको मुखको क्यान्सर: दैनिक ४ महिलाको ज्यान लिँदै

काठमाडौं : धेरैलाई आश्चर्य लाग्न सक्छ, पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जना नेपाली आमाहरूको ज्यान जान्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, नेपालमा औसत दैनिक ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जनाको मृत्यु हुने गरेको छ। 

 स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, विश्वमा चौथो मुख्य क्यान्सरको स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको छ। त्यस्तै सन् २०२० को तथ्यांकअनुसार, न्यून र मध्यम आय भएका देशहरूमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुनेको संख्या देखिएको छ।

के कारणले हुन्छ ? 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हुनु हो। जसलाई एचपीभी भाइरससमेत भनिन्छ। परिवार कल्याण महाशाखाका निर्देशक डा. लालका अनुसार एचपीभी भाइरसका दुई सयभन्दा धेरै प्रजाति हुन्छन्। तर, मानव शरीरमा क्यान्सर गराउने प्रजातिहरू १२ प्रकारका हुन्छन्। तीमध्ये सबैभन्दा बढी जोखिम भएको प्रजातिहरू १६ र १८ हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरूबाट भएको देखिन्छ। भक्तपुर क्यान्सर अस्पतालकी वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठका अनुसार, पाठेघरको मुखको क्यान्सरको मुख्य कारण नै एचपीभी भाइरसको संक्रमण हो। डा. श्रेष्ठ भन्छिन्, ‘प्रायः सबै यौनजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरू कुनै न कुनै समयमा एचपीभी भाइरसबाट संक्रमित हुन पुग्छन्। अधिकांशमा लक्षण नदेखिन पनि सक्छ।’

के हो एचपीभी खोप ? 

एचपीभी खोप सुरक्षित र प्रभावकारी छ। प्रारम्भिक किशोरावस्थामा लगाएमा अझ बढी प्रभावकारी हुन्छ। डा. एलिजा   श्रेष्ठ, स्त्री क्यान्सर रोग विशेषज्ञ

ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट सुरक्षित हुन दिइने खोपलाई एचपीभी खोप हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. लालका अनुसार, यो खोप प्युरिफाइड भाइरल प्रोटिनबाट रिकम्बिनेसन प्रविधिद्वारा तयार गरिएको छ। डा. लाल भन्छन्, ‘यो खोपमा भाइरसको डीएनए हुँदैन। त्यसैले यो खोपबाट एचपीभी संक्रमण हुँदैन। एचपीभी प्रजाति १६ र १८ को कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्दछ।’

यो वर्ष सञ्चालन गरिने खोप अभियानमा सिकोलिन नामको एचपीभी खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप तयारी झोलको रूपमा एक मात्राको भायलमा उपलब्ध हुन्छ। यो खोपको एक मात्रा ० दशमलव ५ मिलि हो। यो खोप सुईंको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिनु पर्दछ।

१६ हजार बढीलाई निःशुल्क खोप

किशोरीहरूलाई एचपीभीविरुद्धको खोप दिइएको यो पहिलो पटक होइन। सरकारले यसअघि पनि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिएको थियो। यस वर्ष भने १६ हजारभन्दा बढीलाई निःशुल्क खोप दिन लागेको हो। 

आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा कास्की र चितवन जिल्लामा एचपीभी खोप डेमोन्स्ट्रेसन कार्यक्रमको रूपमा सञ्चालन गरिएको थियो। यसको लागि गाभीबाट सहयोग प्राप्त भएको थियो। सो कार्यक्रममा कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई सर्भारिक्स नामक एचपीभी खोप ६/६ महिनाको फरकमा दुई मात्रा दिइएको थियो । कार्यक्रम सम्पन्नपछि गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार पहिलो मात्राको कभरेज शतप्रतिशत र दोस्रो मात्राको कभरेज ९६ दशमलव ५५ प्रतिशत हासिल भएको थियो। 

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम कार्यान्वयनमा ल्याउने भनी उल्लेख गरेको थियो। परिवार कल्याण महाशाखाका निर्देशक डा. लाल भन्छन्, ‘विश्व बजारमा पर्याप्त परिमाणमा एचपीभी खोप उपलब्ध नभएको र कोभिड—१९ महामारीको कारणले त्यसबेला एचपीभी खोप सेवा विस्तार हुन सकेन।’ आव २०८०/०८१ मा सरकारी स्रोतबाटै २० हजार मात्रा एचपीभी खोप खरिद गरेर सातै प्रदेशका एक–एकवटा अस्पतालबाट १४ वर्ष उमेरका किशोरीहरूलाई ६ महिनाको फरकमा दुई मात्रा यो खोप प्रदान गरिएको थियो। कोशी अस्पताल, विराटनगर, मधेस नारायणी अस्पताल, वीरगन्ज, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भेरी अस्पताल, नेपालगन्ज, प्रदेश अस्पताल, वीरेन्द्रनगर, सुर्खेत र डडेलधुरा अस्पताल, डडेलधुरामा खोप प्रदान गरिएको थियो। उक्त कार्यक्रमको प्रगति प्रतिवेदनअनुसार लक्षित उमेरसमूहका करिब १० हजार जना किशोरीहरूलाई ६/६ महिनाको फरकमा पहिलो र दोस्रो मात्रा एचपीभी खोप लगाइएको थियो। गत वर्ष सञ्चालन गरिएको यो खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो।

तोकिएको उमेर समूहका किशोरीहरूले निर्धक्क भएर एचपीभी खोप लगाउन सक्छन्। यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित र गुणस्तरीय छ। प्राडा रमेशकान्त अधिकारी, अध्यक्ष, राष्ट्रिय खोप सल्लाहकार समिति 

‘भ्रम फैलाउने एन्टी खोप समूहबाट सजग रहन अनुरोध गर्दछु,’ डा. बुढाथोकी भन्छन्, ‘सुईं लगाएको ठाउँमा दुख्ने, टाउको, पेट वा जिउ दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता सामान्य प्रभाव केहीमा देखिन सक्छ। तर केही दिनमा आफैं निको हुने भएकाले आत्तिनु पर्दैन।’

कति प्रभावकारी छ खोप ? 

गत कात्तिक ८ गते स्वास्थ्य मन्त्रालयले निःशुल्क खोप लगाउने निर्णय गरेको हो। यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको हो। त्यसअघि गत असोज २३ गते विज्ञहरू सम्मिलित राष्ट्रिय खोप सल्लाहकार समितिले खोप लगाउन सकिने सिफारिस गरेको थियो।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्राडा रमेशकान्त अधिकारीका अनुसार, एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित हुन सकिन्छ। ‘तोकिएको उमेरसमूहका किशोरीहरूले निर्धक्क भएर खोप लगाउन सक्छन्,’ प्राडा अधिकारी भन्छन्, ‘यो खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित र गुणस्तरीय छ। संसारका धेरै मुलुकहरूमा यो खोप प्रयोग भइरहेको छ। प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुन्छ।’ यो खोप सुरक्षित र प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। क्यान्सर रोग विशेषज्ञहरूले पनि यो खोप किशोरावस्थामा लगाउँदा बढी प्रभावकारी हुने बताउँछन्। 

वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठका अनुसार, यो खोप किशोरीहरूलाई सुरुमै लगाउँदा बढी प्रभावकारी हुन्छ। डा. श्रेष्ठ भन्छिन्, ‘एचपीभी खोपले किशोरीहरूलाई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ। यो शतप्रतिशत सुरक्षित र प्रभावकारी छ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी खोपले परिवार नियोजन गर्छ, बा“झोपना ल्याउँछ भन्ने लगायतका कपोलकल्पित र भ्रमहरू प्रवाह गर्ने केही व्यक्तिहरूसँग सजग रहन अनुरोध गर्छन्। 

सरकारले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्यको समस्या नरहने गरी यो रोग निवारण गर्ने लक्ष्य लिएको छ। यसका लागि हरेक ३० वर्ष उमेरका हरेक महिलाले नियमित रूपमा पाठेघरको मुखको परीक्षण गराउनुपर्छ। डा. रोशन पोखरेल, सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। 

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, यो खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रमाणित गरेको छ। सन् २००६ देखि नै यो खोप प्रयोगमा आएको हो। विश्वमा १४५ देशले प्रयोग गरिसकेका छन्। यस खोपलाई नेपालमा औषधि व्यवस्था विभागले स्वीकृति दिएको हो। गाभीको सहयोगमा सिकोलिन खोप १७ लाख ७० हजार २० मात्रा नेपाल आइसकेको छ। जस्मा एकतिहाइ खर्च नेपाल सरकारको छ भने बा“की गाभीले गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप रजस्वला भएका बेलामा पनि लगाउन सकिने डा. बुढाथोकीले जानकारी दिए। ‘विगतमा एचपीभी खोप लगाइसकेका, विद्यालय नजाने १० वर्षमुनिका र १४ वर्ष माथिका किशोरी, गर्भवती, सक्रिय बिरामी—ज्वरो, पहिला कुनै खोप लगाउँदा एलर्जी भएकाले खोप लगाउन हुँदैन,’ डा.बुढाथोकीले भने। स्वास्थ्य मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि चर्चित अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई दुई वर्षका लागि सद्भावना दूत घोषणासमेत गरेको छ। 

पाँच वर्षभित्र रोग निवारणको लक्ष्य

स्वास्थ्य सचिव डा. रोशन पोखरेलका अनुसार, सरकारले पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य लिइएको छ। सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्न लक्ष्य लिइएको छ। यो लक्ष्य पूरा गर्न ३० वर्ष उमेरसमूहका हरेक महिलाले तीनदेखि पाँच वर्षमा पाठेघरको मुखको परीक्षण गराउनुपर्छ। सुरुको अवस्थामा पाठेघरको मुखको क्यान्सर निदान गरी उपचार गरेमा निको हुन्छ। सरकारले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याबाट हटाउन ९०—९०—९० को लक्ष्य लिएर रणनीति एवं कार्यनीतिसमेत बनाएको छ। पहिलो ९० प्रतिशतका रूपमा १० देखि १४ वर्ष उमेरभित्रका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको खोप दिने रहेको छ। दोस्रो ९० प्रतिशतमा ३० देखि ४९ वर्ष उमेरसमूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ) गर्ने रहेको छ। तेस्रो ९० प्रतिशत भन्नाले पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरूको उपचार गर्ने रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, अहिलेको खोप अभियानपश्चात् नियमित रूपमा राष्ट्रिय खोप तालिकामा राखेर हरेक खोप केन्द्रबाट कक्षा ६ अर्थात् १० वर्षसम्मका किशोरीलाई खोप दिइनेछ। 

क्यान्सर विजेता भन्छन्, छोरीलाई खोप लगाऔं

 पाठेघरको क्यान्सर लाग्नेबित्तिकै डराइहाल्न पर्दैन। सयौं व्यक्तिले बेलैमा उपचार गरेर क्यान्सर निको पारेका छन्। तर, रोग लाग्नभन्दा लाग्नै नदिने कार्य उपयुक्त भएको विभिन्न किसिमका क्यान्सर रोग विजेताहरूको सुझाव छ। 

नेपाल क्यान्सर रोग सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनाल भन्छिन्, ‘रोग लागिहाल्यो भने त्यसबाट तनाव, चिन्तामात्रै थपिन्छ। त्यसैले अहिले छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी भ्याक्सिन) लगाउनु बुद्धिमानी हुन्छ।’

संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म मुलुकभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई एचपीभी खोप लगाउने तयारी गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, परिचयपत्र तथा उमेर खुल्ने कागजातका आधारमा अर्थात् कक्षा ६ देखि १० मा अध्ययनरत छात्रालाई परिचयपत्र तथा १० देखि १४ वर्ष उमेरका किशोरीलाई उमेर खुल्ने कागजात हेरेर एचपीभी खोप लगाइँदै छ। विद्यालय केन्द्रित खोप भएकाले १८ हजार ९ सय विद्यालय र ८ हजार २ खोप केन्द्रबाट २७ हजार स्वास्थ्यकर्मी, सुपरिवेक्षक १५ हजार ६ सय ७५ र स्वयंसेवक ५४ हजार १ सय ६० बढी परिचालन हुँदै छन्।

बेलैमा छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी भ्याक्सिन) लगाउनु बुद्धिमानी हुन्छ। प्रमिता खनाल, अध्यक्ष, नेपाल क्यान्सर रोग सर्भाइभर सोसाइटी 

स्वास्थ्य र शिक्षामन्त्रीको अनुरोध

‘एचपीभी खोप लगाऔं’

 स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन अनुरोध गरेका छन्।

 स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै तथ्य  विभिन्न तथ्यांकहरूले देखाएको बताए। 

मन्त्री पौडेलले भने, ‘किशोरावस्थामै एचपीभी खोप लगाएमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ।’ ६ देखि १० कक्षासम्मका छात्राहरू र विविध कारणले विद्यालयमा भर्ना हुन नपाएका १० वर्षदेखि १४ वर्षसम्मका सम्पूर्ण किशोरीहरूलाई खोप लगाउन उनले अनुरोध गरे। 

 शिक्षामन्त्री भट्टराईले मुलुकको चौतर्फी विकासका लागि स्वस्थ जनशक्तिको जरुरी पर्ने बताइन्। नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखमा हुने क्यान्सर दोस्रो स्थानमा रहेको र यस क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पहिलो कारण भएको मन्त्री भट्टराईले जानकारी दिइन्। ‘पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाएमा रोगबाट सुरक्षित हुन सकिन्छ। खोप लगाउनुपर्ने अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले एचपीभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ,’ मन्त्री भट्टराईले भनिन्, ‘ पाठेघरको  मुखको क्यान्सर र एचपीभी खोपका बारेमा शिक्षक, शिक्षिका र विद्यार्थीहरूमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्नसमेत अग्रणि भूमिका निर्वाह गर्ने विश्वास लिएकी छुँ। लक्षित किशोरीहरूले खोप लगाउन हार्दिक अनुरोध गर्दछु।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.