कर्खा गायक लालबहादुर गन्धर्वको निधन
गोरखा : लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ। भीमसेनथापा गाउँपालिका-१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको स्थानीय भीसेनकाजी बानियाँले जानकारी दिए।
क्यान्सरबाट ग्रस्त उनको दिउसो तीन बजे आफ्नै निवासमा निधन भएको उनले बताए। नौ वर्षकै कलिलो उमेरदेखि सारंगी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारंगी बजाउँदै आएका थिए।
२० बर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए। २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराई २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए। उनले पृथ्वीनारायण शाहको नेपाल एकीकरणसम्बन्धी कर्खा, ९० सालको भूकम्पको कर्खा, जंगबहादुर राणाको र चन्द्र शम्शेरको बेलायत भ्रमणको सवाई गाएर नेपाली लोकगीत संगीत क्षेत्रलाई योगदान दिएका छन्।
त्यस्तै डाँफे र मुरलीको कर्खा, तेञ्जिङ शेर्पाको कर्खा, राष्ट्रिय झण्डाको सवाई, कुमालेको, अल्छीको कर्खा, बेहुली माग्ने गीत, गोरखनाथको मंगल, विश्वयुद्धको सवाई आदि गाएर नेपाली लोकगीतको भण्डार भरेका थिए।
लोकगीत, संगीतका क्षेत्रमा लाग्दा राजा महेन्द्रदेखि धर्मराज थापा, माधवप्रसाद घिमिरे र पछिल्लो छिमलका अमृत गुरुङसम्म उनको संगत भएको थियो।
पारिवारिक समस्याका कारण उनले छँदाखाँदाको रेडियो नेपाल र प्रज्ञा प्रतिष्ठानको छाडेर गोरखाको घ्याम्पेसालस्थित घरमा आई नौ भाई छोरा र १ छोरीलाई लालनपालन गर्न थाले। साँझ बिहान सारंगी बजाउँदै घ्याम्पेसाल बजार र आसपासका गाउँ बस्तीमा चाहारेर पुर्ख्यौली पेशालाई निरन्तरता दिएका थिए।
प्रतिक्रिया दिनुहोस !