यस्तो होस् क्यान्सरविरुद्धको अभियान

प्राणघातक रोग

यस्तो होस् क्यान्सरविरुद्धको अभियान

क्यान्सरसम्बन्धी सचेतनालाई व्यापक बनाउनुपर्नेे खाँचो छ। यो हामी सबैको सामाजिक दायित्व हो।

क्यान्सर ! सुन्नेबित्तिकै जो कोहीलाई डर लाग्न सक्छ। तर, यही रोग आज विश्वमा बढ्दो क्रममा छ। ग्लोेबोक्यान २०२२ को तथ्यांकअनुसार सन् २०२२ मा १ करोड ९९ लाख ७६ हजार ४ सय ९९ नयाँ घटनाहरू पहिचान गरिए। सोही वर्ष ९७ लाख ४३ हजार ८ सय ३२ जनाको क्यान्सरकै कारण मृत्यु हुन पुग्यो।

विश्वभर पुरुषमा पाँच मुख्य क्यान्सरमा फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा (कोलोरेक्टम) पेट र कलेजो पर्छन्। त्यस्तै, महिलामा स्तन, फोक्सो, ठूलो आन्द्रा (कोलोरेक्टम) पाठेघरको मुख र थाइरोइड पर्छन्। नेपालमा भने सन् २०२२ मा २२ हजार ८ वटा नयाँ केसहरू डायग्नोसिस भए भने १४ हजार ७ सय ४ जनाले क्यान्सरकै कारण ज्यान गुमाउनु पर्‍यो। नेपालमा पुरुषमा हुने मुख्य पाँच क्यान्सरमा फोक्सो, पेट, मुख, ठूलो आन्द्रा र कलेजो पर्छन्। महिलामा भने स्तन, पाठेघरको मुख, फोक्सो, पित्तथैली र पेट पर्छन्।

क्यान्सर के हो ? :  क्यान्सर हाम्रो शरीरमा हुने कोषहरूको अनियन्त्रित विभाजन र वृद्धि हो। मानव शरीरमा सबै कोषहरूको एउटा आयु हुन्छ। त्यहीअनुसार कोषहरूको वृद्धि हुने, विभाजन हुने, आफ्नो काम गर्ने र मृत्यु हुने एवं नयाँ कोषहरू बन्ने हुन्छ। यो प्राकृतिक रूपमा निकै नै सूक्ष्म तर सन्तुलनको तरिकाले चलिरहेको हुन्छ। यसलाई डीएनएले नियन्त्रण गर्छ।

जब डीएनएमा हानिकारक परिवर्तन आउँछन्, तब डीएनएका खराब परिवर्तनहरू शरीरले रिपेयर गरेर अघि बढ्छ। किनकि शरीरमा यसको रिपेयरको संयन्त्र हुन्छ। यो प्रक्रियामा बाधा देखिएपछि डीएनएमा भएका खराबीहरू रिपेयर हुन सक्दैनन्। अनि, शरीरका कोषिकाहरूको अनियन्त्रित विभाजन भई क्यान्सर बन्न सक्छ। यो एउटा साधारण बुझाइ हो। तर, यो प्रक्रिया निकै जटिल हुन्छ। र, यसमा शोधकार्य जारी छ।

डीएनएमा खराब परिवर्तन ल्याउने केही प्रिभिन्टेबल कारण हुन्छन् भने केही हाम्रो बसमा नहुने कारण हुन्छन्। जस्तै वंशाणुगत जिनमा क्यान्सर गराउने जिन, शरीरमा रहने रेन्डम डीएनएमा परिवर्तन (म्युटेसन) आदि। प्रिभिन्टेबल कारणहरूमा चुरोट, सुर्ती, खैनी, रक्सी, मोटोपना, भाइरस, दीर्घ संक्रमण, प्रदूषण, अस्वस्थ खानपान, अस्वस्थ जीवनशैली आदि हुन्छन्।

यदि क्यान्सर लाग्ने एउटा सबैभन्दा मुख्य कारण भन्नुपर्दा तमाखु (टोबाको)मा सुर्र्तीजन्य पदार्थहरूको सेवन हो। यसले डीएनए परिवर्तनहरू ल्याउँछ। सुरुमा शरीरले यसको रिपेयर गर्छ। तर, थोरै म्युटेसन जम्मा हुँदै गएपछि यो अनियन्त्रित हुन्छ र क्यान्सर गराउन सक्छ। चुरोट, सुर्र्तीजन्य पदार्थको सेवन रोक्न सकियो भने पनि धेरै क्यान्सर र यसबाट हुने क्षतिबाट बच्न सकिन्छ।

कसरी जोगिने ? :  क्यान्सर हुनबाट जोगिनका लागि सुर्र्तीजन्य पदार्थ तथा मदिराको सेवन गर्नु हुँदैन। यदि मद्यपान र धूमपानको कुलत छ भने मनोचिकित्सक वा एडिक्सन स्पेसलिस्टसँग सहयोग लिन सकिन्छ। सरकार, संघसंस्था, नागरिक समाजलगायतका विभिन्न संघसंस्था मिलेर यस्ता कुलतजन्य पदार्थको बिक्रीवितरण र सेवन रोक्न सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।

सरकारले धूमपान एवं मद्यपानविरुद्ध कडा कानुन बनाउने, कर वृद्धि गर्ने गर्नुपर्छ। अझ सकिन्छ भने त उत्पादन नै बन्द गराउनु पर्छ। धूमपान, मद्यपानबाट हुने हानिकारक असरहरूका बारेमा विद्यालय तहदेखि नै व्यापक प्रयास गर्नुपर्छ। चुरोट सेवन गर्दा कुल देखिने वा स्टाटस सिम्बोल होइन भन्ने किशोर अवस्थामा नै सचेतना जगाउनु आवश्यक छ।

कसरी छिटो पहिचान गर्ने ? :  कुनै पनि शंकास्पद लक्षणहरूलाई नजरअन्दाज नगरौं। शरीरका कुनै पनि भागमा नयाँ आएका गाँठा, स्तनमा गाँठा आएको छ भने सजग हुनुहोस्। छालामा रहेको कोठीको रंगमा परिवर्तन, बिनाकारण वजन घट्नु, धेरै थकान महसुस हुन्छ भने सावधानी अपनाउनु होस्। दिसापिसाबमा देखिएको परिवर्तन, बिना चोटपटक शरीरको कुनै पनि भागबाट रगत बग्नु, शरीरको कुनै भाग दुखिरहनु, शरीरमा दागहरू बनिरहनु, कुनै घाउ निको नहुनु, खाना लामो समयसम्म नपच्नु, आवाजमा परिवर्तन आउनु, खोकी निको नहुनु आदि लक्षणहरू हुनासाथ विज्ञ चिकित्सकसमक्ष जँचाउने र परीक्षण गर्नुपर्छ।

  • शरीरका कोषिकाहरूको अनियन्त्रित विभाजन भई क्यान्सर बन्न सक्छ। यो एउटा साधारण बुझाइ हो। तर, यो प्रक्रिया निकै जटिल हुन्छ।
  • क्यान्सरको पहिलो वा दोस्रो स्टेजमा पहिचान गर्न सकेमा उपचार सम्भव हुन्छ। निको हुने सम्भावना पनि हुन्छ। त्यसैले जति सक्यो, छिटो पहिचान गर्न ध्यान दिनुपर्छ।

क्यान्सरलाई छिटो पहिचान गर्नुपर्छ। पहिलो वा दोस्रो स्टेजमा पहिचान गर्न सकेमा उपचार सम्भव हुन्छ। निको हुने सम्भावना पनि हुन्छ। त्यसैले जति सक्यो छिटो पहिचान गर्नका लागि ध्यान दिनुपर्छ। हाम्रो मुलुकमा स्क्रिनिङको अभ्यास गर्ने प्रचलन त्यति विकास भएको छैन। आर्थिक, पूर्वाधारलगायतका चुनौतीहरू छन्। जसको परिवारमा क्यान्सर भएको छ भने परिवारका सदस्यहरूले स्क्रिनिङ गराउनु पर्छ। क्यान्सर विशेषज्ञको परामर्शमा विशेष स्क्रिनिङ गराउनुपर्छ। ४० वर्षपछि महिलाले म्यामोग्राम जाँच गराउने, पाठेघरको मुखको क्यान्सरका लागि प्यापस्मेयर जाँच गराउनु पर्छ।

क्यान्सरको परीक्षण :  क्यान्सरको परीक्षणमा विशेषज्ञले पारिवारिक पृष्ठभूमि लिन्छन्। र परीक्षण गर्छन्। आवश्यक जाँचहरू जस्तै रगत, एक्सरे, सिटिस्क्यान आदिबाट गर्छन्। क्यान्सर पुष्टिका लागि बायोप्सी (क्यान्सरको शंका भएको ठाउँबाट नमुना लिएर प्याथोलोजिस्टले माइक्रोस्कोपमा) जाँच गर्छन्। त्यसपछि बल्ल क्यान्सर भए÷नभएको पुष्टि गर्छन्। यसमा विभिन्न प्रोटिन र मोलिक्युलर टेस्ट आएका छन्। जसले परीक्षणलाई सहयोग गर्छ। क्यान्सर स्टेजका लागि सिटी स्क्यान या पेट स्क्यानको सहायताले गर्न सकिन्छ। त्यही अनुसार क्यान्सरको उपचार गरिन्छ।

उपचार विधि के छ ? :  क्यान्सरको उपचारमा केमोथेरापी (औषधि), रेडियोथेरापी (विकिरण) र सर्जरी (शल्यक्रिया)बाट गर्न सकिन्छ। कुन विधि उपचारमा अपनाउने भन्ने कुरा क्यान्सरको स्टेज (चरण) र बिरामीको फिटनेस पनि उपलब्ध उपचार विधिहरूमा भर पर्छ। यो विषयमा क्यान्सरविज्ञहरू सम्मिलित मल्टिडिसिप्लिनरी क्लिनिक (ट्युमर बोर्ड)ले निर्धारण गर्छ। आजकल टार्गेटेड थेरापी, इम्युनोथेरापीहरूबाट पनि उपचार गरिन्छ। तर, त्यो क्यान्सरको स्टेज, मोलिकुलर टेस्ट र इन्डिकेसनमा भर पर्ने हुन्छ। त्यसैले सबैमा यो लागू हुँदैन। शरीरकै कोषहरू प्रयोग गरेर क्यान्सरविरुद्ध लड्न लगाउने उपचार विधि पनि बढ्दो क्रममा छ।

जीवनशैली सुधारौं :  जीवनशैली परिवर्तनले पनि विभिन्न किसिमका क्यान्सरबाट बच्न सकिन्छ। विशेषगरी नसर्ने दीर्घ रोगीहरू जस्तै मुटु, उच्च रक्तचापको हकमा लागू हुने रोकथामका विधिहरू क्यान्सरको हकमा पनि लागू हुन्छन्। अहिले मोटोपना बढ्दै गएको छ। शारीरिक व्यायामको कमी छ। जीवनशैली पनि अस्वस्थ हुँदै गएको छ। यिनै कारणहरू पनि क्यान्सर रोग गराउन जिम्मेवार हुन सक्छन्। त्यसैले नियमित व्यायाम र सन्तुलित आहारविहार गरौं।

प्याकेटमा बन्द खानाभन्दा घरमा बनाएको खाना, खाजा खाऔं। विषादीको प्रयोग घटाऔ। रातो मासु सेवन कम गरौं। यसरी जीवनशैली र खानपान सुधार गरेमा पनि क्यान्सर रोगबाट केही हदसम्म बच्न सकिन्छ। धेरैजनासँग असुरक्षित यौनसम्पर्क, व्यक्तिगत तथा गुप्तांगको सरसफाइको अभावले पनि क्यान्सर बन्न सक्ने संक्रमण हुन सक्छ। जस्तै, पाठेघरको मुखको क्यान्सर, गुँदद्वारको क्यान्सर आदि। ह्युमन प्यापिलोमा भाइरसको संक्रमणले पनि क्यान्सर लाग्ने हुन्छ।

भाइरस भर्सेस भ्याक्सिन :  ह्युमन प्यापिलोमा भाइरसको संक्रमणले पाठेघरको मुखको क्यान्सरलगायतका क्यान्सर हुन सक्छन्। त्यस्तै, नाक, पेटलगायतका अंगमा क्यान्सर गराउन सक्छ। अहिले एचपीभी र हेपाटाइटिस बीको भ्याक्सिन सहजै उपलब्ध छ। किशोरीहरूलाई एचपीभी भ्याक्सिन दिन सकिन्छ। यो खोपले पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। त्यस्तै हेपाटाइटिस बीको भ्याक्सिन पनि सानै उमेरमा लगाउन सकिन्छ। यी भ्याक्सिनलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्नु जरुरी छ।

क्यान्सर आजको आधुनिक महामारीको रूपमा बढिरहेको छ। क्यान्सर रोग लाग्नबाट बच्ने उपायहरू समयमा गर्दा केही हदसम्म रोगबाट बच्न सकिन्छ। शरीरमा देखिएका लक्षणहरूलाई समयमै जाँच गराउनुपर्ने जरुरी छ। किनकि, स्टेज पहिलो र दोस्रो अवस्थामा नै पत्ता लाग्यो भने निको हुन सम्भव हुन्छ। क्यान्सर सम्बन्धमा जनचेतना जगाउनुपर्ने आवश्यकता छ। क्यान्सरसम्बन्धी सचेतनालाई व्यापक बनाउनुपर्नेे खाँचो छ। यो हामी सबैको सामाजिक दायित्व हो।

(भारतको मेदान्त अस्पतालका मेडिकल अन्कोलोजी विभागका एसोसिएटेड कन्सल्टेन्ट डा. अधिकारीसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानीमा आधारित।)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.