आत्तिनु हुँदैन, क्यान्सर जितिन्छ
डा. रामवरण यादव, पूर्वराष्ट्रपति तथा क्यान्सर विजेता
आहा ! खुसीको कुरा भनौं, जीवनका ८२ वसन्त पार गरेर ८३ को यात्रा चल्दैछ। स्वास्थ्यस्थिति पनि ठीकठाकै छ। हुन त, जिन्दगीको यात्रा कहाँ सहज हुन्छ र ? जीवनमा विभिन्न उतारचढाव त भइनै हाल्छन्। फेरि म क्यान्सर पीडित हुँ। क्यान्सरलाई जितेर नयाँ जीवन बाँचिरहेको मान्छे। अनि जिन्दगीको उत्तरार्धमा छु।
मेरा धेरै चाहना छैनन्, जम्माजम्मी दुईवटा मात्रै छन्। एक, हामीले धेरै ठूलो लडाइँ लडेर लोकतान्त्रिक गणतन्त्र ल्यायौं। यसको ल्यान्डमार्क २००७ सालको क्रान्ति, २०४६ को परिवर्तन र २०६२/०६३ को जनआन्दोलन थियो। शान्तिप्रक्रिया हुँदै संविधानसभाबाट संविधान बनायौं। देश समृद्धिको बाटोमा गइरहेको छ। अझै राम्रो ढंगले, सुव्यवस्थित तरिकाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशितालगायत कार्यान्वयन हुँदै जाऊन्। लोकतन्त्रको गाडीलाई अगाडि बढाउन मैले जे सकें, राष्ट्रपतिको पदमा हुँदा होस्टेमा हैंसै गरें। अर्को कुरो, देशको विकास अप्राकृतिकमैत्री ढंगले भइरहेको छ। संसारको विकसित मुलुकमा पनि पहाड, हिमाल, नदीनाला, जंगल छ। उनीहरूले यसलाई बचाउँदै भौतिक विकास गरिरहेका छन्। हाम्रो देशले पनि त्यसको सिको गरोस्। अनि एकदमै राम्रो हुन्छ।
अनि मैले क्यान्सर जितें, नयाँ जीवन पाएँ
हिजो अस्तिमात्रै क्यान्सर दिवस थियो। म पनि डाक्टर हुँ। फिजिसियन हो। डाक्टरी पढें, मेडिसिनमा एमडी गरें। प्राक्टिक्स पनि गरेकै हो। राजनीतिमा पनि योगदान दिएँ। स्वास्थ्यमन्त्री बन्ने मौका पनि मिल्यो। जनताको आशीर्वादले देशको राष्ट्रपतिसम्म भएँ। मैले धेरैजसो चुरे, हिमाल, वातावरण र पर्यावरणको बारेमा बोलिरहेको हुन्छु। यो पनि हाम्रो जीवन र स्वास्थ्यसँगै जोडिएको कुरा हो। क्यान्सर रोग मैले कसरी जितें र यो कसरी लाग्छ भन्ने कुरा सुनाउँदै छु। क्यान्सर किन लाग्छ ? कुन उमेरमा लाग्छ ? हामी कहाँ उपचार कस्तो छ ? यसको उपलब्धता कति छ ? क्यान्सर लागिसकेको रोगीलाई कसरी बचाउने ? कसरी बाँच्ने ? यसको बारेमा विस्तृतमा सुनाउँछु। मैले क्यान्सर कसरी जितें ? त्यो पनि रोचक प्रसंग छ मसँग।
संविधान बनाउने बेलामा देश अस्तव्यस्त थियो। संविधान बनाउनका लागि दलहरूलाई एकजुट बनाउन लगनशील भएर त्यतातिर लागें। मेरो स्वास्थ्यको रिपोर्टहरू राम्रै आइरहेको थियो। मैले डाक्टरको प्राक्टिस गरेको झन्डै ३०—३५ वर्ष भइसकेको थियो। स्वास्थ्यको रिपोर्ट राम्रो छ भनेर एक, दुई चरण स्वास्थ्य जाँच गराइनँ। एकाएक पिसाबमा खराबी देखियो। टिचिङ हस्पिटल गएँ। डाक्टरहरूले प्रारम्भिक परीक्षण गरें। क्यान्सर हुन सक्छ भनेर सल्लाह दिए। अनि मैले भारतको चण्डीगढ गएँ। जहाँ मैले मेडिसिनमा एमडी गरेको थिएँ। त्यहाँ पत्ता लाग्यो कि मेरो प्रोस्टेट ग्रन्थीमा क्यान्सर भएको कुरा। सरकारको सहयोगमा मैले अमेरिकामा उपचार गराएँ। अप्रेसन गरेको साढे ८ वर्ष बित्दै छ। राष्ट्रपति पदबाट बिदा भएपछि क्यान्सर भएको पत्ता लागेको थियो। देशको स्वास्थ्यलाई ठीक बनाउँदा बनाउँदै आफू बिरामी भएको पत्तै पाइनँ।
२०४८ सालमा स्वास्थ्य राज्यमन्त्री र २०५६ मा स्वास्थ्यमन्त्री भएर काम गरें। त्यो बेला देशभरि स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार, जनशक्ति विकास, स्वास्थ्य सेवालाई राम्रो बनाउने काम भयो। त्योबेला त्यस्तै करिब पाँच वर्ष स्वास्थ्य क्षेत्रको विकासका लागि योगदान गरें। गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको सरकारमा स्वास्थ्य क्षेत्रमा सरकारको तर्फबाट काम गरेको अझै सम्झना छ। कहिले बिरामी जाँचेको पनि सम्झिन्छु।
रोबर्टको सहयोगमा हुने रेडिकल सर्जरी हाम्रोमा छैन
जब म क्यान्सर पीडित भएँ। कहाँ उपचार गराउने बारे सोचें। स्वास्थ्य मन्त्री भएको र डाक्टर पनि भएकोले देशमा कस्तो र कतिसम्मको स्वास्थ्य उपचार हुन्छ ? भन्ने मलाई राम्रैसँग ज्ञान र अनुभव थियो। जुन विधिबाट अमेरिकामा मेरो क्यान्सरको सर्जरी भयो। त्यो विधि हामी कहाँ अहिलेसम्म छैन। रोबर्टको सहयोगमा प्रोस्टेट ग्रन्थीको आधुनिक रेडिकल सर्जरी भएको हो। अमेरिकामा २५ वर्ष, युरोपमा १५ वर्ष र भारतमा १० वर्षदेखि यो सर्जरी भइरहेको छ। हामीकहाँ अहिले रोबोटिक सर्जरीको सुविधा छैन। निजी क्षेत्रमा यो प्रविधिबारे प्रयास भइरहेको सुनिन्छ।
भारतमा परीक्षणको क्रममा उत्कृष्ट उपचार सेन्टरको नाम मागें। रोबटी सर्जरीका अगुवा डाक्टर मनी मेनन हुन्। उनैबाट अमेरिकामा गएर सर्जरी गराएँ। तीन दिनसम्म्म हस्पिटलमै बसें। डाक्टरको निगरानीमा हस्पिटलकै होस्टेलमा डेढ महिना उपचार चल्यो। अनि मैले क्यान्सर जितेर स्वदेश फर्किएँ। मान्छे बिरामी हुँदा लाग्छ, जीवन अमूल्य छ। मलाई लाग्छ, मनुष्यको जीवन त फेरि पाउँदैन मानिस। म विज्ञानमा विश्वास गर्ने मान्छे हुँ। चौरासी जुनीमा म विश्वास गर्दिनँ। भौतिक जीवन जुन दिन नष्ट हुन्छ त्यो दिन नष्ट भइजान्छ। फेरि जन्मौंला भन्नेमा मलाई विश्वासै छैन। मलाई लाग्छ, हाम्रो शरीर कहीँ विकृति भएछ भने त्यसलाई उपचार गराएर बाँचौं। अहिले साढे ८ वर्ष भयो क्यान्सरको अप्रेसन गराएको। साल, साल फेरि जाँच गराउन इन्डिया गइरहेको छु। अहिले पनि किन तपाईं इन्डिया जानुहुन्छ ? मान्छेहरू भनिरहेका हुन्छन्। तर, सबै उपचार नेपालमा छैन। अझ भनौं, प्रोस्टेटको स्काइन मेसिन हामीकहाँ छैन। त्यसका लागि मैले बाहिर जानुपर्छ। हामीसँग जनशक्ति छ तर, उपकरण छैन। नबुझ्ने डाक्टर पनि भन्छन्, सबै इलाज यही छ किन बाहिर गएको ? प्रश्न उठाउँछन्। पीएसएमए–पेट–सिटीको मेसिन छैन। यसकारण बाहिर जानुपर्छ।
राष्ट्रपति भएकै बेला मलाई पखाला लग्यो। नेपालमा धेरै जाँच गराएँ। तर, रोग पत्ता लागिरहेको थियो। आन्द्राको क्यान्सरको बारेमा शंका लागेको थियो। अनि जापान गएँ। जाँच गराएँ। तर, त्यो बेला केही भएको थिएन। उपकरण नभएर विदेश जानु परेको थियो। त्यहाँबाट आएपछि २०६९/०७० मा खिलराज रेग्मीको चुनावी सरकारको बेला विद्याधर मल्लिक स्वास्थ्यमन्त्री थिए। मैले अनुरोध गरें, पेट स्क्यान मेसिन चितवन क्यान्सर अस्पतालमा राखौं भनेर। ३८ करोड पैसा पनि राखियो। तर, मेसिन आजसम्म आएन। त्यो बजेट कहाँ गयो ? कमजोरी छ। पेट स्क्यान किन छैन यहाँ अहिलेसम्म ?
क्यान्सर लागेपछिको अनुभूति
क्यान्सर रोगको नाम सुन्नेबित्तिकै मान्छेको सातो जान्छ। गरिब होस् कि धनी कसैको घरमा एक जना मान्छेलाई क्यान्सर लाग्यो भने परिवारै तवाह (हैरान) हुन्छ। मलाई पनि सरकारले आर्थिक सहयोग नगरेको भए समस्या हुन्थ्यो। तर, पनि साल/साल उपचारमा दौडिनु पर्छ। कहिले सरकारले पनि सहयोग गर्छ, कहिले आफ्नै खर्चमा। परेशानी त निकै हुन्छ। अरू काम गर्न सकिँदैन। मेन्टल स्टे«स हुन्छ। म मनुष्य हुँ, म चाहन्छु यदि केही भयो भने फेरि उपचार गरेर फेरि १० वर्ष बाँचु। यो इच्छा अरूलाई पनि हुन्छ। अहिले पनि एक घण्टा ‘वाक’ गर्छु। अरू रोगहरू कन्ट्रोल छ। डाइबिटिज, ब्लडप्रेसरको समस्या छ। तर, सबै कन्ट्रोल छन्। क्यान्सर रोग एक पटक बढी सकेपछि बचाउन मुस्किल हुन्छ। त्यसैले बेलैमा सतर्क हुन जरुरी छ। म डाक्टर छु तै पनि ‘घबराहट’ हुन्छ। तर, आहार, व्यवहार र संसारमा भएको उपचार विधि उपयोग गरेर बाँचिरहेको छु। त्यसले गर्दा स्वस्थ जीवनका लागि नियमित व्यायाम, स्वच्छ खानपान र ग्रामीण जीवन भयो भने क्यान्सर रोगबाट बाँच्न सकिन्छ। हामी प्रकृतिको नजिक भयौं भने ५० प्रतिशत रोगबाट छुटकारा मिल्छ।
क्यान्सर किन हुन्छ ?
हाम्रो जीवन सहरिया बन्दै गएको छ। अर्थात्, प्रकृतिबाट अलग भइरहेका छौं। औद्योगीकरणले उत्पादन गरेको प्रदूषणले जनजीवन प्रभावित भइरहेको छ। खानामा भएको मिसाबाटले उस्तै समस्या थपेको छ। अखाद्य पदार्थले स्वास्थ्यमा संकट उत्पन्न गरिरहेको छ। यसले क्यान्सरको जोखिम बढ्दो छ।
हावा र खाना प्रदूषणयुक्त छ। तर, मानिसहरू व्यायाम गर्दैनन्। मान्छेको बानीव्यहोरा बिग्रिएको छ। धूमपान गर्ने, मद्यपान गर्ने र शारीरिक परिश्रम नगर्ने विकृति बढ्दो छ। बाहिरको जंगफुड खाने। सागसब्जी नखाने। मासु धेरै खाने तर, व्यायाममा ध्यान नदिने। आहारविहार नै खराब भयो। यस्तो शैलीले क्यान्सरजस्ता रोगहरू लाग्छन्।
कसलाई के क्यान्सर ?
उमेर र लिंगअनुसार शरीरका फरकफरक अंगमा क्यान्सर लाग्छ। बच्चाबच्ची, युवा र वृद्धाहरूलाई लाग्ने अनेक खालका क्यान्सर छन्। बच्चाहरूमा वंशाणुगत गुणले पनि क्यान्सर लाग्छ। ३० वर्षभन्दा माथिका उमेर भएकाहरूलाई खानपान, वातावरण र आहारविहारमा गरेको कमजोरीले क्यान्सर लाग्छ। धूमपान र मद्यपान धेरै गर्ने र मिसावट खाने कुराले धेरै रोग लाग्छन्।
फरकफरक अंगमा क्यान्सर हुन्छ। ३० वर्षभन्दा माथिकाले धेरै धूमपान गर्छन्। उनीहरूलाई घाँटीको क्यान्सर लाग्छ। केही क्यान्सरको कारण पत्ता पनि लागेको छ। तर, केही क्यान्सरको कारणै थाहा छैन। पुरुषमा मुख, घाँटी, फोक्सो, लिभर, फुडनली, आन्द्राभुँडी, मूत्रनलीमा बढी क्यान्सर हुन्छ। महिलामा स्तन, पाठेघर, पाठेघरको मुख, डिम्बको क्यान्सर बढी हुन्छ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर नहोस् भनेर खोप लगाउन थालिएको छ। त्यो राम्रो कार्यक्रम हो। सरकारलाई धन्यवाद छ।
किन बढ्दै छ क्यान्सर ?
स्वास्थ्य उपचारमा अज्ञानता र अशिक्षाले गर्दा समस्या भइरहेको छ। एक त हाम्रो ग्रामीण जीवनमा लज्जाबोध गर्ने कुचलन छ। कुनै स्वास्थ्य समस्या भयो भने तुरुन्तै जानकारी दिँदैनन्। केही स्वास्थ्य समस्या हुँदा डाक्टरलाई जँचाउन समयमा जाँदैनन्। परिवारलाई जानकारी गराउनुपर्छ भन्ने छैन। क्यान्सर लागेको पहिलो, दोस्रो चरणमा अस्पताल जानेहरू कमै छन्। जब धेरै समस्या हुन्छ अनि मात्रै परिवारले थाहा पाउँछ अनि डाक्टरकहाँ जान्छन्। तबसम्म त क्यान्सर तेस्रो र चौथौं चरणमा पुगिसकेको हुन्छ।
यदि मुखको क्यान्सर भएको छ भने ऐनामा हेर्दा पनि शंका लाग्न सक्छ। बुझ्ने मान्छे छ भने डाक्टरकहाँ जान्छ। बेलैमा थाहा पाइन्छ। खोकी भयो भयो छिट्टै अस्पताल जानुपर्छ। गाउँघरमा भन्दा विशेषज्ञ भएको अस्पताल जानुपर्छ। शरीरमा केही कुराको समस्या छ भने डाक्टरकहाँ जानुपर्छ। जहाँ अज्ञानता र गरिबी छ त्यहाँ मानिस अलमलमा पर्छन्। धामीझाँक्रीको भर पर्छन्। बेलैमा राम्रो ठाउँमा पुग्दैनन्। अन्तिमतिर अस्पताल जान्छन्। यसले गर्दा क्यान्सर लाग्यो भने बाँच्ने उमेर कम भएर जान्छ। बेलैमा अस्पताल पुग्ने हो भने सबै प्रकारको क्यान्सरको उपचार सम्भव छ। जति छिटो थाहा भयो त्यत्ति छिटो उपचार हुन्छ, त्यति धेरै बाँच्ने उमेर थपिन्छ। सुरुको चरणमा थाहा भयो भने त निको नै हुन्छ। जस्तो मेरै उदाहरण लिनुस्, मेरो धेरै क्यान्सर फैलिएको थिएन। फैलिनुभन्दा पहिले नै अप्रेसन भयो। म बाँचिरहेको छु। छाती, लिभर, पाचन प्रक्रिया, आन्द्राभुँडीमा क्यान्सर लाग्दा अलि बढी नै समस्या हुन्छ। यो क्यान्सर पीडितको बाँच्ने उमेर कम हुन्छ।
क्यान्सरबाट कसरी बच्ने ?
स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्छ। शाकाहारी खाना बढी खानुपर्छ। सागपात र फलफूल खानेतिर जोड गर्नुपर्छ। अखाद्य फुडबाट टाढै बस्नुपर्छ।
गुट्खा, पानपरागबाट टाढा बस्ने। कम्तीमा बिहानपख ४५ मिनेट ‘फास्ट वाक’ गर्नुपर्छ। जीवनशैली स्वास्थ राख्न सकियो भने मात्रै हामी बाँच्न सक्छौं।
तारेका खानेकुरा नखानुस्। खेल खेल्नुस्। ३०—६० वर्ष पूरा गरेपछि वर्षमा एक पटक स्वास्थ्य चेकजाँच गराउनुस्। ६० पछि ६—६ महिना चेकजाँच गराउन अस्पताल जानुस्। ब्लडप्रेसर, डाइबिटिजको नियमित औषधि खानुस्। रनिङ, साइकिलिङ र स्विमिङ बेस्ट व्यायाम हो। बिना साइकल पनि एक घण्टा छिटोछिटो हिँड्नुभयो भने जीवन स्वास्थ्य राख्न सक्नुहुन्छ। अब प्रोस्टेडको पनि जाँच गराउनुहोस्। पुरुषका लागि ३० वर्षपछि मुटु, लिभर, मिर्गौला, फोक्सो, आन्द्राभुँडी, सुगर टेस्ट गराउनुहोस्। महिलाले ३० वर्ष पछि स्तन, पाठेघर वर्षमा एक पटक जाँच गराउनुहोस्।
क्यान्सर रोगको निदान कसरी ?
हाम्रो देशको जुन आर्थिक स्थिति छ, त्योअनुसार २०४६ को परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा विकास भएकै छ। जनशक्ति पनि उपलब्ध भइरहेकै छन्। तर, जनशक्तिलाई दक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता छ। यसमा आर्थिक अवस्थाले समस्या थपिरहेको छ। आजको विज्ञानले विकास गरेअनुसारको विश्वका देशमा जे उन्नत प्रविधि र सेवा छ त्यो त निश्चय पनि हाम्रो देशका अस्पतालहरूमा छैन। तर, केही पनि नभएको भन्न पनि मिल्दैन ।
सामान्य अवस्थाका मान्छेलाई पनि उपचारका लागि सरकारले एक लाख खर्च दिइरहेको छ। तर, अरू पनि खर्च लाग्छ। क्यान्सर हस्पिटलहरू पनि छन्, सरकारी स्तरबाट चितवन, भक्तपुरमा छन्। वीर हस्पिटल, टिचिङमा पनि यसको उपचार हुन्छ। झापादेखि कञ्चनपुर कैलालीका ठूला सरकारी मेडिकल कलेज तथा निजी हस्पिटलमा यसको उपचार भइरहेको छ। सुरुमा अस्पताल पुग्न सकियो भने क्यान्सरको उपचार सहज हुन्छ। ढिलोगरी अस्पताल पुग्यिो भने समस्या नै समस्या हुन्छ।
क्यान्सरबारे विद्यालयस्तरबाटै स्वास्थ्य शिक्षा दिनुपर्छ। कक्षा ११ र १२ मा त अनिर्वाय हुनै पर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पब्लिक हेल्थ महाशाखाहरू छन्। त्यो क्रियाशील बनाउनु पर्छ। त्यहाँबाट स्वास्थ्य शिक्षालाई गाउँतहसम्मै व्यापक बनाउनुपर्छ। स्कुल, कलेज, ब्यारेक, जेल, कर्मचारी क्षेत्रमाा पनि समयसमयमा स्वास्थ्य शिक्षा प्रवाह गर्नुपर्छ। पालिकाहरूले गाउँतहमा स्वास्थ्य शिक्षा फैलाउनु पर्छ। यो प्रिभेन्टिभ मेडिसिन हो। रोग लागेपछि अस्पतालमा जाने हो। त्यसअघि रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तम हुन्छ। क्यान्सरजस्तो रोगबाट बच्ने यही हो दुई वटा रास्ता (बाटो) शिक्षा र उपचार। जहाँ जनता छ त्यहाँ सचेतना हुनु पर्छ।
आशा गरौं, हाम्रो पनि देशमा...
सरकारले भएको साधनस्रोतअनुसार क्यान्सरजस्ता रोगको उपचारको व्यवस्था गरिरहेकै छ। सरकारले केही गरेको छैन, देशमा केही भइरहेको छैन भन्ने जुन भाष्य बनाइएको छ। त्यो गलत हो। धेरै कुरा भइरहेको छ। सरकारले धेरै थोकको प्रयास गरिरहेको छ। धेरै राम्राराम्रा हस्पिटलहरू खुलेका छन्। उपचारको व्यवस्था छ। म देशको पूर्वराष्ट्रपति भएँ। सरकारलाई गुहारे। सरकारले मलाई मद्दत गर्यो। भन्ने मान्छे भन्छन्, किन उपचार गराउन अमेरिका गएको ? रोबर्टको सहयोगमा क्यान्सरको रेयाडिकल सर्जरी गराएँ। संसारको अगुवा सर्जनबाट अप्रेसन गर्ने मौका पाएँ। सबैले त्यो त पाउँदैनन्। त्यो प्रकारले सबैलाई सम्भव पनि छैन। मलाई जीवन बाँच्नु थियो। जीवन सबैका लागि अमूल्य हुन्छ। मैले जनताको करबाट उपचार गरें। देशलाई संस्थागत गरौं। संसारका उच्चस्तरको प्रविधिहरू आफ्नै देशमा भिœयाऔं। देशलाई विकास गरौं। रोम पनि एकै दिनमा बनेको होइन्। आशा राख्नुस् देश एकदिन बन्छ, विकास हुन्छ। म २०४८ सालमा स्वास्थ्यमन्त्री हुँदाको हस्पिटल र अहिलेको हस्पिटलमा धेरै विकास भइसकेको छ। हिजोको अवस्था छैन।
अन्त्यमा, हाम्रो देशमा विभिन्न क्षेत्रमा दक्ष तथा आधुनिक जनशक्तिको खाँचो छ। क्यान्सर, जलन, छाला प्रत्यारोपण, न्युरो सर्जरीमा ठूला विशेषज्ञ छैनन्। तर, छँदै छैनन् भन्ने पनि त होइन्। हामी हडबडाएर हुँदैन। स्वास्थ्य संस्थाहरू विकास भइरहेका छन्। उच्चस्तरीय भौतिक पूर्वाधार, उपकरण, जनशक्ति चाहियो। त्यहीअनुसारको व्यवस्थापन चाहियो। हाम्रो जुन प्रकारको पहाडी वातावरण छ त्यहाँ शिक्षा, स्वास्थ्यको हब बनाउन सकिन्छ। यतातिर सरकारको कमजोरी छ। आशा गरौं, विस्तारै होला। तर, शिक्षा, स्वास्थ्यको मात्रै होइन योग र ध्यानको केन्द्र पनि नेपाललाई बनाउनुपर्छ। त्यसका लागि प्रकृतिलाई बचाएर मात्रै पर्यटन क्षेत्रको विकास गरौं। पर्यटन क्षेत्रको विकास गर्न ध्यान दिन्छौं तर प्रकृतिलाई नष्ट गरिरहेका छौं। यो यहाँ खराबी छ। आधुनिक दुनियाँमा आधुनिक तरिकाले अगाडि बढ्नुपर्छ। हामीलाई भौतिक साधन चाहिएको छ। तर, प्रकृति बचाएर विकास गरौं। पहिला अध्यात्म, मन्त्र, आयुर्वेदजस्ता विद्याले उपचार हुन्थ्यो। अब त्यसले मात्रै नपुग्ने भयो। आजभोलि एलोपेथिक मेडिसिन छ। उपकरण र ज्ञान साधनसँग जोडिएको छ। आधुनिक साधनका लागि पुँजी चाहियो। त्यसका लागि देशलाई व्यवस्थित गरेर विकास गरौं।
प्रतिक्रिया दिनुहोस !