पर्यटकको पर्खाइमा घोर्लासी लेक
अर्घाखाँची : सुन्दर र मनोरम दृश्यले भरिपूर्ण घोर्लासीको लेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
सन्धिखर्क नगरपालिका– ९ अर्घाको घोर्लासी लेक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अत्यन्तै आकर्षक र रमणीय क्षेत्र हो। सुन्दर र रमणीयस्थल हुँदाहुँदै पनि यो लेक क्षेत्र प्रचारप्रसारमा ओझेलमा परेको छ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट झन्डै १६ किलोमिटर दूरीमा यो क्षेत्र पर्दछ। सन्धिखर्कबाट अर्घा दरबार हुँदै घर्तीखोरसम्म गाडीको यात्रा र घर्तीखोरबाट झन्डै ४५ मिनेटको पैदलयात्रा गरेपछि यस स्थानमा पुग्न सकिन्छ।
घोर्लासी पुगेपछि धौलागिरि हिमाल, घेरालेख जालकाडाँडालगायतका मनोरञ्जनात्मक दृश्य देख्न सकिन्छ। घोर्लासी पर्यटकीयस्थल तथा धार्मिक आस्थाको केन्द्र भनेर पनि चिनिन्छ। पहाडको टाकुरमा समथर भूभाग, ढुंगेबगैंचा सहितको मनमोहक यस क्षेत्रमा एकवटा भ्यु टावर निर्माण भएको छ।
उक्त भ्यु टावरबाट अर्घाखाँची जिल्लाका अधिकांश भूभाग, प्युठान, गुल्मी, पाल्पा, कपिलवस्तुका साथै मौसम सफा भएको समयमा भारतका विभिन्न स्थानसमेत देख्न सकिने स्थानीय पोमनारायण पौडेलको भनाइ छ।
ट्रेकिङ स्थलको रूपमा विकास गर्न सकेमा र यस स्थानको व्यापक रूपमा प्रचारप्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ। लुम्बिनी र सुपा देउरालीमा आएका पर्यटकलाई अर्घा दरबार, अर्घा भगवती मन्दिर हुँदै घर्तीखोरबाट घोर्लासीको लेकमा पुर्याउन सन्धिखर्क नगरपालिकाले पहल गरिरहेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।
जंगलमा रहेका पहाडमा हुने विभिन्न जडीबुटी र ढुंगाका आकृतिहरूको मनोरम दृश्यपान गर्दै यस स्थानमा पुग्ने जो कोहीको मन प्रफुल्लित हुने र आफूलाई पनि यस स्थानमा पुग्दा रमाइलो अनुभव भएको कपिलवस्तुबाट घुम्न घोर्लासीको लेकमा पुगेका अवधेश जैसवालले बताए।
प्रतिक्रिया दिनुहोस !