रेसुङ्गाका आठ हजार विद्यार्थीको निःशुल्क बाथ र मुटुरोग परीक्षण
गुल्मी : गुल्मीमा रेसुङ्गा नगरपालिकाका भित्रका १५ वर्ष उमेर समूहका आठ हजार विद्यार्थीको निःशुल्क बाथ, मुटुरोग चेकजाँच गर्न सुरु गरिएको छ। नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीको मंगलबारदेखि निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको आयोजना सुरु गरिएको निःशुल्क बाथ र मुटु रोग परीक्षणको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरेका हुन्। नगरप्रमुख पन्थीले नगर भित्रका प्रत्येक नागरिकको स्वास्थ्य सेवामा नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए। नसर्ने रोगका बारेमा विद्यार्थीलाई जानकारी दिने र उनीहरूको नि:शुल्क स्वास्थ्य परीक्षणका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको बताए।
केन्द्रीय समिति सदस्य तथा पूर्व जिल्ला अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोग बालबालिकामा बढेको बताए। स्थानीय सरकारसँगको सहकार्यमा गुल्मी जिल्लामै पहिलो पटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न लागेको पूर्व जिल्ला अध्यक्ष पाण्डेले बताए। नगरपालिकाभित्रका विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियान मार्फत जिल्लाभरको अवस्था सर्वेक्षण गरिने उनले बताए।
रेसुङ्गा नगरपालिकाभर सामुदायिक र संस्थागत ५० वटा विद्यालय छन्। जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयबाट सुरु भएको निःशुल्क स्वास्थ्य परीक्षण तीन दिन चल्ने छ।
प्रतिक्रिया दिनुहोस !